राजनीति

खनाल र नेम्वाङलाई कट्टेल र थापाको चुनौती, कसको पल्लाभारी?

कात्तिक २३, २०७४

    इलाम : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा इलाममा चुनावी चहलपहल निकै बढेको छ। पूर्वप्रधानमन्त्री तथा पूर्वसभाध्यक्ष चुनावी मैदानमा रहेकाले इलामले देशकै ध्यान खिच्न सफल भएको छ। प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर १ बाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल र क्षेत्र नम्बर २ बाट संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्।

    दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनका लागि १६ कात्तिकमा उम्मेदवारी दर्ता गराएपछि दुवै नेता कार्यकर्ता भेटघाट तथा चुनावी प्रचारप्रसारमा व्यस्त छन्। एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिँदा पनि बलियो प्रतिस्पर्धीका रुपमा रहने यी दुवै नेता माओवादी केन्द्रको समेत साथले थप उत्साहित छन्। पूर्वप्रधानमन्त्री खनालले त वामपन्थी एकताले देशको विकास हुने भन्दै देशीविदेशी शक्तिहरु अत्तालिएको बताउँदै आएका छन्।

    २०४६ सालबाट इलाम क्षेत्र नं १ का उम्मेदवार बन्दै आएका खनालले २०५६ बाहेक सबै चुनावमा विजय हासिल गरेका छन्। २०५६ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंले खनाललाई पराजित गरेका थिए। २०६४ सालको संविधासभा निर्वाचनमा पुनः खनालले प्रसाईंलाई पराजित गरे। खनालले ०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका वर्तमान जिल्ला सभापति हिमालय कर्माचार्यलाई हराए। खनालले १७ हजार ३४२ र कर्मचार्यले १५ हजार ५२७ मत पाएका थिए। माओवादीका युवकुमार पौडेलले ४ हजार ४२० मत प्राप्त गरेका थिए।

    पहिलो संविधानसभा निर्वाचनमा विजयी भएपछि प्रधानमन्त्रीसमेत बनेका खनाललाई अपेक्षाअनुसार आफ्नो क्षेत्रको विकास नगरेको आरोप लाग्यो। तर दोस्रो चुनावमा पनि जित हात पारेर आलोचकहरुलाई गतिलो जवाफ दिएका खनालले त्यसयता कार्यकर्ता भेटघाट र जिल्ला आउने क्रम केही बाक्लो बनाएका छन्।
    एमालेका इलाम जिल्ला अध्यक्ष भक्त केसी खनालको जित पक्का रहेको बताउँछन्। ‘इलाममा एमालेको संगठन बलियो छँदैछ, साथै जिल्लाका सबैभन्दा बढी विकास बजेटसमेत यस क्षेत्रमा नै ल्याउन एमालेले पहल गरेका कारण जित निश्चित छ,’ उनले भने।

    क्षेत्र नं. १ मा पर्ने ३ वटा स्थानिय तहमध्ये २ वटामा एमालेले प्रमुख/उपप्रमुखसहित वडातर्फ पनि बहुमत स्थानमा जित हात पारेको थियो। त्यसमा माओवादीको मत थपिँदा खनाललाई थप सहज भएको छ। मुख्य प्रतिस्पर्धी कांग्रेस भए पनि उसले लोकप्रिय उम्मेदवार नउठाएकाले खनाललाई चुनौती दिन नसक्ने केसी बताउँछन्। यस क्षेत्रमा कांग्रेसले पूर्व क्षेत्रीय सभापति भूपेन्द्र कट्टेललाई उम्मेदवार बनाएको छ।

    वाम गठबन्धनमा आवद्ध माओवादी केन्द्रका जिल्ला इञ्चार्ज कान्छा लावती पनि इलाममा वामपन्थीहरुको जित सुनिश्चित रहेको बताउँछन्। ५६ प्रतिशत वामपन्थी भएको जिल्लामा वमपन्थी एकताले उत्साह थपिएको उनको भनाई छ। लावतीले संविधानसभाको दुईवटा निर्वाचन तथा स्थानीय तह निर्वाचनलाई हेर्ने हो भने पनि इलामलाई वामपन्थी किल्ला बनाउन कसैले रोक्न नसक्ने प्रष्ट हुने बताए।

