काठमाडौँ : आगामी १५ वैशाखमा उपनिर्वाचन हुन लागेका २ निर्वाचन क्षेत्रमध्ये इलाम–२ अहिले चर्चा र चासोको केन्द्रमा छ। संविधानसभ...
सम्झनामा पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्ट
काठमाडौं : तीन पटकसम्म प्रधानमन्त्री र एकपटक मन्त्रीपरिषद्का उपाध्यक्षसमेत भएका कीर्तिनिधि विष्ट जीवनभर भारतविरोधी राजनितिज्ञको छवि बोकेर बाँचे। नेपालबाट भारतीय सेना र चेकपोष्ट हटाउन उनले राखेको अडानका कारण उनको यो व्यक्तित्व निर्माण भएको हो। तर उनी स्वयंलाई भने भारतविरोधी ठान्दैनथे। भन्थे, ‘म भारतविरोधी होइन, नेपालको पक्षधर हुँ।’
निधनको केही महिनाअघिमात्र थाहाखबरले राखेको जिज्ञासामा उनले भनेका थिए, ‘म भारतविरोधी होइन। यो मेरो बारेमा बनाइएको गलत धारणा हो। नेपाल र भारत अनेक–अनेक धर्म र संस्कृतिले बाँधिएका छिमेकी देश हुन्। त्यसैले नेपालले भारतबाट विमुख भएर बस्न कहिल्यै चाहेन पनि र चाहन्न पनि। तर एउटा कम्प्लेन वा मन नपरेको कुरा जे भन्नुस् , त्यो के भने भारतले जहिल्यै नेपाललाई सुरक्षा संवेदनशिलताको दृष्टिले हेर्छ। भारतले त्यो संकिर्ण दृष्टि राख्नुहुन्न।'
नेपालको चीनसँग पनि सीमा जोडिएको तर चीनले कहिल्यै त्यस्तो व्यवहार नदेखाएको उनको भनाइ थियो। उनले भने, ‘चीन आपत विपद पर्दा सधैं नेपालको साथमा छ। उनको भूमिका इतिहासमा अंकित छ। ’
भारतको लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रामा स्नातकोत्तर विष्टले डिल्लीरमण रेग्मी नेतृत्वको नेपाली राष्टिय कांग्रेस पार्टिबाट राजनीतिक जीवन शुरु गरेका थिए। २०१५ सालको निर्वाचनमा नेपाली राष्ट्रिय कांग्रेसले हार व्यहोरेपछि अलमलमा परेका विष्ट २०१७ सालमा भने राजा महेन्द्रलाई साथ दिने निश्कर्षमा पुगे। विष्टकै शब्दमा, यो त्यो समय थियो, जतिबेला नेपालको सुरक्षा जोखिम चरम संवेदनशील अवस्थामा थियो।
भारतका वरिष्ठ नेता सरदार बल्लभभाइ पटेलले नेपाललाई भारतको एक अंगको रुपमा राख्नुपर्ने धारणा राखिरहेका थिए भने तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु स्वंयमले भारतको उत्तरी सिमाना नेपालको हिमालय भएको बताइरहन्थे। यही समयमा चीनमा नयाँ शासन व्यवस्था उदय भएपछि एशिया क्षेत्रमा शक्ति सन्तुलनको लक्षण देखापर्यो। विष्टले भने, ‘तर ढुक्क हुने अवस्था थिएन।’
राजा महेन्द्रको शासन कालमा नै नेपालले जनगणतन्त्रवादी चीनसंग दौत्य सम्बन्ध स्थापित गर्नुका साथै संयुक्त राष्ट संघको सदस्य र असंलग्न राष्ट्रहरुको समूहको प्रतिनिधित्व एक सार्वभौम तथा स्वतन्त्र राष्टको रुपमा हुनाले नेपालको अस्तित्व र पहिचानमा ठूलो राहत मिलेको उनको भनाइ थियो। सन् १९५० को नेपाल भारत सन्धीलाई वेवास्ता गर्दै भारतले नेपाललाई आफ्नो सुरक्षा छाताभित्र राख्ने योजना बनाएपछि नेपालका लागि एकदम असहज स्थिति सिर्जना भएको विष्टले स्मरण गरेका थिए। ‘नेपालको उत्तरी सिमानामा भारतीय मिलिटरी मिसन र चेकपोष्ट राखेबाट समस्या बढेको थियो' विष्टले भनेका थिए।
