छापा

जुम्लामा सांसद चुन्न महिलाको मत निर्णायक

कात्तिक २४, २०७४

    काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मुख्य प्रतिस्पर्धी दलका उम्मेदवारहरू पुरुष मात्र छन्। तर मौसमी व्यापार र रोजगारीका लागि पुरुष मतदाता भने दिनहुँ जिल्ला छाडिरहेका छन्। त्यसैले जुम्लाको यसपटकको चुनावी नतिजामा महिलाको मत निर्णायक बन्दै छ।  

    चुनाव आउन तीन साता पनि छैन। दिनहुँ सयौं मतदाता लर्को लागेर व्यापार र रोजगारीका लागि तराई झरिरहेका छन्। मध्यम वर्गका पुरुष कम्बल, ब्ल्यांकेट र गलैंचाको व्यापार गर्छन् भने निम्न वर्गीयहरू भारतमा ज्याला मजदुरीका लागि जाने गरेका छन्। सिंजा क्षेत्रका आधा पुरुष मतदाताले चुनावमा भाग लिने सम्भावना नै छैन। 

    गोठीज्युलाका ४६ वर्षीय बिर्खबहादुर थापा मौसमी व्यापारका लागि शुक्रबार घरबाट निस्कँदै छन्। उनी सुरुमा काठमाडौं जानेछन्। त्यहाँ उनले झन्डै एक लाखको काम्लो, ब्ल्यांकेट र गलैंचा अर्डर गरिसकेका छन्। बिक्री गर्न यसपटक झापा जाँदैछन्। ‘१८/२० दिनमा त्यो बिक्न गाह्रै छ,’ उनले भने, ‘चुनाव भनेर काम छाडेर बस्न पनि भएन, भोट हाल्न आउन मुस्किलै छ।’ 

    थापा मौसमी व्यापारमा लागेको वर्षौं भइसक्यो। बर्खाभर गाउँमै बसेर खेतीपाती गर्ने र चाडपर्व मनाएपछि कात्तिक–मंसिरमा व्यापारमा जाने गर्छन्। ‘सिंजाको बेरोजगार मध्यम वर्गले यसै गरेर निर्वाह गर्दै आएको छ, हाम्रा लागि यो चुनाव बेमौसममा भयो,’ उनले भने। 

    कनकासुन्दरी ६ साटवडाकी तिखु बुढाका पति नन्दबहादुर एक साताअघि नेपालगन्ज झरे। अब उनले जाडोभरि घरघरै पुगेर गलैंचा र ब्ल्यांकेट व्यापार गर्नेछन्। उनी कात्तिकमा खेती स्याहारेर घर छाडेपछि फागुनमा मात्र वर्षे खेती लगाउन फर्किने छन्। 

    यसपटक मंसिर १० गते चुनाव परेकाले गाउँ फर्किन उम्मेदवार र तिनका आफन्तले उनलाई आग्रह गरे। तर बीचैमा व्यापार छाडेर फर्किने सम्भावना नरहेको तिखुले बताइन्। ‘घरमा रहेका हामी महिला भोट दिन्छौं,’ उनले भनिन्, ‘काममा गएका पुरुष भने फर्किन मुस्किलै छ।’

    तिखुका छिमेकीहरू माया बुढा र जयनन्दाका पति पनि रोजगारीका लागि बाहिरै छन्। जौ छर्ने बेला गाउँमा पुरुष नभएपछि खेतबारीमा महिला मात्र देखिन्छन्। ‘चुनाव भनेर कोही रोकिएनन्,’ जयनन्दाले भनिन्, ‘गाईबस्तु र खेतबारी हेर्ने मात्र हैन, सांसद छान्ने काम पनि महिलाकै भागमा परेको छ।’ 

    उम्मेदवार एक जना पनि महिला नभएको उनीहरूको गुनासो छ। ‘लोग्ने मान्छेहरू आफैं मात्र उठे। एकसेएक महिला छन् तैपनि कसैले देखेनन्,’ मायाले भनिन्। गाउँमा ६२ घरपरिवारको बसोबास छ। तीमध्ये स्थानीय जागिरे र विद्यार्थीबाहेक अधिकांश घरका पुरुष सदस्य व्यापार र रोजगारीका लागि तराई झरिसकेका छन्। 

    श्रीमान्, बुबा र दाजुभाइ घरमा नभए पनि उनीहरूले उम्मेदवार छानेर भोट हाल्न अह्राएर गएको महिलाहरू बताउँछन्। कनकासुन्दरी २ की पञ्चरूपा रावतले भनिन्, ‘श्रीमानको भोट जता जान्छ, हामीले पनि उतै हाल्छौं। भोटका लागि किन घरबार बिगार्नु ?’ घर बाहिर रहेका पतिले फोन गरेर आफ्नो मन परेको पार्टी र उम्मेदवारलाई भोट हाल्न लगाउने गरेको उनले बताइन्। चुनावको मुखैमा घर छाड्नेहरूले उम्मेदवार छानेर गएको पञ्चरूपाकै सम्झना रावत बताउँछिन्। ‘अहिले गाउँमा पुरुषभन्दा महिला धेरै छन्। तर, भोट भने पुरुषले जहाँ भन्छन् त्यहीं दिने हो,’ उनले भनिन्।  

