राजनीति

सिंहदरबारमा 'डेब्यू' दुई माओवादी अनुहार चिन्नुस्

साउन २०, २०७३

    काठमाडौं : नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमै दुई नयाँ अनुहारले ठाउँ पाएको छ। मन्त्रिपरिषद विस्तारको पहिलो चरणमा कैलालीका गौरीशंकर चौधरी र रुकुमका दलजित श्रीपालीलाई माओवादीले क्रमशः कृषि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको हो।

    पार्टी राजनीतिबाट सिंहदरबारमा 'डेब्यु' गरेका यी दुई युवा नेताको छोटो परिचयः

    खेलकुद मन्त्रीको खेल नाता

    माओवादी जनयुद्धको उद्‍गम थलो रुकुमबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत संसदमा प्रतिनिधित्व गर्ने दलजित वि.के. श्रीपालीले वर्तमान सरकारमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्। २०२६ असोज २७ गते रुकुमको महत ५ मा जन्मिएका श्रीपाली बुबा गणेश र सुकैदेवीका छोरा हुन्। श्रीपालीका पाँच छोरी छन्।

    प्रमाणपत्रतहसम्म अध्ययन गरेका श्रीपाली २०४२ सालदेखि नै माओवादीमा संलग्न भएका थिए। उनले १० वर्ष भूमिगत जीवन बिताएका छन्। युद्धकालमा उनलाई हिरासतमा राखी यातना दिइएको संसद सचिवालयमा उनले बुझाएको रेकर्डमा उल्लेख छ।

    केही समय शिक्षणसमेत गरेका उनी माओवादीको जनमुक्ति सेनाको डिभिजन सहकमाण्डर थिए। २०४२ सालमा अनेरास्ववियुको सदस्य भएका उनी २०४७ मा नेकपा एकता केन्द्रको पार्टी सदस्य भए। उनी माओवादी निकट नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाको केन्द्रीय अध्यक्ष पनि हुन्। माओवादीको अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य श्रीपाली पीएलए स्पोर्टस् क्लबमा सदस्य सचिव थिए। उनका विभिन्न पत्रपत्रिकामा लेख समेत प्रकाशित छन्।

    कैलालीका किसान बने कृषि मन्त्री

    ३५ वर्षिय गौरीशंकर चौधरीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन्। २०३८ साल माघ ५ गते कैलाली जिल्लाको बसौटी ३ मा जन्मिएका चौधरी बाबु आशाराम र आमा घोघनीका छोरा हुन्। विवाहित उनका एक छोरी छन्।

    चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्। उनी १६ वर्षको उमेरमा २०५४ सालदेखि माओवादी जनयुद्धमा संलग्न भएका थिए। चौधरी माओवादीको युवा संगठन योङ कम्युनिस्ट लिगका केन्द्रीय सदस्य समेत हुन्। संसद सचिवालयको रेकर्डअनुसार उनले एसएलसी उत्तीर्ण गरेका छन्। उनको पारिवारिक पृष्ठभूमि कृषि भएको संसदको रेकर्डमा उल्लेख छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]