समाज : सुरक्षा/अपराध

नेपाली सेनाले 'गोप्य' राख्‍न खोजेको जहाज खरिद सम्झौताबारे थाहा पाउनैपर्ने ६ तथ्य

नेपाली सेना भन्छ- 'गोप्य राख्न खोजेको होइन'

असार ८, २०७४

    काठमाडौं : नेपाली सेनाले इन्डोनेसियासँग गरेको सैन्य विमान खरिद सम्झौता गोप्य राख्‍न खोजेको देखिएको छ। यद्यपि नेपाली सेनाले सम्झौता 'कुनै कारणले गोप्य राख्न नखोजेको' दावी गरेको छ।

    नेपाली सेना र इन्डोनेसियाको सरकारी स्वामित्वको विमान निर्माण कम्पनीबीच गत साता विमान खरिदसम्बन्धी सम्झौता भएको इन्डोनेसियाका मिडियाहरूबाट सार्वजनिक भएपछि नेपाली सेनाले मिडियासँग मुख खोलको हो। विमान खरिद सम्झौता भएको पुष्टि गरे पनि सेनाले विस्तृत विवरण खुलाउन अस्वीकार गरेको छ।

    १. विमान खरिद सम्झौता

    इन्डोनेसियाका मिडिया रिपोर्टहरूका अनुसार विमान खरिद सम्झौता असार २ गते (जुन १६) काठमाडौंमा भएको हो। इन्डोनेसियाको सरकारी स्वामित्वमा रहेको पीटी डिर्गान्तारा इन्डोनेसिया (पीटीडीआई) र नेपाली सेनाबीच विमान खरिद सम्झौता भएको हो। नेपाली सेनाको काठमाडौंस्थित मुख्यालयमा भएको उक्त सम्झौताको नम्बर MGO/Fixed Wing/073/74/65 रहेको इन्डोनेसियाको दैनिक पत्रिका सुआरा पेम्बारुनको अनलाइन संस्करणमा उल्लेख गरेको छ।

    इन्डोनेसियाकै साप्ताहिक म्यागेजिन टेम्पोको अनलाइन संस्करणले विमान निर्माण कम्पनी पीटी डिर्गान्तारा इन्डोनेसिया (पीटीडीआई) को विज्ञप्तिलाई उद्‍धृत गर्दै सम्झौतामा नेपाली सेनाका तर्फबाट उपरथी पूर्णबहादुर सिलवाल र पीडीटीआईका अध्यक्ष एवं निर्देशक बुडि सान्तोसोले हस्ताक्षर गरेको उल्लेख गरेको छ। हस्ताक्षर कार्यक्रममा नेपाली सेना हवाई महानिर्देशनालयका निमित्त महानिर्देशक सुधीर श्रेष्ठ र पीडीटीआईका कमिसनर फजार सात्रियो पनि उपस्थित थिए।

    २. कस्तो विमान हो?

    नेपाली सेनाले अर्डर गरेको CN235-220 मोडेलको उक्त विमान सैनिक र सैन्य सामग्री ओसारपसारमा प्रयोग हुन्छ। यो दुई इन्जिन भएको मध्यम दूरीको विमान हो। सीएन २३५-२२० मोडेलका तीनवटा भर्सनमध्ये नेपाली सेनाले 'मिलिटरी भर्सन' किन्न लागेको हो। नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले 'सैनिक ओसारपसार, सैनिक कार्य र विपद् व्यवस्थापनका लागि विमान किन्न लागिएको' बताए।

    पीटी डिर्गान्तारा इन्डोनेसियाका प्रवक्ता इर्ल्यान्ड बुडिमानको इमेललाई उद्‍धृत गर्दै सुआरा पेम्बारुनले विमान पाइलट र कोपाइलटसहित ४९ जना यात्रु क्षमताको रहेको जनाएको छ। यसअघि थाइल्यान्ड, सेनेगल, बुर्किनाफासो र भेनेज्वेलाले पनि यो विमान खरिद गरेको समाचारमा उल्लेख छ। विमानमा भीभीआइपी इन्ट्री/इक्जिटका लागि अगाडिपट्टी ढोका छ भने पछाडिको ठूलो ढोका प्यारासुट सर्जरी तथा सामान निकाल्न प्रयोग गरिन्छ। यो ढोकाबाट सानो गाडीसमेत भित्र राख्न सकिने समाचारहरूमा उल्लेख छ। विमान उत्पादक कम्पनीको वेबसाइटमा नेपाली सेनाले किन्न लागेको जहाजका फिचरहरू उल्लेख गरिएको छ।

    ३. मूल्य गोप्य 

    विमान खरिदको मूल्य गोप्य राखिएको छ। सम्झौताका दुबै पक्ष इन्डोनेसियाली कम्पनी र नेपाली सेना दुबैले मूल्य खुलाउन अस्वीकार गरेका छन्। नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले कति रकममा विमान खरिद गर्ने सम्झौता भएको हो भन्ने जानकारी आफूलाई नभएको प्रतिक्रिया दिए। 'एमाउन्ट (रकम) को विषयमा जानकारी आइसकेको छैन', सैनिक प्रवक्ता कडायतले थाहाखबरसँग भने, 'विस्तृत विवरण बुझ्नुपर्छ।'

