समाज

खोरियामा फलफूल खेती गरेर गाउँलेलाई धनी बनाउने चेपाङ जनप्रतिनिधिको योजना

असार ६, २०७४

    चितवन : चितवनको पहाडी क्षेत्रमा बसोबास गर्ने अति सीमान्तकृत समुदाय चेपाङहरु खोरियामा मकै र कोदो उत्पादन गर्छन्। तीन वर्ष एउटा खोरियामा खेती गर्छन्, अनि छाडेर फेरि अर्को ठाउँमा सर्छन्। खोरियाबाट आएको अन्न जेनतेन ६ महिनालाई पुग्छ। त्यसपछि उनीहरुलाई अनिकाल लाग्छ।

    अनिकाल शुरु भएपछि जंगली गिठा–भ्याकुर खोज्ने, ज्याला मजदुरी गर्ने, ऋणमा बेसाएर खाने, अनिपछि काम गरेर तिर्ने। उनीहरुको हरेक वर्षको दैनिकी हो। अन्न नभएकाहरु ज्याला मजदुरी गर्न जान्छन् भने कन्दमुल खोज्न जंगल पस्छन्।

    ‘हरेक बर्ष साहुकोमा बेसाएर खानुपर्छ', ईच्छाकामना गाउँपालिकाको वडा नम्बर २ का निर्वाचित वडाध्यक्ष पञ्चबहादुर चेपाङले भने, 'अब खोरियामा आम्दानीको स्रोत खोजेर अघि बढ्ने हो।’ अब खोरियामा मकै र कोदो मात्रै लगाएर नहुने बुझेका उनले फलफूल खेती र डालेघाँस रोपेर बाख्रा पालन गर्न सकिने योजना बनाएका छन्।

    ‘केही भएन भने पुरानो पेशा अम्रिसो त रोप्न सकिन्छ, अनि कुचो बेच्न पाइयो नि’ पञ्चबहादुरले भने। उनले गाउँपालिकाको मिटिङमा यस विषयमा कुरा उठाउने पनि बताए। 'आज गाउँपालिका मिटिङ बोलाछन्,कुरो उठाउँछु' उनले भने। बाँझो बसेको पाखोबारीलाई प्रयोगमा ल्याउने र जग्गा नभएकाहरुलाई खोरिया दर्ताको व्यवस्था मिलाउने पञ्चबहादुरले बताए।

    शिक्षा, स्वास्थ्य र सरसफाइमा कमजोर छन्। मौसम अनुसार जुन ठाउँमा जे उपयुक्त हुन्छ त्यही खेतीमा चेपाङलाई प्रेरित गर्ने निर्वाचित चेपाङहरुको योजना छ। उनीहरुमा चेतनाको अभावले पढाइतर्फ आकर्षित छैनन्। अझै कतिपय गाउँमा सुत्केरी हुनुपर्दा वन जाने चलन छ।

    एकीकृत वस्ती व्यवस्थापन, छात्राबास निर्माण, सीपमूलक तालिम रोजगारका विषयहरु आफूहरुको पहिलेदेखिकै माग भएको नेपाल चेपाङ संघ चितवनका अध्यक्ष लक्ष्मण चेपाङ बताउँछन्। बर्षेनी विभिन्न संघसंस्थामार्फत करोडौं बजेट चेपाङको नाममा आइरहे पनि त्यो बालुवामा पानी हाले सरह शक्तिखोरका दलबहादुर चेपाङको दावी छ।

    गिठा र भ्याकुरको बाध्यता हटाउने

    चितवनको राप्ती नगरपालिका १२ का नवनिर्वाचित अध्यक्ष अर्जुन चेपाङ अहिले आफ्नो ध्यान गिठा र भ्याकुर खाने बाध्यतालाई कसरी अन्त्य गर्ने भन्नेमा रहेको बताउँछन्। उनको तीनसाले खोरियालाई प्रयोग गरेर कसरी उत्पादन बढाउने भन्ने मै ध्यान गएको छ। ‘खोरिया दर्ताका लागि हाम्रो अधिकार छैन', अर्जुनले भने 'पहल मात्रै गर्ने हो, नभएसम्म त त्यही खोरियालाई उत्पादनमूलक काममा लगाउनुपर्‍यो नि।’

