स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

विराटनगर महानगरमा कस्ता छन्, स्थानीय तहका भावी उपप्रमुख?

कक्षा १० देखि एलएलबी सम्मको योग्यता

असार ७, २०७४

    विराटनगर : नयाँ संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ। संविधानले स्थानीय तहका उपप्रमुखलाई न्यायिक समितिको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएको छ। न्यायिक समितिका अधिकार स्थानीय शासन सञ्चालन ऐन र नियमावलीले टुंग्याउने संविधानमा उल्लेख छ।

    ऐन र नियमावली बनिनसकेको भए पनि साँध–सिमाना, सन्धि सर्पन, आलीधुर, बाँध पैनी, कुलो वा पानीको बाँडफाँट तथा बाटो वा निकास मिचेको मुद्दादेखि मुलुकी ऐनका प्रचलित व्यवस्थाका केही मुद्दासमेत समितिलाई हेर्न दिने प्रस्ताव छ।

    स्थानीय तहको उपप्रमुख एक हिसाबले सो स्थानीय तहको न्यायाधीश पनि हुने भएकोले उसको क्षमता र योग्यता कस्तो छ भन्ने बहस पनि भइरहेको छ। कानुनका जानकारहरु क्षमताविहीन व्यक्ति उपप्रमुख निर्वाचित भएमा स्थानीय तहको न्याय सम्पादनमा समस्या आउने बताउँछन्।

    दोस्रो चरणको असार १४ गते हुने स्थानीय तहको निर्वाचन हुने एक मात्र महानगर विराटनगरमा पनि महानगरको न्यायाधीश अर्थात् उपप्रमुख को बन्छन् भन्ने चर्चा छ। विराटनगरमा नमिता न्यौपाने, इन्दिरा कार्की र सूची चौधरी भावी न्यायाधीश अर्थात् उपप्रमुखको दौडमा छन्। न्यौपाने माओवादी केन्द्रका, कार्की कांग्रेस र चौधरी फोरम लोकतान्त्रिकका उम्मेदवार हुन्।

    विराटनगरमा कांग्रेस एक्लो मैदानमा छ भने माओवादी केन्द्र र संघीय समाजवादी तथा एमाले र फोरम लोकतान्त्रिकबीच तालमेल छ।

    प्रतिस्पर्धामा रहेका तीन उपप्रमुखहरु उमेरका हिसाबले करिब तीन पुस्ताका छन्। न्यौपाने ३७ वर्षीया हुन् भने सूची ४७ वर्षीया र कार्की ५५ वर्षीया हुन्। कांग्रेस उम्मेदवार कार्कीले स्नातकसम्म अध्ययन गरेकी छन् भने सूचीले कक्षा १० सम्म मात्र अध्ययन गरेकी छन्।

    न्यौपानेको चर्चा चुलिँदो

    माओवादी उम्मेदवार न्यौपानेलाई उपप्रमुखको सशक्त दाबेदारको रुपमा चर्चा भइरहेको छ। प्रतिस्पिर्धीहरुको कमजोर राजनीतिक सक्रियता र कमजोर शैक्षिक योग्यताकै कारण अन्य उम्मेद्वारहरु भन्दा अगाडि नमिता न्यौपाने हुने हो कि भन्ने उनी पक्षधरको आशा छ। उनी राजनीतिशास्त्रमा स्नातकोत्तर हुन् भने कानुनमा स्नातक अध्ययनरत छन्।

    एमाले हुँदै माओवादी राजनीतिमा प्रवेश गरेकी नमिता यसअघि अखिलको इकाई र क्षेत्रीय सदस्य हुँदै केन्द्रीय सदस्य, अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य, माओवादी केन्द्रको जिल्ला सदस्य, राज्य सदस्य हुँदै अहिले विराटनगर संयोजक र केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन्।दोस्रो जनआन्दोलनमा विराटनगरमा अगुवा विद्यार्थी नेत्रीका रुपमा सक्रिय उनी जनआन्दोलनको क्रममा पक्राउसमेत परेकी थिइन्।

    दुई महिना अगाडिदेखि नै विराटनगरको चुनावी अभियानमा सक्रिय रहेकी माओवादी उम्मेदवार न्यौपाने संघीय समाजवादी फोरमसँगको सहकार्यपछि थप उत्साहित बनेकी छन्। फोरमसँगको तालमेयर र एमाले तथा काँग्रेसभित्रको विवादले पनि आफ्नो जीत सहज बनेको उनको विश्लेषण छ। यद्यपि यसअघिका तालमेलमा धेरै मत बदर भएकोले तालमेलअनुसार मत झर्नेमा आशंका भने कायमै छ। मत बदर रोक्न संयुक्त प्यानलको तर्फबाट मतदाताको घरदैलोमा पुग्ने र मतदानको तरिका बुझाउने काम भइरहेको उनले बताइन्।

