राजनीति

कांग्रेसले बहुमत ल्याउँछ: खाँण

कात्तिक २२, २०७४

    काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन्।

    कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा खाँणले भने, ‘नेपाली कांग्रेसले बहुमत ल्याउँछ।’ कांग्रेसले प्रतिनिधिसभाको १६५ मध्ये १५४ सिटमा र प्रदेशसभाका ३३० मध्ये ३१० सिटमा उम्मेदवार उठाएको छ।

    ‘कम्तिमा ५५ प्रतिशत सिट मात्रै आए पनि सोझै हाम्रो बहुमत आउँछ’, नेता खाँणले भने, ‘६० प्रतिशत स्थानमा मात्र उम्मेदवार उठाएको नेकपा एमाले र ४० प्रतिशत मात्र उम्मेदवार उठाएको माओवादीको दुई तिहाई सिट जित्ने दाबी हावादारी हो।’ 

    खाँणले स्थानीय निर्वाचनको नतिजाले नै नेपालको वास्तविक जनमत प्रतिविम्बित गर्न नसक्ने उल्लेख गर्दै प्रतिप्रश्न गरे, ‘२०३६ सालको जनमतसंग्रहमा पञ्चायतले २४ लाख र बहुदलले २० लाख मत पाएको थियो तर २०४६ सालमा आइपुग्दा जनमत बदलियो कि बदलिएन?'

    नेता खाँणले अधिकतम सिटमा उम्मेदवारी दिएकाले कांग्रेसलाई समानुपातिकतर्फको सिट संख्याको लाभ हुने पनि दाबी गरे। उनले भने, ‘हाम्रै मतको लाभ हामीलाई हुन्छ, त्यसबाहेक थ्रेस होल्ड नपुगेका पार्टीहरूमा परेको भोटको लाभ पनि नेपाली कांग्रेसले पाउँछ।‘ उनले निर्वाचनको परिणाम एमाले र माओवादीका लागि अप्रत्यासित हुने ठोकुवा पनि गरे।

    उनले निर्वाचनमा दुई तिहाई सिट जितेर देशमा अधिनायकवादी राज्यको सपना पालेका एमाले र माओवादी केन्द्रका कतिपय नेताको जमानत जफत हुने बताए।

    खाँणले विगतमा आफूले पञ्चायतकाल र राजाको सक्रिय शासनकालमा यो नै उनीहरूको अन्तिम वर्ष हुनेछ भनेर विगतमा गरेको घोषणा स्मरण गर्दै भने, ‘साम्यवादकै सपना देखेर कम्युनिष्ट शासन स्थापना गर्नेतिर जाने हो भने अब नेपालमा सिद्धिने पालो कम्युनिष्टहरूको हुनेछ र अर्को चुनावमा उहाँहरूले सबै क्षेत्रमा उम्मेदवार पनि पाउनुहुनेछैन।’

    वाम गठबन्धनमाथि खाँणका तीन आरोप

    नेता खाँणले वाम गठबन्धतप्रति संकेत गर्दै लगाएको पहिलो आरोप: ‘अधिनायकवादमा जान खोज्ने हो भने नेपालमा कम्युनिस्टलाई जनताको साथ नरहने र कम्युनिस्ट नै सकिनेछन्। कम्युनिस्ट नेताहरूले नक्कली राष्ट्रवादको नारा ल्याएर जनमत आकर्षित गर्ने दुष्प्रयास गरिरहेका छन्। 

    दोस्रो आरोप: ‘जुन पार्टीले संसारभर राज्य र देश नरहने उद्घोष गर्दै संसारका मजदूरहरू एक होऔँ भन्ने नारा अगाडि सारेका कार्ल मार्क्सलाई आदर्श मानेको छ, त्यस्तो पार्टीका नेताहरू राष्ट्रवादी हुन सक्दैनन्।’

    तेस्रो आरोप: कम्युनिस्ट पार्टीका नेताहरू नेपालमा जातीय, भौगोलिक, धार्मिक र साम्प्रदायिक द्वेष र विभाजनको बीउ रोप्दै हिँडेकाले उनीहरूबाट विविधता बोकेको नेपालको राष्ट्रियता र अखण्डता सबल हुँदैन। मधेसमा बसेर शदीयौँदेखि सीमा र भूमिको रक्षा गर्दै आएका मधेसी समुदायलाई अर्को भूगोलमा बसेर गाली गर्दैमा राष्ट्रियता बलियो हुँदैन।

    चौथो आरोप: ‘अधिनायकवाद, परिवारवाद र एक विचारले चल्ने वाम गठबन्धनको यस्तो पद्धतिले मुलुकको विविधतालाई समेट्न सक्दैन।’

    कांग्रेस प्रचार प्रसार समन्वय समितिका सहसंयोजक बद्री पाण्डले २०४८ सालदेखि नै संसदीय व्यवस्थाको अभ्यासमा लागेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमा संसदीय व्यवस्था निर्विकल्प होइन भनेर दिएको अभिव्यक्तिले नेपाली जनताले सात दशकभन्दा लामो समयसम्म संघर्ष गरेर ल्याएको संविधानप्रति सो दलको अविश्वास प्रकट भएको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]