    नेम्वाङका लागि थापाको चुनौती

    पूर्वसभाध्यक्ष सभाध्यक्ष सुवासचन्द्र नेम्वाङका लागि पूर्व भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री केशव थापा चुनौति बन्न सक्छन्। २०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए भने थापाले इलाम क्षेत्र नं ३ बाट चुनाव जितेका थिए। त्यतिबेला सांसद भएपछि थापाले आफ्नो क्षेत्रमा सक्दो विकासको काम गरे। उनी त्यतिबेला भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री पनि बनेका थिए।

    २०६४ सालमा इलाम क्षेत्र नं २ बाट चुनाव लडेका थापा नेम्वाङसंग पराजित भएका थिए। थापालाई २०६४ सालको हारको बदला लिने अवसर छ भने नेम्वाङलाई नतिजा दोहोर्‍याउने। २०७० सालमा इलाम क्षेत्र नं ३ बाट विजयी बनेका थापा इलाम जिल्लाबाट सवैभन्दा बढी मतान्तरले जित्ने उम्मेदवार हुन्।

    उनले एमालेका टेकबहादुर राईलाई २ हजार १६३ मतले हराएका थिए। थापाले १५ हजार ८६८ मत ल्याउँदा राईले १३ हजार ७०५ मत प्राप्त गरेका थिए। सोही क्षेत्रमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मा रमणले ३ हजार ७४५ मत ल्याएका थिए। शर्मा अहिले वाम गठबन्धनबाट इलाम २ (२) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार छन्। मतदातामाझ सादगी नेताका रुपमा चिनिएका थापा मतदातामाझ लोकप्रिय छन्।

    यस क्षेत्रमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २९ वर्षिय दीपककुमार योङहाङलाई उठाएको छ। जनजाति मतदाता बढी रहेको इलाम २ मा स्थानीय निर्वाचनमा १/१ वटा वडामा प्यानलसहित जितेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति पार्टीले पनि नतिजालाई थोरबहुत प्रभाव पार्न सक्छन्।

    दुईवटै संविधानसभाको नेतृत्व गरेका नेम्वाङ संविधान कार्यान्वयनका लागि आफूले जित्नु पर्ने तर्कसहित मतदातामाझ गइरहेका छन्। ‘इलामको कर्णालीका रूपमा चिनिने क्षेत्र नं २ अहिले समृद्ध हुने क्रममा छ, अबको नयाँ संविधानले भौतिक, सामाजिक, आर्थिक सबै क्षेत्रको विकासलाई चुलीमा पुर्‍याउनेछ,’ नेम्वाङले भन्ने गरेका छन्, ‘नयाँ संविधान कार्यान्वयन गर्न र स्थानीय तहको अधिकार प्रभावकारी बनाउन देशलाई वाम गठबन्धनको नेतृत्वको खाँचो छ।’

    वाम गठबन्धनका कारण केही बलियो बनेका नेम्वाङलाई खनाललाई भन्दा केही चुनौती छ।

    नयाँले पार्न सक्छन् चुनावी जोडघटाउमा घटबढ

    इलाममा यसपटक विवेकशिल साझा पार्टीले पनि उम्मेदवारी दिएको छ। इलाम १ बाट सूर्योदय नगरपालिका–४ का युवा सचेन घले चुनावी मैदानमा छन्। अंग्रेजीमा स्नातकोत्तर गरेका घले डेढ दशकभन्दा लामो खनालको विजयी यात्राबाट निराश बनेको युवा जमातले आफूलाई मतदान गर्ने विश्वास राखेका छन्।

    घले सामाजिक सञ्जाल, भेटघाट र सभामार्फत् जनताको माझमा पुगिरहेका छन्। ‘हामी गाउँमा पुगेर पुराना दलहरुको मूल्य/मान्यता र हाम्रो राजनीतिक संस्कारबारे सुनाउँछौ,’ घलेले भने परोपकार र समृद्धिका लागि पार्टीले गरिरहेको काम र भावी योजना बारे जनतालाई सुनाउने उनको योजना छ।’

    खनालकै क्षेत्रबाट अर्का युवा मानवीर लाप्चाले पनि प्रतिस्पर्धा गर्दै छन। २९ वर्षीय लाप्चा नयाँशक्ति पार्टीबाट उम्मदवार बनेका हुन्। उनले स्थानीय लेप्चा समुदायको मत आफूतिर तान्न सक्छन्। ठूला नेताले राजनीतिलाई जागिरजस्तो बनाएकाले त्यो मानसिकता भत्काउन आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।

नमिन ढकाल

ढकाल थाहा खबरका इलाम समाचारदाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]