भारत मिसन कसरी फिर्ता भयो भन्ने विषयमा उनले पुराना दिनहरु सम्झिएका थिए। उनका अनुसार भारतलाई दवाब दिन उनले आमसञ्चारलाई पनि हतियार बनाएका थिए। भारतले सो नहटाएमा आफूले तुरुन्त राजीनामा दिने घोषण गरेपछि भारतमाथि दवाब परेको उनले सुनाएका थिए। ‘मेरो पहल इन्दिराले मन पराउने कुरै भएन । उनले सोधिन् पनि, किन यत्रो हतार गरेर लाग्नुभएको?’ विष्टले ती दिनहरु सम्झने क्रममा भनेका थिए, ‘ मैले पनि प्रष्टसँग भनें, नेपालमा भारतको सेना रहने कुरा चीनसंगको सम्बन्धमा ठूलो अब्स्ट्रयाकलको रुपमा रहन्छ, फेरि हामीलाई लाग्छ कि भारत र चीन सँधैंका सत्रु पनि होइनन्। त्यसैले नेपाललाई अप्ठ्यारो नपार्दिनुस्।’
त्यतिखेर नेपालको राज्य सञ्चालनमा भारतको ठाडो हस्तक्षेप रहन्थ्यो। यहाँसम्म कि नेपाल सरकारको क्याबिनेट बैठकमा पनि भारतका प्रतिनिधि सहभागी हुन्थे। त्यहीमाथि नेपाली भूभागमा भारतीय सेना रहनुले भविष्यमा भारत र चीन सम्बन्ध कथं कदाचित बिग्रन गएमा नेपाल युद्ध भूमिमा परिणत हुनसक्थ्यो। ‘चेकपोष्ट र सेना नहटाए अनर्थ हुनसक्थ्यो, विष्टले त्यतिखेरको तनाव ताजा गर्दै भनेका थिए, ‘त्यसमाथि राजा महेन्द्रलाई सत्ता हातमा लिएकाले अन्तर्राष्ट्रिय समुदायको विरोध पनि सहनुपरिरहेको थियो। भारतसँग सुझबुझपूर्वक प्रष्ट कुरा राख्नैपर्थ्यो, सो राखियो। जे होस् कुटनीतिक पहलबाटै अन्ततः सन् १९६९ मा भारतीय शैन्य मिसन फिर्ता पठाइयो।’
आफ्नो स्पष्टवादिताबाट प्रधानमन्त्री गान्धी प्रभावित भएको विष्टले गर्वसाथ सुनाएका थिए। उनले भनेका थिए, ‘मेरो सम्मानमा नेपाली राजदूतावासले दिएको रात्रीभोजमा इन्दिरा पनि आएकी थिइन्। इन्दिरा त्यतिखेर भारतको प्रधानमन्त्रीमात्र होईन, एसियाकै शक्तिशाली नेतृ थिइन्।’
परराष्ट्र सम्बन्धका सन्दर्भमा पहिले आफ्नो स्वार्थबारे नेपाल स्वयं प्रष्ट हुनुपर्ने उनको धारणा छ। ‘के भारत के पाकिस्तान! छिमेकीसँगमात्र होइन, हामीले सिंगो विश्वसँग सम्बन्ध राख्नुपर्छ। उनीहरुका पनि स्वार्थ हुन्छन्, हाम्रो पनि हुन्छ। यो विचार गरेर अघि बढ्नुपर्ने कुरा छ। सबैभन्दा पहिले हाम्रो स्वार्थ के हो हामी आफैले चिन्नुपर्यो, त्यसपछिमात्र पाइला चाल्न सकिन्छ' जाँदाजाँदै विष्टका शब्द थिए, ‘एउटा सुझबुझले मात्रै नेपालको अस्तित्व जोगाउन सक्छ, नेपाललाई नयाँ दिशामा लैजान सक्छ।’ विष्टप्रति थाहाखबर डटकम हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।