छापा

अछामका कांग्रेस एमालेका दुई हार दुई जित, दुवै भन्छन् जित ‘सुनिश्‍चित'

कात्तिक २५, २०७४

    अछाम: १० मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिमको अछाम–१ मा राजनीतिक दलका उम्मेदवार गाउँगाउँमा प्रचार अभियानमा छन्। एमाले उपाध्यक्ष भीम रावल वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका कारण दुई निर्वाचन क्षेत्र रहेको अछाममा रावलको क्षेत्र बढी चर्चामा छ। कांग्रेस र वाम गठबन्धन दुवै पक्षका उम्मेदवारले चुनाव प्रचार अभियानलाई तीव्र पारेका छन्। उनीहरू घरघरै पुगेर मतदाता रिझाइरहेका छन्।

    ३६ हजार ६ सय ४९ महिला र ३१ हजार ९ सय ४३ पुरुष र एक तेस्रोलिंगी गरी जम्मा ६८ हजार ५ सय ९३ मतदाता रहेको यो क्षेत्रमा कांग्रेसका तर्फबाट जिल्ला सभापति भरतकुमार स्वाँरले रावललाई टक्कर दिइरहेका छन्।

    २०४९ मा जिविस सभापति भइसकेका स्वाँरको विद्यार्थी कालदेखिको राजनीतिक पृष्ठभूमि छ। उनले दोस्रो कार्यकाल कांग्रेस सभापतिको कार्यभार सम्हालिरहेका छन्। राष्ट्रिय राजनीतिमा प्रभावशाली छवि भएका रावलसँग उनको चुनावी मैदानमा पहिलो भेट हो।त्यसो त रावलको अछाम–१ को चुनावी प्रतिस्पर्धा आफैमा रोचक छ। एकपटक जित्ने र एकपटक हार्ने इतिहास बनाएका रावलले हरेकपटक कांग्रेस उम्मेदवारको सामना गर्नुपरेको छ। यसपटक पनि उनी कांग्रेससँगै टक्करमा रहँदा माओवादी केन्द्रको मत उनका लागि जितको बलियो आधार देखिन्छ ।

    अछाम–१ मा एमाले उपाध्यक्ष रावलको जितहारको रोचक इतिहास छ। २०४८ मा भएको निर्वाचनमा कांग्रेसका बलबहादुर कुँवरसँग पराजित भएका रावलले २०५१ को मध्यावधि निर्वाचनमा कांग्रेसकै गोविन्द शाहलाई पराजित गरे। २०५६ मा भएको निर्वाचनमा कांग्रेसका शाहले उनीसँग अघिल्लोपटकको बदला लिए। फलस्वरूप शाहले जित्दा रावल सांसद बन्नबाट वञ्चित रहे ।

    २०६४ को पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट उम्मेदवारी दिएका कारण रावलले यो क्षेत्रमा कांग्रेससँग टक्कर लिनुपरेन ।२०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका तत्कालीन पार्टी सभापति मेघराज खड्कालाई हराउँदै पुनः अछाम–१ मा जनप्रतिनिधिका रूपमा रावल उदाए। यो जितलगत्तै उनी एमाले उपाध्यक्ष पनि भए निर्वाचन जितेलगत्तै २०७१ असारमा भएको एमालेको नवौं महाधिवेशनबाट रावल उपाध्यक्षमा निर्वाचित भए।

    गत स्थानीय तह निर्वाचन परिणामअनुसार अछाम–१ मा कांग्रेस र एमालेको मत करिब उस्तै उस्तै छ। यहाँ माओवादी केन्द्रले एक तह एक्लै जितेको थियो। जहाँ प्रतिनिधिसभा चुनावका लागि अहिले एमाले उपाध्यक्ष रावल उम्मेदवार छन्। ६८ हजार ५ सय ९३ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा २०५४ देखि नै कांग्रेस र एमालेबीच कडा टक्कर हुँदै आएको छ।

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रको मत तानेर आफ्ना उम्मेदवार जिताउने कांग्रेसको रणनीति छ। तर यो सजिलो भने छैन ।‘अहिले नै आँकलन गर्न सकिन्न,’ माओवादीका जिल्ला संयोजक झपट साउदले भने, ‘नातागोताको भोट बाँडिने खतरा भने छ ।’ कांग्रेस र वाम दुवै पक्षले आँकलन गरेअनुसार सबै मत आफ्नो पक्षमा पार्न मुस्किल हुने उनले बताए। यो क्षेत्रमा माओवादी केन्द्रका ७ हजार बढी मतदाता रहेको आँकलन छ। गत २०७० को संविधानसभा निर्वाचनमा ११ हजार बढी मत ल्याएको माओवादीले स्थानीय तह चुनावमा करिब ७ हजार मत मात्र पाएको नेता दीपक साउदले बताए। त्यतिबेला एमाले उपाध्यक्ष रावल कांग्रेसका उम्मेदवार मेघराज खड्काभन्दा ४ हजार ७ सय ५७ मतअन्तरले विजयी भएका थिए। उनले १७ हजार ७ सय २५ मत ल्याएका थिए भने खड्काको मत १२ हजार ९ सय ६८ थियो। स्थानीय तह निर्वाचनमा भने कांग्रेसले कडा टक्कर दिएको थियो। ‘संगठन सुध्रिएको छ,’ कांग्रेस उम्मेदवार तथा पार्टी सभापति स्वाँरले भने, ‘यो ठाउँको विकास गर्ने हामी हौं त्यसैले अहिले हाम्रै पालो हो।’ एमालेले जनताका पक्षमा काम गर्न नसकेको उनको आरोप छ।

    कांग्रेस र एमालेले आफ्नै पक्षमा मत बढी रहेको दाबी गरे पनि स्थानीय तह निर्वाचनयता दुवै पार्टीको मत संख्या करिब उस्तै छ। वाम गठबन्धनमा रहेको माओवादी केन्द्रले आफ्नो मतको सुरक्षा गर्न नसके गठबन्धनलाई थप चुनौती बढ्ने खतरा छ। तर, उनीहरू यो कुरा मान्न तयार छैनन्। ‘जित सुनिश्चित छ,’ एमाले नेता कृष्णप्रसाद जैसीले भने, ‘हामी निश्चित जित्छौं, कुनै समस्या छैन, जित सुनिश्चित छ ।’

    दुई क्षेत्र रहेको अछाममा क्षेत्र नम्बर २ मा भने कांग्रेसका पूर्वपार्टी सभापति पुष्पबहादुर शाह र एमाले सचिव यज्ञ बोगटी प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन्। यहाँ कांग्रेसका बलबहादुर कुँवर र एमालेका बलबहादुर सोडारी प्रदेशसभाका लागि उम्मेदवार छन्। क्षेत्र नम्बर १ मा भने कांग्रेसबाट मेघराज खड्का र एमालेका गोविन्द कुँवर प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा छन्।

राजधानी दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित हुने ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]