काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
काठमाडौं : नेपाल प्रहरीका पूर्व डीआइजी तथा ललितपुर क्षेत्र नम्बर १ का वाम गठबन्धनका उम्मेदवार नवराज सिलवालले नेपाली कांग्रेसले लोकतन्त्रविरोधी गतिविधि गरेको आरोप लगाएका छन्।
शनिबार ललितपुरको गोदावरीमा आयोजित सभामा उनले वाम गठबन्धनसँग आत्तिएर कांग्रेसले लोकतन्त्र विराेधी गतिविधि गरिरहेको आरोप लगाएका हुन्। कांग्रेसका केही नेतृत्वले जनतालाई प्रलोभनमा पारेर जनताको मत किन्न खोजेको उनको दावी थियो। ‘म मतदाता कहाँ जाँदा बुझ्दैछु। कांग्रेसका उम्मेदवारहरुले गाउँगाउँ पैसा बाँड्नुहुन्छ रे’ उनले भने,‘मलाई मतदाताहरुले पनि भनिरहनुभएको छ। तर अब जनता आफ्नो मत पैसामा बेच्दैनन्।’
चुनाव हार्ने भएपछि व्यक्तिगत लान्छना लगाएर आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले प्रचार गरिरहेको उनले आरोप लगाए। उनले भने,‘अब चुनाव हार्ने भइयो भन्ने लागेपछि उदयजी भए/नभएको मेरो नराम्रो पक्षको प्रचार गर्न लाग्नुभएको छ। उहाँले मेरो नभएको कुरालाई भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्ने काम गर्नुभएको रहेछ। लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ।’
उनले चार वर्षमा कांग्रेस उम्मेदवार उदयशमशेरले ललितपुरको विकासमा केही गर्न नसकेको आरोप लगाए। ‘उहाँले ललितपुरको विकासमा के काम गर्नुभएको छ? उहाँ चुनावका बेलामा मात्र गाउँ पस्नुहुन्छ’ सिलवालले भने,‘मैले मतदातालाई पनि सोधे। आफ्नै प्रतिनिधिलाई उहाँहरुले चिन्नु हुँदोरहेनछ। जनताले हामी चिन्दैनौं रुखमा भोट हालेको हो भन्नुहुन्छ।’ उनले मंसिरमा हुने चुनावमा आफ्ना कारण राणा समेत चर्चामा आएको दावी गरे। सिलवालले भने,‘अहिले ललितपुर १ धेरै चर्चामा आउने क्षेत्रमा गनिएको छ। मेरा कारणले उदयजी चर्चामा आउनुभयो। नभए हिजोसम्म उहाँलाई कसैले चिन्दैन थिए।’
उनले कांग्रेसका उम्मेदवारहरुलाई जनता माझ निश्चित एजेण्डा लिएर जान आग्रह गरे। ‘उहाँहरु जनता माझ पैसा लिएर जानुहुन्छ’,उनले भने,‘उहाँहरुलाई मेरा आग्रह छ। जनता माझ पैसा लिएर होइन एजेण्डा लिएर जानुहोस्।’
सिलवालले केही समयदेखि कांग्रेसले राजनीतिक संस्कारबाट गिरेर काम गरिरहेको आरोप लगाए। उनले भने,‘अब कांग्रेसले लोकतन्त्रलाई अगाडि बढाउन सक्दैन। खाली जनता झुक्याउने काम मात्र गरिरहेको छ।’ उनले चुनाव प्रचारका क्रममा ललितपुरमा कांग्रेसले आचारसंहिता उल्लंघन गरिरहेको बताए। उनले भने, ‘सार्वजनिक ठाउँमा झण्डा राख्ने, बिजुलीको पोलमा झण्डा राख्ने जनतालाई पैसा बाँड्ने काम गरेर कांग्रेसले आचारसंहिता उल्लंघन गरेको छ। एउटा लोकतान्त्रिक पार्टीले गर्ने चरित्र यही हो?’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।