काठमाडौं : मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा खाद्य...
महेशपुर (झापा) : मेची नदीपारि महेशपुरका बासिन्दा धान काट्न व्यस्त भइरहेका बेला भोट माग्नेहरू पस्न थालेका छन्। मत माग्नेलाई देख्नेबित्तिकै उनीहरूको गुनासो सुनिन्छ, ‘नेता हुए कुन काम कोरेन देले (नेताले कुनै काम गरेनन्)।’ राजवंशी भाषामा हरेकजसो महेशपुरवासी यसै भन्छन्।
भद्रपुर नगरपालिका ३ मा पर्ने यो गाउँलाई मेची नदीले ‘पारि’ बनाइदिएको छ। वर्षामा मेचीले महेशपुरलाई नेपालबाट अलग गरिदिन्छ। त्यहाँका बासिन्दा थुनिन्छन्। काठे डुंगामा जोखिम मोलेर वारपार गर्नुपर्ने हुन्छ।
नगरपालिका ‘भन्न नसुहाउने’ यो गाउँ दूरीका हिसाबले भने सदरमुकामबाट नजिक छ। मुलुकमा आर्थिक समृद्धिका कुरा भइरहेका बेला त्यहाँ भने शौचालयसमेत छैन। नगरपालिकाले ६ महिनाअघि शौचालय बनाइदिन भनेर खनेका खाडल भत्किसकेका छन्। यो देखेर चुनावमा सुन्दर सपना देखाउने नेताहरूप्रति ‘रिस उठ्न थालेको’ यहाँका बासिन्दाले बताए।
‘नेताहरू देखेर रिस उठ्न थालेको छ, भनेको काम कहिलै पूरा गर्दैनन्,’ घजाई राजवंशीले घर अगाडिको अधुरो शौचालय देखाउँदै भने, ‘चुनावका बेला मात्र म गर्दिन्छु भन्छन्।’ प्रतिनिधि र प्रदेशसभाको निर्वाचन लागेसँगै गाउँमा सपनाको बाढी आएको छ, जति वर्षामा मेचीमा पनि आउँछ। गाउँमा पार्टीका झण्डा र चुनाव चिह्नसँगै ‘प्रलोभन’ पनि बाँडिएका छन्।
‘वर्षामा मेचीले हामीलाई नेपालबाट अलग गरिदिन्छ, भद्रपुर जान सक्दैनौं,’ जोसु राजवंशीले आफूहरूको समस्या सुनाए, ‘सानो काठको डुंगामा जोखिम मोलेर नदी पार गर्नुपर्छ।’ नदीमा झोलुंगे पुल बनाउन शिलान्यास गरेको चार वर्ष भयो। बल्ल वारि र पारि दुई पिलर बनेका छन्। ढिलै भए पनि मेचीमा पुल बन्न लागेकामा उनीहरूलाई खुसी त लागेको छ, तर त्यसको निर्माणमा भएको ढिलाइले दिक्क बनाएको छ।
लामो समय रोकिएको काम प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मुखमा फेरि सुरु भएको छ। ‘हामीलाई फकाउन भए पनि पुल बनाउने काम मंगलबारबाट सुरु भएको छ,’ तफलाल राजवंशीले भने, ‘जितेर नेताले काम गर्लान् भन्ने विश्वास लाग्दैन।’ यो पुल बनेपछि महेशपुर सदरमुकाम चन्द्रगढीसँग बाह्रै महिना जोडिनेछ। उनीहरूले खास अर्थमा नेपाली भएको महसुस गर्नेछन्।
महेशपुरमा बिजुलीको पोल गाडिएको दुई वर्षपछि यही तिहारमा बिजुली बल्यो। हाल नेताहरूले त्यो बिजुली आफूले बालेको भनेर दाबी गरेको स्थानीयले सुनाए। सानातिना विकासे कामको जस लिन नेताहरू लागेका छन्। सोझा र इमानदार मानिने राजवंशी र अन्यका ४२५६ मत तान्न नेताहरूको आवतजावत बाक्लिँदै गएको छ। यो राम्रै भोट बैंक हो। ‘भोट हाल्दिनुपर्यो भन्छन्, तर हामीलाई आशा जागेको छैन,’ मोहन राजवंशीले भने, ‘मीठा कुरा कसरी पत्याउनु ?’
सरकारको उपस्थितिका नाममा गाउँमा एक प्राथमिक विद्यालय, स्वास्थ्य इकाई र प्रहरी चौकी छ। यो सिंगै वडा पहिले गाविस थियो। वर्षामा बिरामी पर्दा उनीहरू उपचारका लागि सीमावर्ती भारतीय बजार जानुपर्ने अवस्था छ।
२०१५ सालदेखि मतदान गर्दै आएका ८४ वर्षीय खड्गसिंह राजवंशीको आक्रोश झन् चर्को छ, ‘नेताहरू जितेर भुँडी भर्ने काम गर्छन्, तर पनि भोट त हाल्नै पर्ला।’ नेताहरूले चुनावका बेला सक्नेभन्दा बढी आश्वासन बाँड्ने भएकाले मतदातामा अविश्वास बढदै गएको छ। कुनै बेला डाँकाको बिगबिगी हुने त्यस क्षेत्रमा प्रहरी चौकी स्थापना भएपछि भने त्रास हटेको स्थानीयले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।