समाज

थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्ट र थाहा दर्शनबारे छलफल

असार ६, २०७४

    काठमाडौं : थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको १८ औ् स्मृति दिवसको अवसरमा थाहा दर्शन अध्ययन प्रतिष्ठानले मंगलबार काठमाडौंमा रुपचन्द्र र थाहा आन्दोलनको विषयमा छलफल कार्यक्रम गरेको छ। 

    छलफलमा सहभागीहरुले रुपचन्द्र विष्टले सुरु गरेको थाहा आन्दोलनको विषयमा चर्चा गरेका थिए। नेकपा माओवादी केन्द्रका नेता अमिक शेरचनले थाहा दर्शन अहिलेको समयमा पनि उत्तिकै आवश्यक र सान्दर्भिक रहेको भन्दै यसलाई अझै फैलाउनुपर्ने बताए। रुपचन्द्र विष्ट एक दार्शनिक व्यक्तित्व भन्दै उनले उनले सुरु गरेको थाहा आन्दोलन काल्पनिकताको विरुद्ध यथार्थवादी र भौतिकवादी दर्शन भएको बताए। 

    नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले रुपचन्द्र विष्टले सुरु गरेको थाहा आन्दोलनकै रुप अहिलेको सूचनाको हक भएको बताए। 

    माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले थाहा आन्दोलन सत्यको अन्वेषण मात्र नभएर तथ्यको अनुसन्धान गर्ने विधि पनि भएको बताए। सांसद तथा रुपचन्द्र विष्टकी बहिनी गीता वाग्लेले जनमुखी राजनीति गर्ने दाजु रुपचन्द्रले आफू कांग्रेस बन्दा १६ वर्षसम्म नबोलेको स्मरण गरिन्। रुपचन्द्र विष्टका भाइ गुणचन्द्र विष्टले रुपचन्द्र विष्टले आफ्नो समयमा मकवानपुरको दुईवटा गाविसमा पहिलो पटक स्थानीय सरकारको अभ्यास गरेको बताए। 

    माओवादी केन्द्रका नेता अग्नि सापकोटाले रुपचन्द्र विष्टको व्यक्तित्व असाधारण र मौलिक रहेको बताउँदै पञ्चायतको चुनाव लडेर त्यहीँभित्रबाट सुधारको चाहना राख्ने व्यक्तित्वको रुपमा स्मरण गरे। कला साधक भैरवबहादुर थापाले युवा अवस्थाको रुपचन्द्र विष्टको स्मरण गर्दै उनको व्यक्तित्वबारे चर्चा गरे। नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले रुपचन्द्र विष्टलाई पञ्चायत कालमा मन्त्रीको अफर गरे पनि स्वीकार नगरेको बताए। 

    सांसद तथा थाहा दर्शन अध्ययन प्रतिष्ठानका महासचिव रामनारायण विडारीले रुपचन्द्र विष्टले आफ्नो समयमा आदर्श राजनीतिको उदाहरण दिएको बताउँदै चुनाव प्रचार गर्दा फोटोको प्रचार नगरी पर्चा र घोषणापत्रको भरमा चुनाव जितेको स्मरण गरे। 

    थाहा दर्शन अध्ययन प्रतिष्ठानका अध्यक्ष अजेयराज सुमार्गीले राज्यले रुपचन्द्र विष्टलाई दार्शनिकको मान्यता दिएर हुलाक टिकट प्रकाशन गर्नु खुशीको कुरा भएको बताए। समाजमा सत्य फैलाउन अभियान चलाउने रुपचन्द्र विष्टले पूर्वीय धर्म दर्शनको ज्ञाता भएको पनि बताए। 

     

    थाहा दर्शन अध्ययन प्रतिष्ठानले आउँदो फागुनमा भारतको देहरादूनमा विशेष कार्यक्रम गर्न लागेको पनि बताए। नालापानी किल्लामा नेपालको पराजय भएदेखि नेपालको स्खलनको यात्रा सुरु भएको भन्दै उनले देहरादूनको नालापानी किल्लामा आउँदो फागुनमा १३ दिनसम्म विशेष कार्यक्रम गर्ने जानकारी दिए। थाहा दर्शन अध्ययन प्रतिष्ठानले दर्शनमा स्नातकोत्तर गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति पनि दिने उनले जानकारी दिए। 

    थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टको २०५६ साल असार ७ गते काठमाडौंमा निधन भएको थियो। विष्टको १८ औं स्मृति दिवसको अवसरमा बुधबार मकवानपुरको थाहा नगरपालिकामा विशेष कार्यक्रम हुँदैछ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]