    अहिलेसम्म मकै र कोदो लगाएरै चेपाङ बस्तीमा भोकमरी लागेको जनप्रतिनिधिको निश्कर्ष छ। ‘पाखोमा अन्न उब्जाएर धेरै इन्कम हुन्न, बरु त्यो ठाउँमा त घाँस रोपेर बाख्रा पालन, अम्रिसो खेती, फलफूल लगाउन सक्यो, कागती रोप्यो भने त हुन्छ नि’ वडाअध्यक्ष अर्जुन चेपाङ भन्छन्।

    चितवन जिल्लामा यसपाली वडाध्यक्षमा पाँच जना चेपाङ विजयी भएका छन्। वडा सदस्य सहित गरेर कुल २४ जना विजयी भएका छन्। नेपालमा कुल ११ जना वडाध्यक्ष सहित ६४ जना चेपाङ निर्वाचित भएको चेपाङ संविधानसभाका पूर्व सदस्य गोविन्द चेपाङ बताउँछन्।

    उनीहरुमार्फत अब चेपाङ गाउँको विकास, आयआर्जन, शिक्षा र स्वास्थ्यमा परिवर्तन ल्याउने योजनामा संघ लागेको उनले बताए। ‘हामीले केही दिन अघि उहाँहरुलाई सम्मान पनि गर्यौं', चेपाङ संघका चितवन अध्यक्ष लक्ष्मण  चेपाङले भने 'संघले निर्देशनात्मक सुझाव दिएको छ, त्यही अनुसार उहाँहरु अघि बढ्नुहुन्छ।’

    उहाँले बस्ती व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगार, शिप, खोरिया व्यवस्थापनको विषयमा गम्भिर ध्यानाकर्षण गराएको बताउनुभयो। वनले अतिक्रमण भएको क्षेत्र रोक्न खोज्दै गरेकाले विकल्प के हुनसक्छ भन्ने विषयमा पनि छलफल चलिरहेको संघको भनाइ छ।

    ईच्छाकामना गाउँपालिका ६ का वडाध्यक्ष भुपेन्द्र चेपाङ खोरिया दर्तामा पहल गर्ने र आयआर्जनमा लगाउने काममा आफू लाग्ने बताउँछन्। उनले गरिबी, स्वास्थ्य शिक्षामा पनि स्थानीयहरु पीडित रहेको बताए। नेपालमा २०६८ सालको जनगणना अनुसार चितवनमा २८ हजार९८९ चेपाङ छन्। नेपालको गोरखा, चितवन, मकवानपुर, धादिङ, लमजुङ र तनहुँमा चेपाङ बस्छन्।

    चितवनमा को को छन् चेपाङ वडाध्यक्ष?

    चितवनमा चेपाङ समुदायका पाँच जनाले वडा अध्यक्ष जितेका छन्। ईच्छाकामना गाउँपालिकामा २, कालिका नगरपालिकामा १ र राप्ती नगरपालिकामा २ गरी पाँच जना चेपाङले वडाध्यक्षमा जितेका हुन्।

    ईच्छाकामना गाउँपालिका २ मा नेकपा एमालेका पञ्चबहादुर प्रजा (चेपाङ) ४५९ मतका साथमा विजयी भए। ईच्छाकामना ६ मा ५६३ मतका नेकपा एमालेका भुपेन्द्र प्रजा (चेपाङ) विजयी भएका छन्। यता कालिका नगरपालिका वडा नम्बर ११ मा ३१६ मतका साथमा एमालेका उम्मेदवार कृष्णबहादुर प्रजा(चेपाङ) विजयी भए। चितवनको राप्ती नगरपालिका वडा नम्बर १२ मा नेपाली काँग्रेसका अर्जुन प्रजा (चेपाङ) ३२० मत तथा वडा नम्बर १३ मा सूर्य प्रजा (चेपाङ) ४४१ मतका साथमा विजयी भएका छन्।

नारायण ढुंगाना

पत्रकार ढुंगाना ०७५ असोजसम्म थाहाखबरका चितवन संवाददाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]