फिचर

पुल बनाउँदैमा विकास हुँदैन, विकास हुन जनतालाई आर्थिक रूपमा सक्षम बनाउनुपर्छ: नवराज सिलवाल

कात्तिक २२, २०७४

    काठमाडौं: केही महिनाअघि मात्र नेपाल प्रहरीको जागिर त्यागेर राजनीतिमा लागेका नवराज सिलवाल यसबेला चुनावी प्रचारको दौडधुपमा छन्। ललितपुर क्षेत्र नम्बर- १ मा वाम गठबन्धनको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएपछि उनको दैनिकी नै फेरिएको छ। बिहानै भोट माग्न जनताको घर जाने। साँझ अबेर घर फर्कने। कहिलेकाहीँ त जनताको घरमा नै बस्ने। आजकाल उनको दैनिकी यस्तै बनेको छ। 

    'मैले राजनीतिमा लागेर ठूलो अवसर पाएँ। जनताको घरघरमा जान मौका पाएको छु। उहाँहरूको समस्याका बारेमा जान्ने मौका पाएको छु’, उनले भने। 

    मनोनयन दर्ता गरेको पाँचौँ दिन अर्थात् बुधबार पनि सिलवाल त्यतिकै व्यस्त थिए। बिहान ६ बजे घरबाट निस्किएका उनी दिउँसो साढे २ बजे मात्र ललितपुरस्थित गोदावरी नगरपालिकामा रहेको आफ्नो घर आइपुगे।

    उनी चुनाव प्रचारका क्रममा ललितपुरको दक्षिणी क्षेत्रमा गएका थिए। ग्रामीण क्षेत्रमा मतदाता कामको चटारोमा थिए। जनताको कामलाई अवरोध नपुर्‍याउने हिसाबले काम गर्दै गरेको ठाउँमा नै गएर मत मागे। 'मेरो उद्देश्य जनताको काममा अवरोध नगर्नु हो। त्यसैले जनता काम गर्दै गरेको ठाउँमा नै गएर भोट मागेँ। ढुकुछाप भन्ने ठाउँमा खेतमा स्थानीय धान काट्दै हुनुहुँदोरहेछ', सिलवालले भने, 'उहाँहरूले मत मागेपछि धान काट्न आउँछ? भनेर सोध्नुभयो। म पनि किसानको छोरो, त्यसैले जनतासँगै एकछिन् धान काटेँ।'

    जनताको घरघरमा जाँदा आफूले जनताको धेरै दु:ख देखेको उनी बताउँछन्। ललितपुरको दक्षिणी क्षेत्र अझै पनि बत्तीमुनिको अँध्यारो भएको उनको भनाइ छ। 'राजधानी नजिकै भएको ठाउँको अवस्था पनि धेरै नाजुक छ। अरू ठाउँको त झन के होला? ललितपुरको दक्षिणी क्षेत्रमा अहिलेसम्म पनि राम्रो सडक पुगेको छैन', पूर्व डीआईजी नवराज भन्छन्, 'स्वास्थ्य सुविधा छैन। मैले आज मात्र थाहा पाएँ एक जना सुत्केरीको उपचार नभएर मृत्यु भएको रहेछ। यस्तो अवस्था देख्दा मलाई निकै पीडा भयो।'

    किन सुरु गरे सिलवालले राजनीति?

    आफूलाई नेपाली राजनीतिज्ञ र न्यायलयले समेत अन्याय गरेपछि राजनीतिमा आउनुपरेको उनी बताउँछन्। 'मलाई मेरा विपक्षीले त भाषणमा नै न्याय नपाएको भए सर्वोच जानु भन्ने गरेका रहेछन्। तर मैले न्याय नपाएर राजनीतिमा आएको भन्न खोजेको होइन', उनी भन्छन्, 'मैले त म जस्तै अन्यायमा परेकाको पक्षमा बोल्नलाई राजनीतिमा आएको भनेको हुँ।’ आफूले जितेपछि जनताको पक्षमा  कानुन बनाएर अन्यायमा परेका जनतालाई न्याय दिलाउने उनी बताउँछन्। 

