राजनीति

प्रचण्डसहित बहालवाला र पूर्वमन्त्रीको उम्मेदवारीले चर्चामा चितवन

कात्तिक २३, २०७४

    चितवन : चितवन जिल्लामा आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री बहालवाला मन्त्री र सांसदहरु नै चुनावी प्रतिपर्धामा छन्। जसका कारण चितवन जिल्ला चासो र चर्चाको विषय बनेको छ। पूर्वप्रधानमन्त्री र मन्त्रीदेखि वहालवाला मन्त्रीसमेतको सहभागिताले जिल्लाको चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको एकजना मतदाता मनोज अर्याल बताउँछन्।

    चिवतनबाट पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वअर्थमन्त्री एवम् नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डे, बहालवाला वन तथा भूसंरक्षण मन्त्री एवं राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे, शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी र पूर्व भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

    यसमध्ये पनि चितवन– ३ सर्वाधिक चासो र चर्चाको केन्द्रमा छ। यस क्षेत्रमा पूर्वप्रधानमन्त्री प्रचण्ड र बहालवाला वनमन्त्री विक्रम पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ। वाम गठबन्धनका साझा उम्मेदवार प्रचण्डलाई एमाले र पाण्डेलाई कांग्रेसको साथ छ। पहिलो चरणको चुनावी प्रचार अभियान सम्पन्न गरेका प्रचण्डले चितवनका जनताबाट अधिकार प्राप्त गरेर देशकै नेतृत्व गरी स्थायी शान्ति र समृद्ध राष्ट्र बनाउन चितवन आएको दाबी गरेका छन्। पाण्डे भने विकासका लागि चुनावमा आएको भन्दै प्रचार अभियानमा सक्रिय छन्। १४ जनाको उम्मेदवारी रहेको यस क्षेत्रमा पूर्व भूमि सुधार तथा व्यवस्थामन्त्री एवम् नेकपा मालेका नेता डम्बर श्रेष्ठसमेत प्रतिस्पर्धामा छन्। 

    चितवन क्षेत्र नम्बर २ मा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी र वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला अध्यक्ष एवम् निवर्तमान सांसद कृष्णभक्त पोखरेल प्रतिस्पर्धामा छन्। देवघाटबाट जनताको आशिर्वाद लिएर चुनावी मैदानमा आएको बताउँदै पोखरेल आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन्। आफू यहाँको ‘अर्गानिक’ उम्मेदवार भएकाले मतदाताले आफूलाई रोज्ने उनको जिकिर छ।

    यसअघि पोख्रेल ३ र अधिकारी २ नम्बर क्षेत्रबाट निर्वाचित भएका थिए। ती दुवै क्षेत्रका अधिकांश भू–भाग अहिले २ नम्बर क्षेत्रमा छ। यस क्षेत्रमा ३ स्वतन्त्रसहित १५ जना उम्मेदवार छन्। निर्वाचन क्षेत्र ५ बाट घटाएर ३ मा झारिएकाले भोट बाँडिने हुँदा यस्तै हुन्छ भन्न सकिने अवस्था छैन। तर, स्थानीय तहमा आएको पार्टीहरुको भोट हेर्दा वाम गठबन्धन केही अगाडि देखिन्छ।

    त्यसो त चितवन क्षेत्रनम्बर १ मा पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे चुनावी मैदानमा छन्। उनको प्रतिस्पर्धा कांग्रेसका राजेन्द्र बुर्लाकोटीसँग हुँदैछ। अघिल्लो चुनावमा जित हात पारेका पाण्डेले यसपटक क्षेत्र नम्बर ३ का उम्मेदवारसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डको नामसमेत लिएर ‘दुई भाइले चितवनको विकास गरेरै छाड्ने’ बताउँदै भोट मागिरहेका छन्। यस क्षेत्रबाट प्रतिनिधिसभामा ३ स्वतन्त्रसहित १३ उम्मेदवार मैदानमा छन्।

    प्रदेशसभातर्फ यस्ता छन् उम्मेदवार

    चितवनमा मुख्य दलहरुबाट उम्मेदवार बनेका नेताहरु अहिले भोट माग्न घरदैलोमा व्यस्त छन् । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको प्रदेशसभा १ मा धनबहादुर गुरुङ, तथा २ मा उत्तम आचार्य प्रतिस्पर्धामा छन्। यस्तै क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा जितनारायण श्रेष्ठ र २ मा प्रकाश अधिकारी तथा क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा दिनेश कोइराला र २ मा साजनकुमार महतो उम्मेदवार छन्।

    वाम गठबन्धनले क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा दावा लामा र २ मा कृष्ण खनाल, क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा घनश्याम दाहाल र २ मा विजय तथा क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा कृष्ण भुर्तेल र २  रामलाल महतो चुनावी मैदानमा छन्।

    जिल्लको मतदाताको अवस्था र मतदान स्थल

    अघिल्लो निर्वाचनको भन्दा ४१ हजार मतदाता थपिएर यसपटक जिल्लामा कुल ३ लाख ५४ हजार ३६ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए। उनका अनुसार क्षेत्र नम्बर १ मा १ लाख १९ हजार ९९८ मतदाता छन् । यहाँ कुल ५६ वटा मतदान स्थल तोकिएको छ। 

    क्षेत्र नम्बर २ मा १ लाख ८ हजार २१९ मतदाता छन् । यहाँ ४३ वटा मतदान स्थल तोकिएको छ । यस्तै क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८१८ मतदाता रहेका छन्। मतदान स्थल भने ६२ तोकिएको ढकालले बताए।

    जिल्लामा कुल १६१ मतदान स्थलमा ४०८ मतदान केन्द्र तोकिएको छ । चितवन क्षेत्र नम्बर १ मा राप्ती, खैरहनी र रत्ननगर नगरपालिका रहेको छ। यस्तै क्षेत्र नम्बर २ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरको भरतपुर महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ वडा समेटिएको छ।

    यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा माडी नगरपालिका सहित भरतपुर महानगरपालिका वडा नम्बर ६, ८, ९ तथा १३ देखि २८ नम्बरसम्मका वडा समेटिएका छन्।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]