साहित्य

‘जनयुद्ध नेतृत्वको मनोगत चाहनाले भएको थिएन’: प्रचण्ड

असार ६, २०७४

    काठमाडौँः पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा जनयुद्ध कुनै नेताको मनोगत चाहनाले मात्रै नभएको बताएका छन्। 

    नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरद्वारा लिखित पुस्तक ‘अंश’को विमोचन गर्दै मंगलबार प्रचण्डले नेपालमा जनयुद्ध समाजको आर्थिक, राजनीतिक, सामाजिक अवस्थितिका कारण संभव भएको बताए। 

    नेपालमा जनयुद्ध प्रचण्ड, बाबुराम वा अरू कुनै नेताको मनोगत चाहनाले नभएको भन्दै प्रचण्डले आफूहरूले त २०४४ सालमै जनयुद्ध गर्न चाहेको, हतियार किनेर गोरखामा तालिम पनि लिएको खुलासा गरे। ‘तर देशको राजनीतिले अर्कै मोड लियो। पञ्चायतका विरुद्धमा सडकमा जनलहर उर्लेर आयो, त्यस्तो परिस्थितिमा हामीले जनयुद्ध गरेको भए जनआन्दोलनका विरुद्धमा पञ्चायतलाई सघाएको सन्देश जान सक्थ्यो’, प्रचण्डले भने, ‘त्यसैले हामीले संयुक्त जनआन्दोलन समिति बनाएर २०४६ सालको जनआन्दोलनमा भाग लियौँ र युद्धको परिस्थिति केही वर्ष पछि धकेलियो।’

    आफूहरूले १२ बुँदे समझदारी नेपालमै होस् भन्ने चाहे पनि प्रतिकूल परिस्थितिका कारण संभव नभएको प्रचण्डले बताए। ‘हामीले वार्ताका लागि कोसिस गरिरहेका थियौँ। वीरेन्द्र (तत्कालीन राजा)का भाइ धीरेन्द्रसँग त साथीहरूले प्रत्यक्ष कुराकानी गर्नुभएको थियो’, उनले भने, ‘वीरेन्द्रसँग वार्ताको प्राविधिक विषयमा कुराकानी चलिरहेको थियो, त्यही बेला दरबार हत्याकाण्ड घट्यो।’

    दरबार हत्याकाण्डले नेपाली राजनीतिमा नयाँ मोड लिएर यसले फेरि देशभित्रका गणतन्त्रवादी र लोकतान्त्रिक शक्तिहरूबीच समझदारी गरेर जानुपर्ने ऐतिहासिक आवश्यकता जन्माएको उनको दाबी थियो। ‘यही प्रतिकूल परिस्थितिका कारण हामीले देशभित्रै चाहे पनि दिल्ली गएर १२ बुँदे समझदारी गर्‍यौँ’, उनले भने।

    नेपालको गणतन्त्र र लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतको ठूलो भूमिका रहेको चर्चा गर्दै प्रचण्डले नेपालको लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको स्थापनामा पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए। ‘सञ्चार जगतले सकारात्मक भूमिका नखेलेको भए लोकतन्त्र र गणतन्त्र स्थापना नै चुनौतीपूर्ण हुन्थ्यो’, उनले भने।

    उजिर मगरद्वारा लिखित पुस्तक ‘अंश’ नेपाली राजनीति र पत्रकारिताको विवरणात्मक दस्तावेज भएको प्रचण्डले बताए।

    सम्पादकहरू नारायण वाग्ले, गुणराज लुइँटेल, युवराज घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापा, पत्रकार गोविन्द आचार्यलगायतले कृतिको समीक्षा गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]