राजनीति

सिरहा ३ मा प्रचण्डका प्रतिस्पर्धी र वीपीका चेलाको भीडन्त, कसले मार्ला बाजी?

कात्तिक २४, २०७४

    लहान : २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा सिरहा ५ बाट नेकपा माओवादी केन्द्र तथा पूर्व प्रधानमन्त्री प्रचण्डको प्रतिस्पर्धी नेकपा एमालेका लीलानाथ श्रेष्ठ बनेपछि देशव्यापी चर्चा भएको थियो।

    आगामी मंसिर २१ गते हुने प्रनितिधिसभा सदस्य निर्वाचनमा श्रेष्ठ माओवादी केन्द्रसहित बनेको वाम गठबन्धनको साझा उम्मेदवार बनेपछि चुनावी प्रतिस्पर्धा रोचक बनेको छ।

    प्रतिनिधिसभा सदस्यका लागि गोलबजार नगरपालिकाको १२, सिरहा नगरपालिकाको २२, नरहा, विष्णुपुर, अर्नमा गाउँपालिकाकाको ७ वडासहित ४१ वडा समेटेर कायम गरिएको क्षेत्र नं. ३ मा चार स्वतन्त्र गरी १३ उम्मेदवार चुनावी मैदानमा छन्। प्रतिनिधिसभा सदस्यको चुनावी दौडमा १३ जना उम्मेदवार भए पनि वाम गठबन्धनका श्रेष्ठ, नेपाली कांग्रेसका अमर रेग्मी र संघीय समाजवादी फोरम नेपालका अशेश्वर यादवबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

    वाम गठबन्धनबाट एमालेका उम्मेदवार बनेका श्रेष्ठ पछिल्लो स्थानीय तहमा पाएको मतसँगै जिल्लाको पार्टी नेतृत्व, तत्कालीन जिल्ला विकास समितिको उपसभापति र पार्टीको केन्द्रीय सदस्यको हैसियतले क्षेत्रका जनताका लागि गरेको काम नै आफ्नो जितको मुख्य आधार भएको बताउँछन्। त्यस्तै, लोकतान्त्रिक आन्दोलनका उपलब्धिहरुको संस्थागत विकास र सुदृढीकरणका लागि जिल्ला पार्टीमा रहेर आफूले निर्वाह गरेको भूमिकाको कारणले यो पल्ट मतदाता जनताले आफूलाई जिताउने दावी गर्छन्, कांग्रेसका उम्मेदवार रेग्मी।

    लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर दुई वर्षअघि फोरम प्रवेश केन्द्रीय सदस्यको रुपमा रहेका यादव ३ नं. क्षेत्रमा संगठनात्मक आधार र मधेशका लागि पार्टीले खेलेको भूमिकाकै कारणले आफूले चुनाव जित्नेका ढुक्क रहेका बताउँछन्।

    यस्ता छन् ३ नं. क्षेत्रका तीन प्रतिस्पर्धी?

    वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलनदेखि नै राजीनितक यात्राको थालनी गरेका वाम गठबन्धनका ६० वर्षीय श्रेष्ठ ५० को दशकदेखि विभिन्न भूमिकामा पार्टीको जिल्ला नेतृत्वमा रहेर काम गरेका व्यक्ति हुन्। सिरहाको गोलबजार नगरपालिका ७ घर रहेका श्रेष्ठ २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन सिरहा जिल्ला विकास समितिको उपसभापति चुनिएपछि राजनीतिक रुपमा लगतार अगाडि बढे। जिल्लामा एमालेको उपसचिव, सचिव हुँदै जिल्ला पार्टी अध्यक्षसमेत भएका श्रेष्ठको चर्चा २०७० को संविधानसभाको निर्वाचनमा चुलिएको थियो।

    त्यसअघि जिविस उपसभापति भए लगत्तै जिल्लाको पूर्वाधार विकासका लागि पाँच वर्षे योजना निर्माण र कार्यान्वयन, कमलाको बाढीले वर्षेनी जिल्ला सदरमुकाम सिरहासहित वरिपरिका तत्कालीन ८ गाविसले भोग्दै आएको डुवानको समस्याको अन्त्य, ३ नं. क्षेत्रमा आफ्नो पहलमा भएका विकास निर्माणको कामलाई स्थनीय जनताले सम्झिरहेको श्रेष्ठ बताउँछन्। ‘राजनीतिक सक्रियता, नीति निर्माण गर्ने थलो बन्ने प्रतिनिधिसभामा मेरो उपस्थितिले राम्रो भूमिका खेल्न सक्छ भन्ने ठहरसहित पार्टीले टिकट दिएको छ, त्यसमा गठबन्धन समेत रहेकाले मेरो जित निश्चित छ’ उनले भने।

