स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर
- मिलनप्रकाश ढुङ्गाल-
बैतडीः दक्षिण एसियाकै पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी जन्माउने बैतडी जिल्लामा स्थानीय तहको निर्वाचनमा प्रमुखमा महिला उम्मेदवारी शून्य भएको छ।
बैतडीका दशवटै स्थानीय तहको प्रमुखमा महिलाको उम्मेदवारी शून्य भएकोे हो। जिल्लामा कुनै पनि राजनीतिक दल र स्वतन्त्रबाट प्रमुख पदमा उम्मेदवारी परेन।
सबै राजनीतिक दल र स्वतन्त्र रूपमा प्रमुख पदमा उम्मेदवारी दिने सबै पुरुष छन्। राजनीतिक दलबाट महिलाहरूले उपप्रमुखमै उम्मेदवारी दर्ता गराएका छन्। महिलाहरूले पनि दवाब दिन नसक्दा प्रमुख पदमा पुरुष उम्मदेवार नै उठेका छन्।
प्रमुख तीन दलबीच नै जिल्लामा प्रतिष्पर्धा हुने देखिन्छ। त्यसै कारण पनि महिलालाई उम्मेदवार बनाउँदा हार्ने डर दलहरूमा रहेको स्थानीय बताउँछन्।
महिलाहरू पनि पार्टीको निर्णय स्वीकार्न बाध्य बनेका छन्। जिल्लाको पहिलो नगरपालिका दशरथचन्द नगरपालिकामा एमालेकी नेतृ सरस्वती नेपालीले प्रमुखका लागि आकांक्षा देखाए पनि पार्टीले उपप्रमुखको टिकट दिएकाले उपप्रमुखमै उम्मेदवारी दर्ता गरेको बताइन्।
यस्तै, नेपाली कांग्रेसबाट नेतृ देवु ठगुन्नाले प्रमुखका लागि आकांक्षा देखाएकी भए पनि पार्टीले उनलाई टिकट दिएन। माओवादीले पनि दशवटै स्थानीय तहमा पुरुषलाई मात्रै प्रमुख पदमा उठाएको छ। महिला उपप्रमुख पदका उम्मेदवार छन्। ‘प्रमुख पदमा महिलाको आकांक्षा कमै थियो’, माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्टले भने, ‘चर्को प्रतिष्पर्धा भएर पनि समस्या भो।’
किन महिलालाई नेतृत्वमा दाबी गर्न समस्या?
आर्थिक रूपमा स्वतन्त्र नहुँदा पनि महिलाहरूलाई नेतृत्वमा दाबी गर्न समस्या भएको स्थानीय बुद्धिजीवीहरू बताउँछन्। ‘आर्थिक रूपमा पुरुषकै भर परेकाले महिलाहरू अझै थोरै सामन्ती प्रणालीभित्रै छन् कि भन्ने देखिन्छ’, स्थानीय पत्रकार जीतबहादुर थापाले भने।
राजनीतिक आन्दोलनमा सुदूरपश्चिमका महिलाहरूको योगदान महत्त्वपूर्ण रहे पनि व्यावहारिक सन्दर्भमा निकै कमजोरी देखिएको उनी बताउँछन्। २०१५ सालको निर्वाचनमा निर्वाचित दक्षिण एसिया तथा नेपालकै प्रथम महिला मन्त्री द्वारिकादेवी ठकुरानीको गृहजिल्ला बैतडीमा पुरुषवादी सोचका कारण अहिलेसम्म महिलाहरूले नेतृत्वमा पुग्ने अवसर पाउन नसकेको स्थानीय महिलाको गुनासो छ।
आर्थिक उत्पादन र आर्थिक सम्बन्धका कोणबाट बैतडीका महिलाहरू पछाडि नै छन्। पितृसत्तात्मक समाजका कारण महिलालाई प्रमुख पद दिन राजनीतिक दलहरूले आनाकानी गरेको अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष पार्वती भट्टले बताइन्। ‘म आफैँ पनि एमालेको तर्फबाट प्रमुख पदको आकांक्षी हो तर राजनीतिक दलभित्र पुरुष प्रवृत्ति हाबी भयो’, उनले भनिन्।
महिलामा राजनीतिक चेतनाको विकास हुँदै गए पनि उनीहरूलाई राजनीतिक, आर्थिक, समाजिक, सांस्कृतिक अधिकारहरूबाट पुरुषवादी सोचले बञ्चित गर्न खोजेको उनको आरोप छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।