समाज

सारंगी रेट्ने श्यामको गुनासो- हातपाखुरा छन्, किन माग्दै हिँडेको भन्छन्

साउन २०, २०७३
    • लक्ष्मी काफ्ले

बिर्तामोड : एउटाको हातमा सारंगी, अर्काको हातमा मादल। संकटमा परेको आफ्नो पेशालाई जोगाउन झापाका विभिन्न शहरमा घुम्दै सारंगी रेट्दैछन्, २० वर्षीय श्याम गन्धर्व। उनलाई साथ दिँदै सारंगीको धुनमा मादलको ताल मिसाउँछन् उनका दाजु ३६ वर्षीय डम्बर गन्धर्व। 

दिनभरी सारंगी र मादलमा रमाउँदै बजार चहार्दै आफ्नो पेशालाई जोगाउन लागि परेका छन्, श्याम र डम्बर। सारंगीको धुन सबैलाई मन पर्छ, झन् बालबालिका त धुन सुन्दै उनीहरुलाई टाढा-टाढासम्म पछ्याउने गर्छन्। 

श्याम गन्धर्वले रेटेको सारंगीको धुन सुन्न मान्छेको भीड नै लाग्छ। सारंगीको धुनमा डम्बरले मादलको ताल मिसाएर सुनमा सुगन्ध थपिदिन्छन्। उनीहरु दाजुभाई (काका–बडिबाका छोरा) हुन्। बिर्तामोडको कृषिउपज थोक बजार, बसपार्क, जामुनखाडीलगायतका स्थानमा उनीहरु सारंगी र मादल बजाउँदै गीत गाउँछन्, सुरिलो भाकामा। धेरैलाई थाहा छैन, कुनैबेला गाईनेहरु यसरी गीत गाउँदै गाउँगाउँ घुम्थे भनेर। 

उनका बुबाआमा सिक्किममा बसोबास गर्थे। सिक्किममा हुँदा पनि बुबा सारंगीमा नै रमाउँथे। उनीहरु बसाइँ सरेर नेपाल (झापा) आएपछि श्याम बुबाको पछि लागेर गाउँ जान्थे। ‘बुबाले मलाई लिएरै हिँड्नुहुन्थ्यो,’ विगत स्मरण गर्दै उनी भन्छन्, ‘गाउँघरमा भएका सत्य घटनालाई गीत बनाएर गाउनुहुन्थ्यो, गीत सुनेर धेरै मान्छे रुन्थे पनि।’

बुबासँग डुल्दाडुल्दै सानैदेखि गीत गाउन सिके, श्यामले। ठूलो भएपछि सारंगी रेट्न थाले। तर, पहिलेकोजस्तो व्यवहार आफूहरुले नपाएको अनुभव सुनाउँछन् उनी। ‘पहिलेजस्तो छैन अहिले,’ बिर्तामोडस्थित ट्राफिक प्रहरी कार्यालयमा भेटिएका उनले भने, ‘कसैले त गाली पनि गर्छन्, हातपाखुरा छ, किन माग्दै हिँडेको भन्छन्, साह्रै नरमाइलो लाग्छ।’

उनलाई हौसला दिने पनि उत्तिकै भएर पनि होला त्यो नरमाइलो पल्लो घरमा पुगेर गीत गाउन थालेपछि बिर्सिहाल्छन् उनी। 

बुबाले मात्र होइन, हजुरबुबाले पनि गीत गाएको याद छ श्यामलाई। तर, अहिले आफूहरुको पेशा संकटमा परेकोमा उनी दुःखी छन्। ‘कोही विदेशिए, कोही पढ्दैछन्, कोही गाउँमै ट्याक्टर चलाएर बसेका छन्,’ उनले भने, ‘कोही टिचर भए, कोही लेवर भए।’ 

५ जना दाजुभाइमा श्याम मात्र गीत गाउँछन् अचेल। घरपरिवार धान्न धौ–धौ परेका बेला यो पेशालाई अगाडि बढाउने या नबढाउने विषयमा दोधारमा पर्ने गरेका छन् उनी। तर, आफूले गाएको गीत प्रायले मन लगाएर सुन्ने सम्झँदा उनलाई यही पेशाले सन्तुष्ट बनाउँछ। उनले आधुनिक र लोकभाका बढी गाउने गरेका छन्।  

