समाज

गोहीले हात चुँडेका प्रसादको सेल्फी : भन्छन्, अब देब्रे हातको बानी पार्नुपर्छ

असार ८, २०७४

    चितवन : भरतपुरस्थित एलाइभ अस्पतालको आकस्मिक कक्षमा बुधबार घाउको ड्रेसिङ गराउँदै थिए, चितवन खैैरहनी नगरपालिका– १३ धर्मपुरका ४६ वर्षीय प्रसाद महतो। 

    पट्टी खोल्नेबित्तिकै दाहिने हात नभएको अाफ्नो सेल्फी खिचे। ‘आफ्नो फोटो त राख्नै पर्यो नि’, कोण मिलाई–मिलाई सेल्फी लिएपछि साथ प्रसादले भने।

    गत जेठ १७ गते पूर्वी चितवनको कुमरोजस्थित इचर्नी खोलामा जाँदा गोहीले आक्रमण गरी उनको दाहिने हात चुँडाएर लगेको थियो। हात लगे पनि ज्यान बचेकोमा खुशी रहेका प्रसाद अहिले उपचार सफल भएकोमा दंग देखिन्छन्। भन्छन्, ‘सबै काम दाहिने हातले हुन्थ्यो, गोहीले लगिहाल्यो अब देब्रे हात चलाउने बानी पार्नुपर्ला।’

    स्टाफ नर्ससँगै अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा प्रमोद लामिछानेले हेर्दै थिए। ‘सर राती हातै छ जस्तो लाग्छ, चिलाउँछ कन्याउन खोज्यो हातै भेटिँदैन, प्रसादले अनुभव साट्दै भने, हात जोडिराखे कै छ जस्तो हुने क्या!’

    घरीघरी हातसँगै छ भन्ने अनुभव हुन्छ उनलाई। जवाफमा डा.लामिछानेले दिमागमा हात छ भनेर ‘सेट’ भएकाले त्यस्तो अनुभव हुने बताए। ‘केही महिना यस्तै हुन्छ, हात छ भन्ने अनुभव हुन्छ, पछि विस्तारै हट्दै जान्छ’, उनले भने। 

    झण्डै १५ दिन अस्पतालको बसाइपछि उनी अहिले घर फर्किएका छन्। उनको घाउमा छाला जोड्न किला राखिएको छ। सिलाइएको छ। घाउको अधिकांश भाग निको भएको छ। अब एक साताजतिमा किला पनि निकाल्ने चिकित्सकले बताए।

    दुई महिना अघि पश्चिम चितवनको जगतपुरमा पौडी खेल्ने क्रममा गोहीले समाएर पानीमुनि पुर्‍याएका एक बालक अर्जुन हरिजन पनि बाँच्न सफल भएका थिए।

    यसरी भएको थियो घटना– 
    माछा खान मन लागेपछि जेठ १७ गते दिउँसो कुमरोजको इचर्नी खोलापुगेका थिए, प्रसाद महतो। उनका साथीहरु माइला र पलार सँगै थिए। भर्खर खोलामा पसेकामात्रै थिए, कहाँबाट गोही आयो पत्तै भएन।

    ‘च्याप्प हात समात्यो, तान्न थालिहाल्यो, अनि पाँच फन्का घुमायो, पछार्यो। प्रसादले घटनाको विवरण सुनाउँदै भने, ‘लग्न खोज्यो म डगमगाइन तर हात चुँडेर लग्यो।’ उनले मुड्कीले हानेर छुटाउने प्रयास गरेका थिए। साथमा केही नभएकाले उनको केही सिप लागेन।

    एलाइभ अस्पतालमा शल्यक्रिया गरिएको थियो। तीन सेन्टिमिटर हड्डी काटिएको डा. प्रमोद लामिछानेले बताए। ‘रगत बग्ने नशा आफैं बन्द भएकाले उनको ज्यान जोगिएको हो’, उनले भने। 
     

नारायण ढुंगाना

पत्रकार ढुंगाना ०७५ असोजसम्म थाहाखबरका चितवन संवाददाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]