    युवाहरूमा राजनीतिप्रति भएको वितृष्णा मेट्न आफू राजनीतिमा आएको सिलवालले दाबी गरे। उनी भन्छन्, 'अहिले राजनीतिलाई फोहोरी खेल भनिन्छ। यो ठीकै पनि हो। तर अब राजनीतिलाई सेवामुखी बनाउनुपर्छ। अब राजनीतिमार्फत देशको परिवर्तन गर्नुपर्छ, यसकारण पनि म राजनीतिमा आएको छु।'

    आफूले  देश विदेशको राजनीतिलाई नजिकबाट नियालेको उनले बताए। 'प्रहरीमा हुँदा मैले देशभित्र र बाहिरको राजनीतिलाई नजिकबाट नियालेको छु’, उनले भने, 'त्यसले पनि राजनीतिमा केही गर्न सक्छु। राजनीतिबाट देशको मुहार फेर्न म सफल हुन्छु भन्ने अपेक्षा छ।’ उनले प्रहरीमाथि धेरै राजनीति हुन थालेको बताए। उनले भने, 'अब त प्रहरी तहसनहस नै भइसक्यो। राजनीतिक हस्तक्षेप धेरै भयो। अपराध लुकाउन पनि राजनीति हुन थाल्यो तर राजनीतिमा अझै संभावना छ। राजनीतिबाट नै अब यस्तो हुन दिनुहुन्न।'

    उनले आफूलाई प्रहरी महानिरीक्षक हुन नदिन अनेक खेल खेलिएको संकेत गर्दै उनले भने, 'ममाथि त ढिला मात्र पो राजनीति भएको रहेछ। योभन्दा पहिला उहाँहरूले अन्याय गरेको भए पहिला नै यस्तो अवसर पाउनेरहेछु। त्यसकारण उहाँहरूलाई धन्यवाद भन्नुपर्छ।’

    ललितपुरको विकासमा के छ योजना?

    उनले ललितपुरको विकासमा विभिन्न योजनाहरू अघि सारेका छन्। आफ्ना विकास योजनाहरूलाई ललितपुरको ग्रामीण क्षेत्रमा धेरै केन्द्रित गर्ने उनको भनाइ छ। उनले आफ्नो योजनामा विशेष गरेर आर्थिक समृद्धिलाई जोड दिएका छन्। उनले हरेक घरलाई आर्थिक रूपमा स्वावलम्बी बनाउन आफू लागिपर्ने बताए। उनले महिलालाई आर्थिक रूपमा सक्षम बनाउन विभिन्न कार्यक्रमहरू ल्याउनेसमेत उल्लेख गरे।

    'महिलालाई आर्थिक रूपमा सक्षम बनायो भने गाउँ नै सक्षम हुन्छ। एउटा घरमा महिलाले कम्तिमा पनि मासिक ३० हजार रुपैयाँसम्म कमाउनेगरी कार्यक्रम ल्याउनुपर्छ। त्यसका लागि माइक्रो फाइनाइन्सको कार्यक्रम चलाउनुपर्छ अनि महिलाको चाहनाअनुसारको कृषिमा लगानी गर्नुपर्छ', उनले भने, 'कसैले तरकारी खेती गर्न चाहन्छन्। कोही बाख्रा पाल्न चाहन्छन्। त्यहीअनुसारको कार्यक्रम ल्याउनुपर्छ।’ 

    स्थानीय क्षेत्रको विकासका लागि स्थानीय क्षेत्रकै पूँजी परिचालन गर्नुपर्ने सिलवाल बताउँछन्। ‘यहाँको विकासका लागि यहाँकै पूँजी परिचालन गर्नुपर्छ’, उनले भने, ‘यहाँबाट विदेश गएका युवाहरूको रेमिट्यान्सलाई यहाँकै आर्थिक समृद्धिमा खर्चनुपर्छ।’