    बिराटनगरबासीले युवा नेतृत्व चाहेको, आफूले जनताको घर–घरमा पुगेर विगतदेखि नै यहाँका जनताको सुखदुःखमा साथ दिएको, प्रतिस्‍पर्धी पार्टीहरुमा विवाद रहेको, महानगर बनाउने अभियानको नेतृत्व गरेको, परिवर्तनकारी शक्ति संघीय समाजवादी फोरमसँग तालमेल गरेको र उमेयरको लागि आवश्यक शैक्षिक योग्यतासमेत आफूसँग रहेकोले आफ्नो जित सहज रहेको उनको दाबी छ।

    इन्दिरा कार्कीको अवस्था के?

    कांग्रेस उम्मेदवार कार्की र माओवादी उम्मेदवार न्यौपानेले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय हुन् भने सुचीको नाम यसअघि राजनीतिक क्षेत्रमा सुनिएको नाम हैन। विद्यार्थी राजनीतिबाट संघर्ष गरेर आएका न्यौपाने र कार्कीसँग फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारकी बुहारी नाता पर्ने चौधरी भिड्दै छन्।

    कार्कीले नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसको वडाको साधारण सदस्य, वडा सभापति, जिल्ला सहसचिव र महासमिति सदस्यका रुपमा काम गरेकी छन्। हाल काँग्रेसको महासमिति सदस्य रहेकी कार्की काँग्रेस विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा लागेकी थिइन्। विराटनगरको प्रमुख पदमामा देउवा निकटले उम्मेदवारी नपठाएपछि कार्कीलाई देउवानिकट भएकै कारण उपप्रमुखको टिकट हात परेको हो।

    विराटनगरको एलिट क्लबको सांस्कृतिक सदस्य, परिवार नियोजन र सहकारी विकास बोर्डमा आबद्ध कार्की आफूले जितेको खण्डमा बिराटनगरलाई बन्द र धुलोरहित बनाउने योजनामा छन्। काँग्रेस विराटनगरको गढ भएकोले सहजै चुनाब जित्ने दाबी गर्ने उनी नगरभित्रको राजनीतिमा  स्थापित नेतृ भने होइनन्।

    सूची चौधरीले चुनाव जित्लिन् ?

    एमाले–लोकतान्त्रिक फोरम गठबन्धनबाट चौधरी उम्मेदवार बनेपछि एमालेभित्र उत्पन्न भएको विवाद अझै साम्य भइसकेको छैन। एमालेको एउटा पंक्तिले सूची आफूहरुको उम्मेदवार नभएको खुलेआम बताइरहेको छ। जसले गर्दा गठनबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवारले संयुक्त कार्यक्रमसमेत गर्न सकेका छैनन्। उनीहरुले उम्मेदवारी दर्तासमेत छुट्टाछुट्टै गरेका थिए।

    राजनीतिमा कुनै योगदान नभएको र गच्छदारको आफन्त भएकै कारण उम्मेदवार बनाएको भन्दै फोरम लोकतान्त्रिकभित्र पनि सूचीको उम्मेदवारीप्रति असन्तुष्टिको स्वर सुनिएको छ। अर्कोतिर विराटनगरमा एमालेभन्दा बलियो भएपनि एमालेलाई मेयर दिएको तथा मधेस आन्दोलनको विरुद्ध लाग्ने पार्टीसँग सहकार्य गरेको भन्दै लोकतान्त्रिकभित्रका मधेस आन्दोलनबाट उदाएका नेता तथा कार्यकताहरु सन्तुष्ट हुन सकेका छैनन्।

    विराटनगरको धनाड्य परिवारकी सूची साई मन्दिर, लाइन्स क्लब र पतञ्जलीमा आवद्ध छन्। लोकतान्त्रिक फोरम र नेकपा एमालेबीच भएको तालमेलपछि आफूले जित्ने आधार तयार भएको बताउने सुचीले तालमेय अनुसार एमालेबाट मत आउने विश्वासमा छन्। महानगरको उपमेयरमा राप्रपाबाट शोभा श्रेष्ठसहित केही स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन्। तर, उनीहरु प्रतिष्पर्धामा आउने अवस्था अहिलेसम्म देखिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]