स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

खोटाङमा एमाले विरुद्ध कांग्रेस-माओवादीसहित चार दलको तालमेल

आमा कांग्रेसबाट छोरी माओवादी केन्द्रबाट एउटै पदमा भिड्दै

असार ६, २०७४

    उदयपुर : खोटाङको रुपाकोट मझुवागढी नगरपालिका ८ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाललबीच तालमेल भएको छ। ती पार्टीले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने सहमति गरेका छन्। नेकपा एमालेको राम्रो प्रभाव मानिएको यस वडामा एमाले उम्मेदवारलाई पराजित गर्न अरु पार्टीहरुले तालमेल गरेका हुन्। एमालेले भने कुनै पार्टीसँग तालमेल गरेको छैन। 

    चार पार्टीबीच भएको तालमेल अनुसार कांग्रेसलाई वडाध्यक्ष र एक सदस्य, संघीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चालाई एक सदस्य र माओवादी केन्द्रलाई दुई सदस्य गरी भागबण्डा गरिएको छ। वडा अध्यक्षमा कांग्रेसका गोपालसिंह राई र एक सदस्य कृष्णकुमारी कठायत उठेका छन्। माओवादी केन्द्रबाट वडा सदस्यमा क्रान्ति श्रेष्ठ र रेजिना परियार, संघीय समाजवादी फोरम र नयाँ शक्तिबाट गजेन्द्र राई सदस्यको उम्मेदवार बनेका छन्। 

    एमालेलाई हराउनकै लागि तालमेल

    ‘यस ठाँउमा नेकपा एमाले बलियो छ,’ कांग्रेसका एक नेताले नाम नभन्ने सर्तमा भने, ‘एमालेलाई हराउनकै लागि चार दल मिलेर तालमेल गरिएको हो।’ पहिलो चरणको चुनावी तालमेल गरे पनि कतिपय ठाउँमा आ-आफ्नै चुनाव चिह्नबाट लड्दा मत बिग्रेको र हार बेहोर्नुपरेको देखिएकाले चारै दल कांग्रेसको चुनाव चिह्नबाट लड्ने तयारी समेत भएको चार दलका वडा अध्यक्ष उम्मेदवार गोपालसिंह राईले बताए।

    ‘तालमेल गरेर मात्र नहुने त पहिलो चरणको निर्वाचनले देखाइसक्यो’ राईले भने, ‘तलमाथि मत दिने क्रममा मतदाता अलमलिएर मत बिग्रिन्छ भनेर सबैले रुख चिह्नमा मत माग्‍ने सहमति भएको छ।’ 

    उक्त वडामा नेकपा एमालेबाट अध्यक्षमा लीला चौहान, खुला सदस्यमा हरि चाम्लिङ र गलीरत्न राई, महिला सदस्यमा पदमकुमारी राई र दलित महिला सदस्यमा मसिनी दाहाल सार्की उम्मेदवार छन्।

    एमाले भन्छ : हामी जित्छौं

    नेकपा एमाले खोटाङका अध्यक्ष बबी चाम्लिङले एमालेविरुद्ध चारवटा पार्टीले तालमेल गर्नुले आफूहरुको जित्ने आधार बलियो भएको बताए। संगठन र एजेण्डाका हिसाबले आफूहरु बलियो रहेको र समाजसेवी र स्थानीय स्तरमा परिचित उम्मेदवार भएकाले अरु दलको तालमेल हुँदा पनि चुनाव एमालेले जित्ने उनको दावी छ।

    'चारवटा पार्टी तालमेल हुनु नै हाम्रो जित्ने आधार हो। त्यो ठाउँमा हाम्रो संगठन बलियो छ। एजेण्डाका हिसाबले पनि हामी अगाडि छौं' उनले भने 'हाम्रा उम्मेदवार पनि समाजसेवी छन्।' नेपाली कांग्रेस र माओवादी केन्द्रले पहिलो चरणको निर्वाचनमा भरतपुर महानगरपालिका लगायतका ठाउँमा गरेको तालमेल पनि सफल नभएको भन्दै चाम्लिङले रुपाकोट मझुवागढी नगरपालिका ८ मा पनि सफल नहुने दावी गरे।

    रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भएको छ। पाथेकामा चार सदस्य माओवादी केन्द्रलाई दिएर अध्यक्ष लिएर तालमेल गरिएको संघीय समाजवादी फोरम खोटाङका अध्यक्ष नवीन राईले बताए।

    अर्को वडामा फोरम र माओवादी तालमेल

    रुपाकोट मझुवागढी नगरपालिका-७ मा पनि संघीय समाजवादी फोरमले नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्ने भएको छ। चुनावी तालमेलका क्रममा माओवादी केन्द्रका हरिप्रसाद चौंलागाईंलाई वडाध्यक्ष र कृष्ण थापालाई सदस्य, संघीय समाजवादी फोरमकातर्फबाट टीकाराम राई, इन्द्रकुमारी राई र सोमाया सुनारलाई वडा सदस्यको उम्मेदवार बनाइएको छ। सो वडामा कांग्रेस र एमाले भने एक्ला-एक्लै चुनावी मैदानमा उत्रिएका छन्। कांग्रेसले महन्त राई र एमालेले दिलचक्र राईलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ।  

    आमा कांग्रेसबाट छोरी माओवादी केन्द्रबाट एउटै पदमा भिड्दै

    खोटाङको बाराह पोखरी गाँउपालिकाको वडा नम्बर ३ बाट आमा छोरी एउटै पदमा फरक-फरक पार्टीबाट उम्मेदवार बनेका छन्। आमा मनमाया बिक नेपाली कांग्रेस र छोरी अनिता बिक नेकपा माओवादी केन्द्रबाट वडा सदस्यको पदमा उम्मेदवार बनेका हुन्।

    छोरी अनिताले विवाह गरेको घर माओवादी केन्द्र समर्थक रहेका कारण उनलाई परिवारले माओवादी केन्द्रबाट दलित महिला सदस्य पदमा उठाएको नेकपा माओवादी केन्द्र खोटाङले जानकारी दिएको छ।

    उम्मेदवार बनेका आमा छोरी अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छन्। अनिताको एउटै वडाभित्र साबिकको साउनेचौंर-५ मै विवाह भएको थियो। प्रभावको आधारमा भोट काटाकाट गर्ने रणनीतिका साथ जित हात पार्नका लागि पनि उनीहरुलाई एउटै पदमा कांग्रेस र माओवादी केन्द्रले उम्मेदवार बनाएको देखिन्छ।

विदुर कटुवाल

कटुवाल ०७६ असोजसम्म थाहा खबरका उदयपुर समाचारदाता थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]