समाज

यी दम्पती, जसले हिमालपारि स्कुल ठड्याए

असार ६, २०७४

    गोरखाः अहिले पनि नेपालका धेरै गाउँमा बालबालिका पठनपाठन गर्ने व्यवस्थित विद्यालय छैन। चुमनुब्री गाउँपालिका– ६ चुम्लिङ गाउँको सिद्धिगणेश प्राथमिक विद्यालयका बालबालिकाहरूले मुस्किलले कक्षा ३ सम्म पढे पनि त्यसभन्दा माथिको पढाइलाई सबैले निरन्तरता दिनै सक्दैनथे।

    भूकम्पले गाउँमा ३ कक्षासम्म पढ्न पाउने बालबालिकाको सुविधालाई स्कुल ध्वस्त पारेर झन धरापमा पा¥यो। चुमनुब्री गाउँपालिका– ७ का एक दम्पती धावा ग्यान्जेन लामा र उनकी श्रीमती फुञ्जो लामाले त्यस विद्यालयलाई उठाउने सपना देखे। 

    भूकम्पलगत्तै गाउँमा राहत र उद्धारमा खटिएको यस जोडीले गाउँको पुनर्निर्माण स्कुलबाट सुरु गर्ने निधो ग¥यो। ‘गाउँका केटाकेटीलाई शिक्षा दिन सके मात्र गाउँको असल पुनर्निर्माण हुनेछ भन्ने सोच आयो’ ट्रेकिङ व्यवयायमा डेढ दशक बिताइसकेका लामाले भने, ‘हामी परिवारमा आपसमा सल्लाह गर्‍यौँ। दुवैको मञ्जुरीमा यो विद्यालय बनाउने निधोमा पुग्यौँ।’ 

    विद्यालय बनाउने योजना बुनेको यो जोडीको सपना साकार हुन त्यत्ति सजिलो थिएन। भूकम्पकै कारण उत्तरी गोरखाको विभिन्न साविकका सात गाउँ विकास समितीमा आवतजावत पूरै ठप्प थियो। हेलिकोप्टर नै आवतजावत गर्ने एक मात्र माध्यम थियो त्यहाँ। तर पनि उनीहरूले हिम्मत हारेनन्, स्कुल बनाएरै छाड्ने अठोट गरे। 

    धावा लामाको टे«किङमा लागेकै कारण धेरै देशी तथा विदेशी साथीसँग नजिकबाट चिनजान छ। आफ्नो फेसबुकको माध्यमबाट तिनै चिनेजानेकाहरूलाई स्कुल बनाउन लागेको बारे जानकारी गराए। ‘जसरी भए पनि स्कुल त बनाउनु नै छ भन्ने सम्झेर काम सुरु गर्‍यौँ’, लामा भन्छन्, ‘मैले विभिन्न सामाजिक सञ्जालमा गो फन मी लिंक नै बनाएर स्कुल निर्माणका लागि सहयोग आह्वान गरेँ।’

    उनीहरूले आह्वान गरेको गो फन मीमार्फत् पाँच कोठे भवन बनाउने पैसाको जोहो भएको हो। थप पाँच कोठे भवन बनाउन सिड नेपाल, क्यान नेपाल, मनास्लु संरक्षण क्षेत्र, बीएनबी अमेरिका तथा बीएनबी न्यूओर्क, तेन्जेन एर डोल्मा हेल्प नेपाल फ्रान्स, स्वर्गीय क्याप्टेन सुविके श्रेष्ठलगायतले सहयोग गरेका छन्। 

    विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुट्न थालेपछि उनीहरूले विद्यालय निर्माणको कामलाई पनि अघि बढाए। विद्यालयको पूरै डिजाइन भने गाउँकै इञ्जिनियर सोनाम लामाले गरेका हुन्। उनले लामा जोडीलाई सहयोग गरे। विद्यालय अहिले भूकम्पप्रतिरोधी बनेको छ। 

    स्कुल बनाउन करिब ८० लाख रूपैयाँ खर्च भएको लामा दम्पती बताउँछन्। विद्यालय निर्माणमा आवश्यक जस्ता पाता, सिमेन्ट, रड सबै हेलिकोप्टरमार्फत उनीहरूले रड, सिमेन्ट ढुवानी गरे। ‘सबै सामान हेलीमार्फत् बोक्नुपर्ने धेरै खर्चालु’, लामाले भने, ‘तर पनि हामीले सबैको सहयोगले विद्यालय निर्माण सम्पन्न ग¥यौँ। यसमा मलाई सबैभन्दा धेरै मेरै श्रीमती फुञ्जोको सहयोग छ।’ 

