छापा

निर्वाचनका कारण रोकियो पुनर्निर्माण

कात्तिक २३, २०७४

    काठमाडौं : प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका कारण भूकम्पमा ध्वस्त निजी आवास पुनर्निर्माण कार्यक्रम प्रभावित बनेको छ। पुनर्निर्माणमा खटिनुपर्ने जनशक्ति निर्वाचन प्रचारमा लागेपछि काम प्रभावित भएको हो।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ७ लाख १ हजार २३ भूकम्पपीडितले निजी आवास बनाउन बाँकी छ। त्यसमध्ये एक लाख दुई हजार दुई सय ९३ भूकम्पपीडितले निजी आवास पुनर्निर्माण सुरु गरिसकेका छन्। बाँकी ५ लाख ९८ हजार ७ सय ३० भूकम्पपीडितले निजी आवास निर्माण अझै सुरु गरेका छैनन्।

    प्राधिकरणका सहप्रवक्ता डा. भीष्म भुसालले आवास निर्माणमा जुट्नुपर्ने जनशक्ति चुनावी प्रचारमा लागेपछि निजी आवास पुनर्र्निर्माण प्रभावित बनेको बताए। उनले भने, ‘प्राधिकरणले गर्ने काममा चुनावले खासै प्रभाव परेको छैन। तर, गाउँमा बन्दै गरेका घरमा भने अवश्य प्रभाव पारेको छ। घर बनाउने जनशक्ति चुनाव प्रचारमा लागेका छन्। मजदुर नै नभएपछि घर बनाउने कुरा भएन। त्यसकारण ग्रामीण भेगमा केही प्रभाव पर्नु स्वाभाविक पनि हो।’

    प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा धेरै निजी आवास गोरखामा बन्दै छन्। गोरखामा अनुदान सम्झौता भएका ५४ हजार पाँच सय २१ पीडितमध्ये १९ हजार ५ सय ९४ ले आवास बनाउन सुरु गरेका छन्। ८ हजार ६ सय ४७ ले भने बनाइसकेका छन्। नुवाकोटमा पनि १९ हजार ५१ पीडितले निजी आवास बनाउन सुरु गरेका छन्।

    सिन्धुपाल्चोकमा १८ हजार ३ सय ३४ पीडितले आवास बनाउन सुरु गरेका छन्। दोलखामा १७ हजार २ सय २४ ले आवास बनाउन सुरु गरेका छन्। रामेछापमा ११ हजार ४ सय ३२, काभ्रेमा १० हजार २ सय ८४, धादिङमा १० हजार २ सय ४, मकवानपुरमा ७ हजार ४ सय ८० र रसुवामा ३ हजार ३ सय ४७ पीडितले निजी आवास निर्माण थालेका छन्।

    तर, जनशक्ति अभावका कारण पीडितले निजी आवास निर्माणलाई तीव्रता दिन सकेका छैनन्। दोलखा जिल्ला समन्वय समितिका सभापति डबल पाण्डेले चुनावी प्रचारप्रसारका कारण पुनर्निर्माणमा प्रभाव परेको बताए।

नयाँ पत्रिका

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]