    सिलवालले ललितपुर पर्यटकीय संभावना बोकेको एक रमणीय जिल्ला भएकाले पर्यटन प्रवर्द्धनमा लागिपर्ने बताए। 'ललितपुर धेरै संभावना बोकेको जिल्ला हो। यहाँ हामी पूर्वको भेडेटार घुम्न गएजस्तो धेरै ठाउँ पनि छन्। ग्रामीण क्षेत्रमा पर्यटनको संभावना छ', उनले भने, 'त्यसका लागि पदमार्ग निर्माण गर्ने, भ्यू टावरहरू निर्माण गर्ने काम गर्नुपर्छ।’ आफूले जितेमा सामाजिक न्याय र सुशासनको ग्यारेन्टी गर्ने उनले दाबी पनि गरे। राजनीतिमा लागेपछि पदभन्दा पनि जनताको माया ठूलो हुने उनको भनाइ छ।

    पार्टीले आफूलाई गृहमन्त्री बनाउने भन्ने हल्ला बाहिर अाएको र त्यो सत्य नभएको उनले बताए। 'पार्टीमा लागेर राजनीति गरिसकेपछि पदभन्दा पनि जनताको माया ठूलो हुँदोरहेछ’, सिलवालले भने, ‘पद भन्ने कुरा पार्टीले मूल्यांकन गरेर दिने कुरा हो।’ पुल बनाउनु, बाटो बनाउनु विकास नभएको सिलवाल बताउँछन्। भन्छन्, 'पुल बनाउनु, बाटो बनाउनु विकास होइन। यो त विकासका लागि पूर्वाधार बनाउनु मात्र हो। विकास भनेको त प्रत्येक परिवारको आर्थिक स्थिति सुध्रिनु हो। यदि चुनावपछि वाम गठबन्धनको सरकार बन्यो भने हामी प्रतिव्यक्ति आयलाई वृद्धि गर्छौँ, जनताको न्यूनतम आवश्यकता पूरा गर्छौँ।’

    आफ्ना प्रतिस्पर्धीप्रति के भन्छन् सिलवाल?

    उनले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणालाई आफ्नो बारेमा नकारात्म टिप्पणी नगर्न आग्रह गरे। राजनीतिमा एकले अर्कालाई नकारात्मक टिप्पणी गर्नेभन्दा सहकार्य गरेर अघि बढ्नु राम्रो हुने उनको धारणा छ। उनले भने, 'उदयजीले मेरो बारेमा नकारात्मक टिप्पणी गर्नुहुँदोरहेछ। त्यसो नगर्न म आग्रह गर्छु। अब राम्रो राजनीतिक संस्कृतिको विकास गर्नुपर्छ।’

    उनले आफूले प्रहरी सेवामा हुँदा कहीँ आर्थिक चलखेल गरेको भए देश छाड्न तयार रहेको बताए। ‘केही साथीहरूले मेरो नक्कली आवाज बनाउन लगाएर रेकर्ड गरेर अख्तियारसम्म पनि पुगेछन्। ममाथि विभिन्न आरोप पनि लगाइएको छ। यदि यो प्रमाणित भयो भने म सार्वजनिक जीवन त्याग्न तयार छु', उनले भने, 'म स्वदेशमा नै बस्दिनँ।’

    सिलवालले अहिलेसम्म ललितपुर क्षेत्र नम्बर- १ मा केही विकास नै नभएको बताए। उनले भने, 'म त खासै केही विकास भएको देख्दिनँ। फलानो ठाउँमा पुल बनाएँ, यो गरेँ, त्यो गरेँ भन्दै जनताको घरमा भोट माग्न जानुभन्दा तपाईंहरूले संविधान बनाउन पठाउनुभयो, संविधान बनाएँ भनेर भोट माग्न सुहाउँछ।’

चिरञ्जिबी घिमिरे

घिमिरे थाहाखबरमा ०७५ माघसम्म कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]