विचार

मैले सोचेभन्दा भिन्न पञ्च नेता, कीर्तिनिधि विष्ट

कात्तिक २५, २०७४

    हिउँदको महिना २००९ मा म चीनको कुइलिनमा थिएँ| मैले सूचना पाएँ, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट भोलि विहान चीन भ्रमणको क्रममा ग्वान्जाओ आउँदै हुनुहुन्छ। म पेशागत कुटनीतिज्ञ थिइनँ। तैपनि म ठान्थें, शक्तिको पूजामा मात्रै लिप्त हुने र देशभित्रको राजनीतिक भिन्नतालाई दिमागमामा राखेर काम गर्नु कुशलता होइन। नैतिक मूल्यको प्रदर्शन पनि हो कुटनीति।

    उनलाई स्वागत गर्न बेलुकै गाडीमा त्यतातिर हाँकिएँ। विहान मिरमिरेमा बल्ल एयरपोर्ट पुगें। नेपालबाट आएको एयर चाइनाको स्थिति बुझें, प्लेन आइसकेको रहेछ र चेकिङ अझै भइनसकेको।  मैले त्यसै प्लेनको हत्त न पत्त टिकट काटें र चेकिङतिर अघि बढेँ। अब मेरा नजर यता उता कीर्तिनिधि विष्टको खोजीमा ब्यग्र थिए। अन्ततः एउटा कोठामा अरु दुई जना नेपाली साथीका साथमा बसिरहेको देखें। फुरुंग हुँदै भित्र पसें र नमस्कार गरें। आश्चर्यचकित हुँदै उनी उठे र 'तपाई पनि यहाँ!' भन्दै अंगालो हाले।

    'म फगत तपाईलाई नै स्वागत गर्न आएको' भन्दै सारा बेलीबिस्तार लगाएँ। सायद उनलाई पत्याउन गाह्रो थियो। तैपनि नियति यही थियो। एकै छिनमा चेकिङको सूचना आयो र हामी त्यतैतिर लाग्यौं। उनले हरियो पासपोर्ट गोजीबाट निकाले र सुरक्षा अधिकारीलाई देखाए। क्रस बनाएर तिनले जाँच गरे। मेरो रातो पासपोर्ट।

    बिना त्यो झन्झटभित्र छिर्न दिए। उनको जाँच भइरहेको बेलामा संकोचसहित ट्वाल्ल परेर हेरेको देखेर होला जाँचकै क्रममा उनले भने, 'म अब राजकीय अधिकारी होइन र हुनु पनि छैन। मैले साधारण नागरिक सरह जिउनुपर्छ। मलाई पनि रातो पासपोर्ट दिन्थे होलान् तर मैले त्यो आशक्ति देखाइन।'

    उनको यो जीवन मूल्य, तमासाशून्य जीवन मेरो दिमागमा उपस्थित नेताभन्दा आनका तान भिन्न थियो। मेरो उनीसंगको यो दोस्रो भेट थियो। राजदूत भएर बेइजिङ जानुअघि म उनका सुझाव र सल्लाह लिन पहिलो पल्ट उनको निवासमा पुगेको थिएँ। भेट्नुअघि मैले 'पन्च नेता'को जुन शान शौकत सोचेको थिएँ सब उल्टो- सामान्य, मध्यम वर्गीय परिवार।

    ठ्याक्कै उस्तै भन्न मिल्ने लोकेन्द्र बहादुर चन्दको। चन्द जब बोल्छन्, लाग्छ, अर्को पक्षलाई आग्रह गरिरहेका हुन्छन्, छालको आवाज भन्दा उँचो स्वरले बोल्नुहुँदैन, किनभने त्यसको मोहकता भंग हुन्छ। प्रशान्त उनी।

    विष्ट भिन्न थिए, जब उनी बोल्थे, आगो उकेलिरहेका हुन्थे। विद्रोही उनी। भेट्नुअघि विष्टका ममा दुईवटा प्रभाव थिए। नेपालबाट भारतीय सैनिक चेकपोष्ट हटाउन उनले स्तुत्य अग्रसरता देखाएका थिए। 'भारतीय विस्तारवाद'को विरोधमा हुर्केकाहरु समेत लम्पसार परेको परिप्रेक्षमा उनको त्यो कदम लर्तरो कदापी थिएन- एक स्वतन्त्र राष्ट्रको गरिमा प्रतिदानको रुपमा उनले हामीलाई छोडेर गएका छन्।

    अर्को कुरा, २०३० साल असार २५ मा सिंहदरबारमा आगजनी हुँदा उनले नैतिकताको आधारमा राजिनामा दिए। त्यो घटना स्मरण गर्दै उनले मलाई बताएका थिए, 'राजाले फिर्ता लिन भन्दै भनेका थिए, 'तिम्रो के दोष र?!' तर मैले मानिन।'

    लालची राजनीतिक दुनियाँमा यो निष्प्रियता आफैमा लरतरो कुरो हो र? बिहानको ११.३० तिर हामी बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियौं। त्यहाँ उनलाई लिन न कुनै चिनियाँ थिए न आफन्त नै। हामीसंगै निस्कियौं र मैले उनलाई दूतावास नजिकै उनका नातिकहाँ छोडिदिएँ। भोलिपल्ट उनलाई सियान जानु थियो। मैले आफै गएर एयरपोर्टसम्म छोडे र पछि लिन पनि पुगें।

    सियानबाट फर्केपछि चिनियाँ जन राजनीतिक परामर्शदात्री सभा (माथिल्लो सदन) का उपाध्यक्षले उनको सम्मानमा रात्रिभोजको निम्ति निम्त्याए। हामी दुई जना थियौं। उनले मित्रता खातिर आफ्नो मुलुकलाई विना हिचकिचाहट दिल फुकाएर सहयोग गर्न जुन लवज र साहसका साथ कुरा गरे त्यो साहस 'औपचारिकता' भित्र हुनै सक्दैन। राष्ट्र प्रतिको अगाध प्रेमले उनमा त्यो साहस आएको हुन सक्छ।

    उनको देशभक्ति प्रति मैले आफ्नो शिर निहुर्‍याएको छु। आज ती प्रतिवद्ध देशभक्त हामी सबैबाट सदाका निम्ति विदा भएका छन्। यो रिक्तता आफैमा अपुरणीय हो। भावपूर्ण श्रद्धान्जली कीर्तिनिधि विष्टज्यू! राष्ट्रको हितका खातिर तपाईले लाउनुभएको गुनलाई नेपाली र नेपाली राष्ट्रले कहिल्यै बिर्सने छैन।

टंक कार्की

लेखक चीनका लागि नेपालका पूर्वराजदूत हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]