काठमाडौं : नेपालमा उत्पादन हुने पाँच वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्...
काठमाडौं : मनसुन भित्रिएको साता बिते पनि पूर्वीभागमा मात्र सक्रिय हुँदा वर्षा हुन सकेको छैन। झन् मनसुन कमजोर रूपमा बदली भइरहेकाले वर्षा हुन साता बढी समय लाग्ने मौसमविद्ले बताएका छन्। उपत्यकामा सातादेखि मौसमी प्रणाली नियमित भएको छैन।
सोमबारदेखि पूर्वी र मध्यक्षेत्रमा मनसुनमा क्रमिक सुधार हुन थालेकाले कमजोर वर्षा सुरु हुने जलवायु तथा मौसम पूर्वानुमान महाशाखा एयरपोर्ट शाखाका मौसमविद् शान्ति कँडेलले बताए। वर्षा हुन नसकेपछि सातादेखि आइतबारसम्म क्रमिक रूपमा तापक्रम वृद्धि भइरहेको थियो। आइतबार मात्र काठमाडौंको अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस थियो भने सोमबार २९ दशमलव ८ डिग्री सेल्सियस रह्यो। सोमबार सबैभन्दा धेरै तापक्रम भैरहवामा ३८ डिग्री सेल्सियस मापन भएको थियो।
सोमबार रातिदेखि पूर्वी र मध्यभागमा सामान्य वर्षा सुरु भए पनि पश्चिमी क्षेत्रमा वर्षाको सम्भावना नभएको कँडेलले जानकारी दिए। पूर्वीक्षेत्रबाट भित्रिएको मनसुन अझै पश्चिमी क्षेत्रसम्म फैलिन सकेको छैन। आइतबारको तुलनामा सोमबार तापक्रममा समेत गिरावट आएको छ।
मंगलबारदेखि क्रमिक रूपमा मनसुन सक्रिय हुँदै जाने भएकाले देशभर सामान्य वर्षा हुने महाशाखाको पूर्वानुमान छ। मौसम बदली सुरु भएकाले पश्चिमी क्षेत्रमा फैलिँदै गएकाले ठूलो वर्षा हुन केही दिन लाग्न सक्ने महाशाखाले जनायो। पूर्वीमनसुनी वायुको तुलनामा पश्चिमी मनसुन सक्रिय हुँदा देशभर मनसुन फैलन नसकेको हो। वर्षा नहुँदा अधिकांश किसानले रोपाइँ गर्न सकेका छैनन्।
महाशाखाले क्षेत्रगत रूपमा दैनिक तीन घन्टा फरकमा १६ स्थानबाट र चार सय बढी स्थानबाट मासिक रूपमा मौसमी अवस्था संकलन गरी रिपोर्ट दिँदै आएको छ। देशभर मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने महाशाखाको पूर्वानुमान छ। यो वर्ष केही समयअघि नै मनसुन भित्रिने प्रक्षेपण गरेको भए पनि केही समय ढिलो मनसुन भित्रिएको हो। गत वर्ष असार १ गते मनसुन भित्रिएको थियो यस वर्ष तीन दिनअघि नै मनसुन भित्रने अनुमान थियो। पूर्वी नेपालबाट भित्रिएको मनसुनी वायु सुदूरपश्चिमसम्म पुग्नलाई अझै एक साता लाग्नसक्ने मौसमविद् कँडेलले बताए। वर्षाको प्रणाली सक्रिय नहुँदा उपत्यकामा समेत सुक्खा र गर्मी बढेको हो।
नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई मनसुनी अवधि मानिन्छ। यो मनसुनी अवधिमा ८० प्रतिशत वर्षा हुने गर्छ। प्रिमनसुनमै राम्रो वर्षा भएकाले त्यसैको प्रभावले मनसुनी अवधिमा वर्षा नियमित हुन नसकेको महाशाखाको बुझाइ छ। प्रिमनसुनमा भएको वर्षाले गहुँ, तरकारी, चैते धानजस्ता बालीलाई पर्याप्त पानी पुग्दा किसान लाभान्वित भएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।