    निर्णायक मतदाता महिला भएपछि राजनीतिक दल र उम्मेदवारले त्यसैअनुसार चुनावी रणनीति बनाएका छन्। कांग्रेसले चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाललाई सिंजा क्षेत्रमा खटाउन लागेको छ। त्यस्तै, महिलाको भोट तान्न एमालेले प्रदेशतर्फ समानुपातिक सदस्य उम्मेदवार मेनुका पछाईलाई सक्रिय बनाएको छ भने माओवादी केन्द्रले समानुपातिक उम्मेदवार गोमा कुँवरलाई खटाएको छ। ‘उम्मेदवारी नदिए पनि जुम्लामा यसपटक महिला मतदाता निर्णायक भएका छन्,’ मेयर सेजुवालले भनिन्, ‘जसले महिलाको मत जित्छ, उसैले चुनाव जित्ने स्थिति छ। त्यसैले साथीहरूको आग्रहमा म सिंजामा प्रचारप्रसारमा जाँदै छु।’ 

    ४० प्रतिशत मतदाता बाहिरिएको अनुमान

    चुनावको मुखमा जुम्लाको सिंजा भेगसहित कनकासुन्दरी, हिमा, तिला, पाताराशीलगायतका गाउँपालिकाबाट झन्डै ४० प्रतिशत मतदाता बाहिरिएको अनुमान छ। जुम्लाबाट दैनिक २/३ सय जना कालिकोट नाका हुँदै तलतिर झरिरहेको प्रहरी चौकी नाग्मका इन्चार्ज मानबहादुर रेश्मी मगरले बताए। ‘दैनिक ६/७ गाडी खचाखच भरिएर गइरहेका छन्,’ उनले भने, ‘आउने बस खाली हुन्छन्, जाने भरिभराउ।’ 

    कर्णाली क्षेत्रमा साइत हेरेर र राम्रो तिथि पारेर यात्रामा निस्कने चलन छ। बुधबार र शुक्रबारलाई यात्राका लागि उत्तम बार मानिन्छ। प्रहरीका अनुसार, अरू दिनभन्दा ती बार धेरैले जिल्ला छाड्ने गरेका छन्। सिंजा भेगबाट दैनिक ४/५ वटा बस र जुम्ला बजार क्षेत्रबाट २/३ वटा भरिने गरेको छ। जिल्ला छाड्ने आधाभन्दा बढी पुरुष व्यापारका लागि जाने गरेको मगरले बताए। खेत जोतेर जौ छरेपछि भारतको कालापहाड जाने भएकाले कात्तिक अन्तिमसम्मै तल झर्नेको लर्को हुन्छ। 

    इलाका प्रशासन कार्यालय सिंजाका प्रमुख मधुशंकर उपाध्यायका अनसार सिंजा क्षेत्रका पुरुष कात्तिक लागेपछि घर छाडेर कमाइ गर्न निस्कन्छन्। मंसिर १० मा चुनाव भए पनि दलहरूले मतदातालाई वास्ता नगरेको उल्लेख गर्दै उनले भने, ‘चुनावको महत्त्व बुझाउन पर्याप्त मतदाता शिक्षाको खाँचो देखिएको छ।’ 

    चुनावभन्दा पनि वर्षभरिका लागि घरपरिवारलाई लत्ताकपडा, खाद्यान्न कमाउनुपर्ने भएकाले सिंजा भेकका बासिन्दा धमाधम तलतिर झरिरहेको कांग्रेस कालिकोटका पार्टी उपसभापति शंकर उपाध्यायले बताए। ‘दैनिक हूलका हूल मतदाता गइरहेका छन्,’ उनले भने, ‘रोक्न गाहै्र छ। उम्मेदवारको विशेष आग्रहमा गाडी व्यवस्था गरे केही फर्किएलान् नत्र मुस्किलै छ।’ 

    ५९ हजार ५८ मतदाता रहेको जुम्लामा पुरुष ३० हजार ७ सय ५७ र महिला २८ हजार ३ सय १ छन्। तीमध्ये प्रदेश (ख) क्षेत्र सिंजामा १४ हजार ८९ पुरुष र १२ हजार ९ सय ६५ महिला मतदाता छन्। स्थानीय तहको निर्वाचनमा ५४ हजार ६ सय ७७ मतदाता रहेको जुम्लामा यसपटक ४ हजार ३ सय ८१ थपिएको निमित्त निर्वाचन प्रमुख अभिनन्द चौलागाईंले बताए।

कान्तिपुर दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]