राजनीति

रौतहट १ मा अनिल झालाई बबन सिंहको डर, कसले मार्ला बाजी?

कात्तिक २३, २०७४

    रौतहट : जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ मा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिल झा उम्मेदवार छन्। उनलाई मधेसमा राम्रो जनाधार भएको अर्को पार्टी संघीय समाजवादी फोरम  नेपालको पनि समर्थन छ। तैपनि उनी चुनाव जित्नेमा ढुक्क हुन सकेका छैनन्। उनलाई डर देशका प्रमुख राजनीतिक दलले बनाएका लोकतान्त्रिक र वाम गठबन्धनको होइन स्वतन्त्र उम्मेदवार बबन सिंहको हो।

    गठबन्धनबाट राजपा अध्यक्ष मण्डलका अनिल झाले उमेदवारी दिएपछि उनीविरुद्ध संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य बबन सिहले बागी उमेदवारी दिएका थिए। चुनाव प्रचार प्रसार क्रममा राजपा-फोरम गठबन्धनका उमेदवार अनिल झाको तुलनामा बागी तथा स्वतन्त्र उमेदवार सिंहको पक्षमा जनलहर देखिएको कतिपय नेताहरुले बताएका छन्।

    २०६४ सालको संविधानसभा निर्वाचनमा स्वतन्त्र हैसियतमा चुनाव जितेका बबन सिंह टोल टोलको समस्याको समाधान गर्न सक्रिय रहेको कारणले गर्दा पनि उनको जनमत राम्रो रहेको स्थानीय युवा नवीन सिंह बताउँछन्।

    मधेस आन्दोलनका क्रममा स्थानीयस्तरमै आन्दोलनमा सक्रिय रहेका र जनताको समस्यालाई सहज रुपमा समाधान गर्ने नेताको रुपमा सिंहले भूमिका निर्वाह गरेकै कारण पनि उनको जनमत कमजोर नरहेको सिंह बताउँछन्। स्वतन्त्र उमेदवार सिहले २०६४ सालको जस्तै गरी आफूले निर्वाचनमा विजय हासिल गर्ने बताएका छन्। सिंहले भने 'म जनताको सेवक हुँ गाउँमा नै बसेर सेवा गर्ने मेरो लक्ष्य भएको हुँदा मेरो जित सुनिश्चित छ।'

    यता राजपा—फोरम नेपाल गठबन्धनका उमेदवार झाले भने मधेसको समस्याको समाधान गर्ने पार्टी राजपा नै भएको हुँदा जनलहर आफ्नै पक्षमा रहेको दाबी गरेका छन्। झाले पत्नी डिम्पल झालाई समानुपातिक बन्दसूचीको उच्चतम श्रेणीमा राखेको आरोप पनि लागेको छ। झाको उमेदवारीबाट असन्तुष्ट राजपाका कार्यकर्ताहरु बागी उम्मेदवार सिंहको पक्षमा लागेका छन्।

    बबन सिंहको उम्मेदवारीबाट राजपा-फोरम नेपाल गठबन्धनका मात्र होइन नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवारमा डर पैदा गरेको छ। यद्यपी सो क्षेत्रबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका नेपाली कांग्रेसका जिल्ला सभापति कृष्ण यादवले पनि आफनो जित निश्चित भएको बताउँछन्। उनले भने “क्षेत्र नं. १ कांग्रेसमय बनेको छ लोकतन्त्रको रक्षाको लागी पनि कांग्रेसको जित हुनेमा कुनै द्विविधा छैन।'

    त्यस्तै वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका पूर्व राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता सत्यनारायण भगतले वाम गठबन्धनको जित पक्का रहेको प्रतिक्रिया दिएका छन्। देशमा दिगो शान्ति तथा विकासका लागि पनि वाम गठबन्धनको जित हुने उनको भनाइ रहेको छ।

    राजपा—ससफो गठबन्धनका उमेदवार अनिल झा पूर्व उद्योग मन्त्री हुन् भने स्वतन्त्र उम्मेदवार २०६४ सालको संविधान सभाको निर्वाचनमा भूमिगत अवस्थामै निर्वाचित पूर्वसभासद हुन्। वाम गठबन्धनका उम्मेदवार सत्यनारायण भगत बिन २०७० को निर्वाचनमा तत्कालीन रौतहट क्षेत्र नं. ४ को माओवादी केन्द्रबाट निवार्चित भएर राज्य मन्त्री समेत भइसेका छन्। यता नेपाली कांग्रेसका उम्मेदवार कृष्णा यादव २०६४ सालको संविधान सभाको निर्वाचनमा निर्वाचित भएका थिए। हाल उनी नेपाली कांग्रेस पार्टीको जिल्ला सभापति पनि हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]