    फुञ्जो संसारको छैटौँ अग्लो हिमाल माउन्ट छोयुको अक्सिजनविनै सफल आरोहण गर्ने पहिलो महिलासमेत हुन्। फुञ्जोले सन् २०१४ बाट सिम्रिक एअरमार्फत् लंगलाइन (हेलिकोप्टरमा झुण्डिएर गरिने काम) सुरु गरिन्। हिमाल चढ्न गएको मान्छे बिरामी भएमा वा अन्य कुनै समस्या परेमा हेलिकोप्टरबाट डोरीमा झुण्डिएर उनीहरूको उद्धार गर्ने उद्धारकर्तासमेत हुन्, फुञ्जो। 

    श्रीमान्को ट्रेकिङ क्षेत्र र फुञ्जोको यस क्षेत्रसँगै ट्रेकिङ क्षेत्रमा आवद्ध भएकाले उनीहरूलाई आर्थिक जोहो गर्न केही सजिलो भएको उनीहरू बताउँछन्। उनीहरूलाई सहयोग गर्छाैं भनेर सहयोग नै नगर्ने विदेशीहरू पनि थुप्रै छन्। उनीहरूलाई हरबखत सहयोग गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर गुरुङसमेत हुन्। 

    उनीहरूले अहिले निर्माण गरिसकेको विद्यालयमा खानेपानीबाहेकका सबै संरचना तयार भइसकेको छ। खानेपानीका लागि पनि उनीहरूले नै सहयोग गरेका छन्। विद्यालयमा एउटा ठूलो हलसमेत छ, जहाँ गाउँमा केही कार्यक्रम भए, विद्यालयमा केही कार्यक्रम भए, त्यसको प्रयोग गर्न मिल्छ।

    ‘हामीलाई कमाउन यही ठाउँ, यही भीरपाखा र हिमालले सिकायो’, लामाका दम्पतीले भने, ‘हामीले यो ठाउँका लागि केही नगरे गाउँको भविष्य के होला? हाम्रा छोरानाति पुस्ताको हालत के होला?’ विद्यालय बनाउन उनीहरूले सबै स्थानीय ज्यामीहरूलाई नै प्रयोग गरे। 

    जिल्ला शिक्षा कार्यालय गोरखाले पनि सो विद्यालयमा कक्षा पाँचसम्मको पढाइ सञ्चालन गर्ने तयारी गरेको छ। ‘यस विद्यालयमा अन्य विद्यालयको तुलनामा विद्यार्थीको संख्या पनि धेरै छ’, जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले भने, ‘अब पाँच कक्षासम्म सञ्चालन गर्न गाउँलेको पनि आग्रह छ।

    त्यहाँ गाउँका केटाकेटीहरू गुम्बामा धेरै पढ्ने हुँदा उनीहरूलाई यता पनि पठनपाठन गराउन ल्याउने, गुम्बामा साँझबिहान जाने व्यवस्था मिलाउन सकिन्छ की भन्नेमा छौँ। अब छिटै गाउँलेहरूसँग एउटा छलफल कार्यक्रम गर्ने तयारी गरिरहेका छौँ।’ 

    सो विद्यालयलाई नमुना विद्यालय बनाउन स्थानीय तहले पनि सबै प्रकारका सहयोग गर्ने बताएको छ। ‘यस विद्यालय यस क्षेत्रको नमुना विद्यालय बनाउन हामीले के सहयोग गर्नुपर्छ गर्छौं’, चुमनुब्री गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङले भने, ‘जिल्ला शिक्षा कार्यालयले केही सरकारी शिक्षक उपलब्ध गराउन सहयोग गर्नुपर्छ। गुम्बाका विद्यार्थी विद्यालयसम्म ल्याउने व्यवस्था हामी गर्छाैँ। शिक्षा क्षेत्रमा गाउँपालिकाले जस्तोसुकै लगानी गर्न तयार छ।’ 

    लामा दम्पतीले चुम कम्युनिटी प्रोजेक्टअन्तर्गत पहिलो प्रोजेक्टको रूपमा सो १० कोठे विद्यालय भवन बनाएको हो। उनीहरूले विद्यार्थीहरूलाई झोला, लत्ताकपडा तथा पाठ्यपुस्तकहरू समेत सहयोग गर्ने तयारी गरेका छन्। यही असारको तेस्रो साता गाउँपालिकाका प्रमुखलाई बोलाई कार्यक्रम गरी विद्यालयको उद्घाटन तथा समुदायलाई हस्तान्तरण गर्ने तयारीमा लामा दम्पती जुटेका बताउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]