श्यामसँगै गीत गाउँदै हिँड्ने डम्बरले पनि ८ वर्षको उमेरदेखि नै गीत गाउन थालेका हुन्। ‘स्कूल बिदा भएको दिन बुबाको पछिपछि जान्थेँ,’ उनले भने, ‘बाबुले छोरी मारेको, आमाले छोरा मारेको घटनालाई गीत बनाएर गाउनुहुन्थ्यो मेरो बुबाले।’ सङ्गीतमा झुकाव बढ्दै गएपछि उनले मादल पनि बजाउन सिके। सारंगी नरेट्ने उनले सारङ्गीको धुनमा मादलको ताल मिसाउनु राम्रो हुन्छ भन्ने लागेर मादल बजाएर श्यामलाई साथ दिएको बताउँछन्। 

गन्धर्व समुदायको बसोबास रहेको ठाउँ झापाको पत्थरीया हो। त्यहाँ ४०/४२ घर गन्धर्व छन्। श्याम र डम्बरको घर पत्थरीया-८ मा पर्छ। उनीहरु खेती पनि गर्छन्। गीत गाएर महिनाको ७/८ हजार बचत हुने डम्बरले बताए। ‘हामी यसलाई पनि आफ्नो ड्यूटी नै सम्झिन्छौँ,’ उनी भन्छन्, ‘बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हामी गीत गाउँछौ।’ टाढा पुगेको बेला साँझ परेपछि होटलमा बस्छन् उनीहरु। नजिकै हुँदा घरै जान्छन्। 

गन्धर्वको अहिलेको पुस्ता गीत गाउँदै हिँड्न लजाउँछन्। त्यसमाथि कसैले नराम्रो शब्द बोलिदिँदा उनीहरुको मनोबल घट्छ। त्यसैले यो समुदायको पेशा संकटमा पर्न थालेको हो। आफ्ना पूर्खादेखि चल्दै आएको पेशालाई निरन्तरता दिन गीत गाउँदै हिँडेको बताउँछन् डम्बर। ‘हाम्रो गीत सबैले सुन्छन्, संगीत मन नपराउने त कमै छन्,’ उनी भन्छन्, ‘तर, अहिले त रेडियो, टिभी र मोबाइलबाटै गीत सुन्ने चलन छ, सबै जना मोर्डन भएछन्, फिल्मी गीत पनि पो गाउनुपर्छ।’

७५ प्रतिशतले आफूहरुको सम्मान गर्ने र २५ प्रतिशतले हप्काउने गरेको डम्बरको अनुभव छ। डम्बरलाई पनि कमाउन जान मन लाग्दो रहेछ कहिलेकाहीँ। भन्छन्, ‘घरमा स्थिति कमजोर छ।’ गन्धर्वलाई भगवानले पनि गीत गाउनै पठाइदिएको जस्तो लाग्छ उनलाई। ‘सिक्दा, साधना गर्दा जसले पनि गाउँछन् नै, भगवानले चाहिँ हामीलाई स्वर पनि दिएछन् जस्तो लाग्छ,’ २७ वर्षदेखि गीत गाउँदै आएका डम्बर भन्छन्, ‘गाउन त घरगाउँमै मजा हुन्छ।’ उनीहरुले कहिलेकाहिँ गाडीमा पनि गीत सुनाउँछन्। 

दशैँ र तिहारमा पनि श्याम र डम्बर खुब मिलेर गीत गाउँछन्। श्यामले सारंगी रेटेर दशैँको मालश्री धुन ठ्याक्कै निकाल्छन्। अहिले उनीहरुले आधुनिक र लोक भाका सुनाउँदै हिँड्ने गरेका छन्। छुट्ने बेलामा श्यामले सारङ्गी रेट्न थाले, डम्बरले ठोके मादल। अनि गाउन थाले,

सारङ्गी रेटेर गाउँदै हिँडेको 
गाउँ-सहर मितेरी लाउँदै हिँडेको
घरभरि बिरामी छन्, सोत्तर भएका
निमुखा जनताले व्यथा सहेका...

 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]