राजनीति : स्थानीय निर्वाचन २०७४

धनगढी उपमहानगरमा चुनावी सरगर्मीः प्रमुख पदका प्रत्यासीका के छन् चुनावी मुद्दा?

असार ७, २०७४

    धनगढी : आसन्न स्थानीय निर्वाचनको सरगर्मी बढ्दै जाँदा धनगढी उपमहानगरको प्रमुखका प्रत्यासीहरुले मतदाता समक्ष उपमहानगरको विकास र समृद्धिलाई मुख्य प्राथमिकताको विषय बनाएका छन्।

    धनगढी जेसिजले आयोजना गरेको प्रत्यक्ष संवाद कार्यक्रममा आ–आफ्ना विकासका योजना सुनाउँदै उपमहानगरको प्रमुख पदका प्रत्यासीले स्वरोजगारका कार्यक्रमदेखि धनगढीलाई समृद्ध र सुन्दर, हराभरा सहर बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

    कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार नृप ओडले धनगढीलाई ‘स्मार्ट सिटी‘को रुपमा विकास गर्दै समृद्ध र सुन्दर सहर बनाउने प्रतिबद्धता व्यक्त गरे।

    उनले लामो सयमदेखि जग्गाको पूर्जा नपाएकालाई पूर्जा वितरण गर्ने, नदी कटान र डुबान रोकथाम, ढल निकास, कृषि, स्वास्थ्य, खेलकूद र शिक्षाको विकास, स्वरोजगारका अवसर जुटाउने, सुशासन प्रवर्द्धन, आदिवासी जनजातीको कला र संस्कृतिको विकास लगायतका योजनालाई प्राथमिकता दिने बताए।

    नेकपा एमालेका प्रमुख पदका उम्मेदवार दुर्गाप्रसाद जोशीले धनगढीको समग्र विकासका लागि आफूले ‘क्यालेन्डर‘ अनुसार योजनाबद्ध रुपमा काम गर्ने बताए।

    जोशीले शिक्षामा भएको विभेदीकरणको अन्त्य, बृद्ध भत्ता वृद्धि, विकासका लागि लगानी मैत्री वातावरण, भ्रष्टाचार नियन्त्रण, अन्तर्राष्ट्रिय बस बिसौनीको निर्माण, गेटा विमानस्थलको स्तरोन्नति गर्नेलगायतका योजना रहेको सुनाए।

    राप्रपाका प्रमुख पदका उम्मेदवार विष्णुबहादुर साहूले आफू प्रमुखमा निर्वाचित भए कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रको विकास, सडक विस्तार तथा ढल निकासको व्यवस्थाका साथै स्वरोजगारका अवसर सिर्जना गरिने प्रतिबद्धता व्यक्त गरे।

    नेपाल लोकतान्त्रिक फोरमका प्रेम बिसीले आफू प्रमुखमा निर्वाचित भए सहरबाट नभई गरिब र निमुखा बस्तीबाट विकासको अभियान सुरु गर्ने बताए। धनगढीलाई चक्रपथ सहितको स्वच्छ, सफा र सुन्दर नगर बनाउने आफ्नो योजना रहेको उनले उल्लेख गरे।

    प्रमुख पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले ७ नम्बर प्रदेशमा विकास र अवसरका सम्भावना प्रशस्त रहेको र त्यसको उपयोगका लागि आफू योग्य रहेको दाबी गरे। ‘म निर्वाचित भएमा मध्यकालीन र दीर्घकालीन योजना बनाएर समृद्ध धनगढी बनाउन अघि बढ्ने छु‘ उनले भने।

    राजनीतिक दलका उम्मेदवारतर्फ लक्षित गर्दै हमालले राजनीतिलाई पेसाका रुपमा नलिई सेवाको रुपमा लिन सल्लाह दिए।

    कार्यक्रमका सहभागीले प्रमुख पदका प्रत्यासीलाई विकास सम्बन्धित प्रश्न गरेका थिए। १९ वटा वडा रहेको धनगढी उपमहानगरको अधिकांश वडामा अझैसम्म पनि उचित सडक, खानेपानी, लगायतका विकासका आधारभूत पूर्वाधार पुग्न सकेको छैनन्। 

    साविकको धनगढी नगरपालिकालाई डेढवर्ष अघि मात्र उपमहानगरपालिका घोषणा गरिएको थियो। उपमहानगर घोषणा गर्दा साविकको उर्मा र फूलवारी गाविसलाई उपमहानगरमा समेटिएको हो। यस्तै पुनःसंरचनाका क्रममा साविक गेटा र बेलादेविपुरका केही वडालाई धनगढी उपमहानगरमा समेटिएको छ।

    डुवान, कटान, सुकुम्बासी र अव्यवस्थित बसोवासी समस्या, ढल निकास, फोहर व्यवस्थापन, लगायतका समस्यालाई मुख्य समस्याका रुपमा लिइने गरिएको छ। ७६ हजार ४३० मतदाता रहको यो उपमहानगरको प्रमुखमा कांग्रेसका ओड, एमालेका जोशी, माओवादी केन्द्रका राना थारुबीचनै कडा प्रतिस्पर्धा हुने यहाँ बुद्धजीविको विश्लेषण छ। दलका यी उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले टक्कर दिनसक्ने एकथरी मतदाताको विश्लेशण छ। 

    यी उम्मेदवारबाहेक राजमोका कृष्णप्रशाद चौधरी, नेमकिपाका सुर्जन तिवारी, नेपाल परिवार दलका खडकसिं नगरी, सङ्घीय समाजवादी फोरम नेपालका सावित्रीदेवी, नेकपा संयुक्तका अक्कलबहादुर विष्ट र नयाँ शक्तिका कृष्णानन्द गिरी समेत प्रमुखको प्रतिस्पर्धामा छन्।  

    सात नम्बर प्रदेशको एक मात्र उपमहानगरपालिका र मुख्य व्यापारिक केन्द्र धनगढीको स्थानीय तहको निर्वाचनलाई प्रमुख दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएको देखिन्छ।

    उम्मेदवारको मनोनयन दर्ताको काम सम्पन्नसँगै कैलाली जिल्लाका धनगढी उपमहानगरसहित सबै १३ स्थानीय तहका विभिन्न पदका प्रत्यासीले आफ्नो चुनावी प्रचारलाई तीव्र बनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]