राजनीति : निर्वाचन २०७४

मैले नेतृत्व गर्ने पाँच नम्बर प्रदेश देशकै नमुना हुनेछ : शंकर पोख्रेल

के छ जित्ने आधार ?

कात्तिक २३, २०७४

    काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेल दाङ क्षेत्र नम्बर २ को '१' बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार छन्। पोख्रेल प्रदेशमा उम्मेदवार बनेपछि दाङ र प्रदेश ५ अन्तर्गतका जिल्लामा समेत उनको चुनावी गतिविधिलाई चासोका साथ हेरिएको छ। वाम गठबन्धनले उनलाई प्रदेश ५ को मुख्यमन्त्रीको प्रस्ताव गरेको छ।

    पोख्रेलले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावमा पाँच नम्बर प्रदेशको नेतृत्व गर्ने गरी आफू प्रदेशसभा सदस्यमा उम्मेदवार बनेको बताएका छन्। उनले आफूसँग प्रदेशको विकासको खाका पनि आफूसँग रहेको बताएका छन्। 'पाँच नम्बर एकदमै सम्भावना भएको प्रदेश हो। यसलाई पश्चिम नेपालको आर्थिक केन्द्रको रुपमा विकास गर्ने हाम्रो सोच छ' पोख्रेलले भने, 'यस प्रदेशलाई विकास गर्ने खाका मसँग छ। नमूना प्रदेश र जनताले गौरव गर्ने प्रदेशका रुपमा स्थापित गर्नेछु।'

    नेता पोख्रेल पाँच नम्बर प्रदेशमा वाम गठबन्धनको बहुमत आउने र आफू मूख्यमन्त्री पनि हुने दावी गर्छन्। 'यो प्रदेश कम्युनिष्टको बहुमत भएको प्रदेश हो, जित सहज छ। यो तथ्याङ्कमा आधारित विश्लेषण हो' नेता पोख्रेल भन्छन्, 'यहाँका जनताले मलाई पक्कैपनि त्यो जिम्मेवारी दिनुहुनेछ।'

    को हुन् शंकर पोख्रेल ?

    विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका पोख्रेल वैचारिक, राजनीतिक क्षमता तथा संगठनात्मक कुशलता भएको नेता मानिन्नछन्। कुनै समय जननेता मदन भण्डारीको निकट रहेर काम गरेका उनी अनेरास्ववियुको अध्यक्ष र त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिसमेत भए। २०१९ फागुन १५ गते दाङको तुलसीपुर उपमहानगरपालिका १९, हाडिमेमा जन्मेका पोख्रेल २०३६ सालमा भएको विद्यार्थी आन्दोलन, २०४६ र ०६२/६३ को जनआन्दोलनमा काठमाडौंबाट आन्दोलनको नेतृत्व गरेका थिए।

    माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका लागि एमालेले गठन गरेको कार्यदलको सचिव रहेका पोख्रेलले जनकपुरमा भएको एमालेको सातौं महाधिवेशनमा  संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्ने प्रस्ताव पेश गरेका थिए। पोख्रेल पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

    त्रिभुवन विश्वविद्यालयबाट एमबीएको पढाइ पूरा गरेका उनी भू-राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान राख्छन्। आर्थिक, सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा पोख्रेलका विचारलाई एमालेको नवौं महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाको रुपमा आत्मसात गरेको छ। पोख्रेल हाल पार्टीको स्कुल विभाग उपप्रमुखको भूमिकामा छन्।

    के छ जित्ने आधार?

    प्रदेशसभा निर्वाचनमा पोख्रेलका प्रतिस्पर्धी छन् नेपाली कांग्रेस दाङका पूर्वसचिव कमलकिशोर घिमिरे। घिमिरे स्थानीय राजनीतिमा प्रभावशाली नेता हुन्। २०६४ सालको संविधानसभाको निर्वाचनमा दाङका पाँचै क्षेत्र तत्कालिन नेकपा माओवादी र २०७० सालको निर्वाचनमा पाँचै क्षेत्र नेपाली कांग्रेस विजयी भएको थियो। तर हाल यो प्रदेश अन्तर्गतको स्थानीय तहमा एमाले र माओवादी विजयी भएका थिए। गएको स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनमा आवद्ध दलले १८ हजार १२ र कांग्रेसले ९ हजार ६ सय ५२ मत पाएको छ। हाल चुनाव प्रचार प्रसारमा रहेका पोख्रेलसँग थाहाखबरकी देविका घर्तीमगरले गरेको कुराकानी : 

    प्रतिनिधिसभामा उठ्ने चर्चा भए पनि अन्तिममा प्रदेशसभामा किन झर्नुभयो ?

    मैले २३ वर्ष अघि पनि चुनाव जितेर जनप्रतिनिधि भएको हो, अब फेरि जित दोहोर्‍याउँछु। म प्रदेशबाट देशको नेतृत्व गर्ने हिसाबले प्रदेशको टिकट लिएर आएको हुँ। पार्टीका शीर्ष नेताहरुको सल्लाहमा र लामो सोंच विचार गरेर नै मैले प्रदेशमा टिकट लिएको हुँ। नीतिगत रुपमा केन्द्रीय तहमा नीति निर्माण गर्छु भने प्रदेश तहमा आफै नेतृत्व गर्ने भएकाले त्यसलाई कार्यान्वयन गरेर देखाउनेछु। प्रदेशको नेतृत्व गर्नुपर्ने भएकोले नै पार्टीले मलाई टिकट दिएर पठाएको हो।

    प्रदेश  नम्बर को मुख्यमन्त्रीको सिट सुरक्षित गर्नुभएको हो ?

