छापा

आन्दोलन चर्किएपछि दार्जिलिङ छोड्दै विद्यार्थी

तस्विर : अन्नपूर्ण पोस्ट्
असार ८, २०७४

    दार्जिलिङ : गोर्खाल्याण्ड माग गर्दै भारत पश्चिम बंगालको दार्जिलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जिलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसिरहेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ।

    बन्दका कारण दार्जिलिङमा सार्वजनिक सवारीसाधन नचल्ने भएकाले त्यस्ता विद्यार्थीलाई विद्यालयकै सवारीसाधनले सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म पुर्याउनुपर्ने मोर्चाले उल्लेख गरेको छ।

    मोर्चाका सचिव विनय तामाङका अनुसार विद्यालयका सवारीसाधनले शुक्रबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउनु पर्नेछ । उहाँले विद्यालयले अन्य सवारीसाधन प्रयोग गर्न नपाइने बताए। उनले भने, ‘छुट्टै राज्य गोर्खाल्याण्ड नहुन्जेल आन्दोलन जारी रहने भएकाले हामीले यहाँ रहेका विद्यार्थीलाई घर जान सजिलो होस् भनेर २३ जुनका लागि विद्यार्थी बोक्न अनुमति दिएका हौं।'

    भारत, नेपाल, भुटान लगायतका देशबाट दार्जिलिङ आएर पढने विद्यार्थीको संख्या ठूलो छ। यसपटक अचानक शुरु भएको बन्दले विद्यार्थी घर जान नपाई छात्रावासमै रहन बाध्य भएका छन्। बंगाली भाषालाई बाध्यकारी बनाउने बंगाल सरकारको प्रयासपछि आन्दोलनमा उत्रिएका मोर्चासहितका दलले पश्चिमबंगालकी मुख्यमन्त्री ममता बनर्जीले बिहीबार बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने निर्णयसमेत गरेका छन्।

    बंगाल सरकारले राज्यआतंक मचाएको आरोप लगाउँदै आएका गोर्खाल्याण्ड पक्षधर दलले बैठकमा नजाने निर्णय गरेको मोर्चाकी नेतृ निरा शर्माले जानकारी दिइन्। बंगाल सरकाले मोर्चा अध्यक्ष विमल गुरुङ, महासचिव रोशन गिरी, सहसचिव विनय तामाङसहितका नेतालाई पक्राउ पुर्जी जारी गरेको उनले बताइन्।

    दार्जिलिङको अनिश्चतकालीन बन्द भने यथावत् छ। सडकमा गाडी चलेका छैनन्। विद्यालय, कलकारखाना बन्द छन्। पसलको ढोका नखुलेको एक साताभन्दा बढी भयो। चार दिनदेखि इन्टरनेट बन्द छ। मुख्यमन्त्री बनर्जीले मोर्चाको आन्दोलनलाई आतंककारी कदम भनेपछि पहाडमा गोर्खाल्याण्डका लागि आन्दोलनरत दल झनै आक्रोशित बनेका छन्।

    यसअघि शनिबार प्रहरीसँग भएको झडपमा तीन नेपालीभाषीको मृत्यु भएको थियो। आन्दोलनका पक्षमा सिक्किममा पनि प्रदर्शन भएको खबर छ। 

अन्नपूर्ण पोस्ट

राजधानी काठमाडौंबाट प्रकाशित हुने ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]