    सम्झौताको इन्डोनेसियाली पक्ष विमान निर्माण कम्पनी पीडीटीआईले पनि सम्झौताको मूल्य खुलाउन अस्वीकार गरेको छ। 'पीडीटीआईले नेपाली सेनासँग भएको गोप्य सम्झौतामा बाँधिएको भन्दै सम्झौताको रकम खुलाउन अस्वीकार गरेको' सुआरा पेम्बारुनको समाचारमा उल्लेख छ।

    ४. कति पर्छ मूल्य?

    नेपाली सेनाले अर्डर गरेको 'विमानको मूल्य समान्य अवस्थामा २६ देखि २८ मिलियन अमेरिकी डलर (दुई अर्ब ६८ लाख देखि दुई अर्ब ८८ लाख नेपाली रुपैयाँ) पर्ने' पीटी डिर्गान्तारा इन्डोनेसियाका प्रवक्ता इर्ल्यान्ड बुडिमानलाई उद्‍धृत गर्दै सुआरा पेम्बारुनले लेखेको छ। सन् २०१६ डिसेम्बरमा इन्डोनेसियाले सेनेगललाई यो मोडेलको विमान बेचेको थियो। त्यो बेला ३१ मिलियन अमेरिकी डलर (तीन अर्ब १९ लाख नेपाली रुपैयाँ) मा खरिद सम्झौता भएको थियो।  

    ५. के भन्छ नेपाली सेना?

    इन्डोनेसियाका मिडियाहरूमा नेपाली सेना र त्यहाँको सरकारी विमान निर्माण कम्पनीबीच विमान खरिद सम्झौता भएको खबर सार्वजनिक भएपछि प्रतिक्रिया लिन खोज्दा नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले बुधबार पटक पटकको फोन रिसिभ गरेनन्। सैनिक जनसम्पर्क निर्देशनालयको ल्यान्डलाइनमा सम्पर्क गर्दा यस विषयमा प्रवक्तालेमात्र बोल्न मिल्ने भन्दै त्यहाँका अधिकारीहरू तर्किए। बुधबार साँझ कल ब्याक गरेर सैनिक प्रवक्ता कडायतले सम्झौता भएको स्वीकार गरे। विमान खरिद सम्झौता 'गोप्य राख्ने मनसाय नभएको' भन्दै उनले बचाउ गरे। 'कुनै कारणले जानकारी नगराउने मनसाय होइन। हामी जानकारी गराउने कोसिमै थियौँ', उनले भने।

    'सम्झौताको एउटा पक्ष इन्डोनेसियाको कम्पनीले विज्ञप्ति निकालिसक्यो, त्यहाँका मिडियामा खबर आइसक्यो। नेपाली पक्षले पनि औपचारिक ढंगले जानकारी दिनुपर्ने होइन र?' भन्ने प्रश्नमा सैनिक प्रवक्ता कडायतले जवाफ दिए- 'सुझावका लागि धन्यवाद।'

    ६. कहिले भएको थियो टेन्डर?

    सेनाले २०७३ जेठ २५ (२०१६ मे ७) मा आर्थिक वर्ष २०७३/७४ का लागि विभिन्न सैन्य सामग्री खरिद गर्नका लागि टेन्डर आह्वान गरेको सूचना सेनाको वेबसाइटमा छ। उक्त सूचनामा 'विशेष प्रकारका हतियार, मोर्टार, एलएमजी/जीपीएमजी, विभिन्न प्रकारका बम, रकेट लन्चर र यसको बारुद, ट्यांक, जहाज र हेलिकोप्टर खरिदका लागि' कम्पनी (उत्पादक, आधिकारिक वितरक र लोकल पार्टनर कम्पनी) आह्वान गरिएको थियो। 

    उक्त सूचनाबमोजिम १० वटा कम्पनीले 'हेलिकोप्टर र हवाई जहाज खरिदका लागि छनोट हुन प्रस्ताव पेश गरेको' २०७३ भदौ १९ गते (२०१६ सेप्टेम्बर ४) मा सेनाद्वारा जारी सूचनामा उल्लेख छ। प्रस्ताव पेश गरेका १० मध्ये अहिले सम्झौता भएको इन्डोनेसियाको जहाज उत्पादक कम्पनी पीटी डिर्गान्तारा इन्डोनेसिया (पीटीडीआई) सहित ६ वटा कम्पनी सूचीकृत भएका थिए। पीटीडीआई सूचीको चौँथो नम्बरमा छ भने उसको लोकल पार्टर काठमाडौंको कालधारास्थित सूर्य एअर सपोर्ट प्रा.लि. छ।

रविराज बराल

बराल २०७३ जेठदेखि २०७४ साउनसम्म थाहा खबरमा कार्यरत थिए।

इमेलः [email protected]

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]