    यो मेरो मात्रै व्यक्तिगत चाहना होइन। पार्टीले नै तपाइले प्रदेशको नेतृत्व गर्नुपर्छ भनेपछि मैले उम्मेदवारी दिएको हुँ। पहिलो कुरा, प्रदेशको समृद्धिका लागि नेतृत्व गर्ने गरी पार्टीले पठाएको हो, त्यसपछि मेरो पनि इच्छा हो।

    पाँच नम्बर प्रदेशमा वाम गठबन्धनको अवस्था के छ ?

    प्रदेश नं ५ मा वाम गठवन्धनले दुई तिहाई ल्याउँछ। यो प्रदेश वाम गठवन्धनको लालकिल्ला हो। यहाँ वाम गठबन्धनको प्रष्ट बहुमत छ। यस प्रदेशमा धेरै हेभी वेट नेताहरु हुनुहुन्छ। हिजोका दिन र गएको स्थानीय तहको निर्वाचनमा पनि जनताले विश्वास गरेका छन्। मुख्यमन्त्रीको सन्दर्भमा एमाले र माओवादीबीच सहमति भइसकेको छ। प्रदेश पाँचको मुख्यमन्त्री वाम गठवन्धनमा एमालेले नै पाउने हो।

    वाम गठबन्धनभित्र असन्तुष्टीहरु पनि छन् नि?

    केही ठाउँमा, केही व्यक्तिमा भएको गलत बुझाइका कारण समस्या भएको हुनसक्छ। चुनावी दौरानमा सबै कुराको समाधान गर्छौ। अहिले नसमेटिएका त्यस्ता व्यक्तित्वहरुलाई कहाँ राख्ने भन्ने विषयमा हामीले छलफल गरिसकेका छौं। प्रतिनिधिसभामा यस क्षेत्रको नेतृत्व गर्ने हिसाबले  दाङ २ का उम्मेदवार कृष्णबहादुर महराजी र प्रदेशको नेतृत्व मैले गर्ने भएको हिसाबले सबैलाई समेटेर लैजान्छौं। गठवन्धनमा कुनै पनि समस्या छैन। सबै मत्थर भइसकेको छ।

    तपाईले चाहेको पाँच नम्बर प्रदेश कस्तो हो?

    हामीले आर्थिक समृद्धिमार्फत यो प्रदेशको मुहार बदल्न खोज्दैछौं। यसमा जनताले साथ दिन्छन् भन्ने विश्वास लिएका छौं। हामीले देशलाई नै नेतृत्व गर्ने गरी प्रदेश निर्माणलाई जोड दिएका छौं। सडक पुगेका ठाउँमा पनि स्तरीय छैनन्। प्रदेश ५ का सबै जिल्लामा सडक सञ्जाल जोड्नु र त्यसको स्तरउन्नति गर्नुछ।

    प्रदेशका सबै जिल्लामा विद्युत विस्तार, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका सम्पूर्ण पूर्वाधार निर्माण गर्ने मेरो प्रतिबद्धता छ। हरेक जिल्लामा कम्तीमा एउटा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, क्याम्पस निर्माण गर्ने प्रतिबद्धता हामीले गरेका छौं। पाँच नम्बर प्रदेश प्राकृतिक स्रोतको धनी छ। गरिबीको अन्त्य गर्न जडीबुटीको प्रशोधन गर्ने, व्यवसायिक कृषि उत्पादनका योजना कार्यान्वयन गर्न योजना हामीले ल्याएका छौं।

    यो प्रदेशका बारेमा धेरै कुरा मलाई थाहा छ। त्यसमा पनि दाङ मेरो गृहजिल्ला भइहाल्यो। पाँच नम्बर प्रदेशको केन्द्रविन्दु दाङ नै हो। संविधानमा प्रद्धत्त अधिकारलाई प्रयोग गरेर प्रदेशको राजधानीको विषयमा न्यायोचित निर्णय गर्ने कुरामा दंगाली जनतालाई ढुक्क हुन आह्वान गर्दछु। त्यसका लागि स्थानीय स्रोत र साधनमा आधारित उद्योगहरु सञ्चालन गरिन्छ। सबै क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिनेछ। मैले पाँच वर्षभित्र यहाँका जनताको दैनिकी र जीवनशैली नै परिवर्तन गर्ने गरी आफ्ना एजेण्डाहरु लिएर जनतामा पुगेको छु।

    तपाईले चाहेको प्रदेश ५ कस्तो हो?

    अहिलेसम्म केन्द्रको दृष्टि पुग्न नसकेको यो क्षेत्र नमूना प्रदेश हुनेछ। जनताले गौरव गर्ने प्रदेश बनाउँछु। पाँच नम्बर जस्तो सम्भावना भएको प्रदेश कुनै पनि छैन। पश्चिम नेपालको आर्थिक केन्द्रका रुपमा विकास गर्ने हाम्रो सोच छ। नेपाली अर्थतन्त्रको मुख्य हिस्सा प्रदेश ५ नै बन्छ। त्यो सम्भव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]