    डाक्टरी पढ्न दरभङ्गाको सीएम कलेज लगिएका अमर रेग्मी कांग्रेस नेता वीपी कोइरालाको राजनीतिक व्यक्तित्वबाट प्रभावित भएपछि बनारसतिर हान्निए। २०१५ सालको आम निर्वाचनमा कांग्रेसबाट सांसद चुनिएका बाबु माधवप्रसाद रेग्मीले उनलाई डाक्टरी पढाउन चाहे तर वीपीको आदर्श र व्यक्तित्वबाट प्रभावित रेग्मी राजनीतिबाट नै समाजको उपचार गर्न सकिन्छ भन्ने लागेर २०३६ सालमा वीपीकै हातबाट कांग्रेसको सदस्यता लिएको बताउँछन्।

    २०१७ सालमा तत्कालीन राजा महेन्द्रको ‘रानीतिक कु’ पछि बाबुसँगै भारत निर्वासन रहेका उनी नौ वर्षपछि मात्र स्वदेश फर्किए। सिरहाको नरहा गाउँपालिका २ घर भएका ६४ वर्षीय रेग्मी बहुदलीय व्यवस्था पुनःस्थापना यता २०५३ देखि २०६३ सम्म पार्टीको उपसचिव, सचिव, उपसभापति हुँदै कार्यवाहक जिल्ला सभापतिसम्मको भूमिकामा रहेका थिए। २०६४ को आम निर्वाचनमा तत्कालीन सिरहा ६ नं. क्षेत्रबाट कांग्रेस उम्मेदवार बनेका रेग्मी पराजित भए। त्यसयता पार्टीको महासमिति सदस्य रहेका रेग्मी लोकतन्त्रप्रतिको निष्ठा र लोकतान्त्रिक आन्दोलनमा आफूले खेलेको भूमिकाको कारणले जनताले जिताउने विश्वास व्यक्त गर्छन्।

    जनकपुरस्थित रामस्वरुप रामसागर क्याम्पसमा नेविसंघबाट राजनीति शुरु गरेका अशेश्वर २०५३ मा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर क्याम्पसमा सभापति पदमा लडेका थिए। त्यताबाट फर्किएर २०६४ देखि पाँचवर्षसम्म राप्रपाको सिरहा जिल्ला अध्यक्ष, २०७० देखि ७२ सम्म केन्द्रीय सदस्य रहेका उनी २०७० को निर्वाचनमा क्षेत्र नं. ६ मा राप्रपाबाट छैठौं स्थानमा रहेका थिए। संविधान जारी भएसँगै सुरु भएको मधेस आन्दोलनको क्रममा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका उनी त्यसयता केन्द्रीय सदस्य छन्। ‘मेरो राजनीतिक निरन्तरता र पार्टीको संगठनात्मक कारणले निर्वाचन जित्छु’ उनले भने। 

    स्थानीय चुनावको मतमा वाम गठबन्धन अगाडि

    प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं. ३ मा रहेको गोलबजार, सिरहा नगरपालिकासहित नरहा, विष्णुपुर, अर्नमा गाउँपालिकाका ४१ वडामा माओवादी केन्द्र १२, कांग्रेस ११, एमाले र फोरमले ९/९ वडा जितेका छन्। क्षेत्र नं. ३ अन्तर्गत पर्ने ४१ वटै वडामा पछिल्लो स्थानीय तहको निर्वाचनमा एमाले १६ हजार तीन सय ४५, फोरम १४ हजार एक सय २८, कांग्रेस १२ हजार आठ सय ९४, माओवादी केन्द्र १० हजार सात सय ७० र राजपाले एक हजार सात सय ७८ मत ल्याएको छ।

    स्थानीय तहमा पाएको मतको आधारमा पनि वाम गठबन्धनका श्रेष्ठ अगाडि रहेको र कांग्रेस र राजपा एक्ला एक्लै चुनावमा भिडेकाले पनि श्रेष्ठको जित सहज हुने अनुमान गरिएको छ। ‘उम्मेदवारको व्यक्तित्व, जिल्ला र क्षेत्रको विकास अनि राजनीतिमा मुख्य प्रतिस्पर्धी उम्मेदवारहरुको भूमिकाले पनि कसले जित्छ भन्ने अनुमान लगाउन सकिन्छ’ चोहर्वाका रामकुमार सिंह भन्छन्। 

    यो पनि पढ्नुहोस् :

    सिरहा २ मा नवप्रवेशी र पूर्वसांसदको प्रतिस्पर्धा, को कति बलियो?

    सिरहामा कांग्रेस नेता प्रदीप गिरीलाई आफ्नै छिमेकीको चुनौती, कसको सम्भावना कति?

मणिलाल विश्वकर्मा

विश्वकर्मा थाहा खबरका सिरहा संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]