स्वास्थ्य

बुटवलमा डेंगु नियन्त्रण बाहिर

डेंगु नियन्त्रणका लागि विशेष अभियान

कात्तिक २४, २०७४

    रूपन्देहीः दिनैपिच्छे डेंगुका बिरामी बढ्न थालेपछि बुटवलमा डेंगुविरुद्ध विशेष अभियान सुरु गरिएको छ। बुटवल उपमहानगर र जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीको अग्रसरतामा बुटवलमा डेंगु रोग फैलाउने लामखुट्टे नष्ट गर्नेदेखि लिएर प्रत्येक घरघर पुगेर नागरिकलाई सचेत गराउने काम थालिएको हो।

    राजनीतिक दलहरू आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको तयारीमा रहँदा बुटवलवासी भने डेंगुविरुद्धको अभियानमा जुट्नुपरेको छ। 
    बुटवल उपमहानगरपालिकाको स्वास्थ्य टोली, वडा अध्यक्ष, प्रहरी, जनस्वास्थ्य कर्मचारी, स्वयंसेविका तथा टोल विकास समितिका सदस्यको सहभागितामा प्रत्येक घरघर पुगेर डेंगुबाट बच्ने उपायबारे सचेत गराउने अभियान चलाइएको छ। 

    शुक्रबारसम्म ५५० जनामा डेंगु संक्रमण भेटिएको लुम्बिनी अञ्चल अस्पताल बुटवलले जनाएको छ। 

    बुटवल उपमहानगरकी उपप्रमुख गोमादेवी आचार्यले डेंगुको कुनै विशेष उपचार नभएकाले नियन्त्रणमा समस्या भएको बताइन्। 

    वडा अध्यक्ष, स्वास्थ्य स्वयंसेविका र टोल विकास समितिलाई सक्रिय बनाएर लामखुट्टेको टोकाइबाट बच्न, वातावरण सफा राख्न र पानी जम्ने खाल्डाखुल्डी पुर्न उपमहानगरपालिकाले निर्देशन दिएको छ। 

    बुटवलमा डेंगुका बिरामी बढ्दै गएपछि अस्पतालमा समेत लामखुट्टे मार्ने औषधि छर्किने काम थालिएको छ। 

    अञ्चल अस्पताल बुटवलसहित बिरामीहरूको चाप भएका अस्पतालमा लामखुट्टे मार्ने औषधि छर्किने काम सुरु भएको अञ्चल अस्पतालका मेडिकल रेकर्ड अधिकृत लक्ष्मीराज रेग्मीले बताए। 

    उनका अनुसार डेंगु नियन्त्रणका लागि विगतमा थालिएका कार्यक्रमलाई अझ प्रभावकारी बनाउनेदेखि थप उपायहरू खोजी गर्दै अभियानलाई तीव्रता दिन थालिएको छ।

    रेग्मीका अनुसार संक्रमितहरू विभिन्न जिल्लाका पनि रहे पनि ८० प्रतिशत रूपन्देहीका रहेका छन्। त्यसमा पनि ७५ प्रतिशत बुटवलका छन्।  
    बुटवलबाट मंगलबार ३७ वटा नमुना परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। 

    रूपन्देहीका विभिन्न अस्पतालमा कार्यरत १२ जना डाक्टर तथा स्वास्थ्यकर्मीमा पनि डेंगुको संक्रमण देखिएको रेग्मीले बताए। 

    पछिल्ला दिनहरूमा दिन प्रतिदिन संक्रमण बढेपछि केही दिन अगाडि स्वास्थ्य मन्त्रालयको टोली पनि बुटवलमा आएर अध्ययन गरेको थियो।

    स्वास्थ्य मन्त्रालयका सचिव डा. किरण रेग्मीसहितको टोलीले अस्पतालमा छलफलसमेत गरेको थियो। अझै पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले बुटवलमा देखिएको डेंगुको बारेमा स्थलगत रूपमा निरीक्षण एवं अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रकोप व्यवस्थापनका लागि सक्रिय बन्दै
    डेंगुको प्रकोप बढेपछि स्थानीय तहमा डेंगु नियन्त्रणलाई प्रभावकारी बनाउन प्रकोप व्यवस्थापन समितिले पनि सक्रियता बढाएको छ। समितिले कार्यक्रम प्रभावकारी बनाउने निर्णय गरेको छ। प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वयंसेविकासहितको टोली व्यापक परिचालन गर्ने निर्णय भएको थियो र सोहीअनुसार कार्यक्रम भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख केयरसिंह गोदारले बताए।

    त्यस्तै, डेंगु नियन्त्रणका लागि टायरहरू बढी चुनौतीका रूपमा पाइएको भन्दै टायरको व्यवस्थापनमा लाग्ने निर्णय पनि गरिएको छ।  बुटवलमा रूपन्देहीसहित दाङ, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी, प्युठान, बागलुङ र रोल्पाका बिरामीहरूको उपचार भइरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]