छापा

एमाले–माओवादी एकीकरण चुनावअगावै, ९ मंसिरमा घोषणाको तयारी

कात्तिक २६, २०७४

    काठमाडौं : वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका एमाले र माओवादी केन्द्रबीच १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ।

    निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रूपमा एकताको भावना मजबुद बन्दै गएको निष्कर्षसहित शीर्ष नेताहरूबीच ९ मंसिरमा पार्टी एकीकरण घोषणाको अन्तिम तयारी भइरहेको हो।

    निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा बाहेक अन्य स्थानमा पहिलो चरण निर्वाचनको मौन अवधिमा पनि सभासमारोह गर्न, दलहरूबीच एकता या गठबन्धन गर्न आचारसंहिताले नरोक्ने जवाफ दिएपछि दुई पार्टी पहिलो चरणअगावै एकता घोषणाको तयारीमा जुटेका हुन्।

    निर्वाचन प्रचार अभियानबीच दुवै पार्टीका शीर्ष नेताहरू फोन, गोप्य भेटघाटमार्फत एकता घोषणालाई अन्तिम रूप दिन छलफल गरिरहेका छन्।

    पार्टी एकता तयारीका लागि बनाइएको उच्चस्तरीय एकता संयोजन समिति र कार्यदलमार्फत दुई पार्टीबीच रहेका सैद्धान्तिक र नीतिगत मतभेदसहित नेतृत्व र नेता व्यवस्थापनका विषयमा अन्तिम चरणको कुराकानी भइरहेको एमालेका एक शीर्ष नेताले बताए।

    पहिलो चरणको निर्वाचन मिति सम्मुखमा पार्टी एकीकरणको घोषणा गर्न दुवै पार्टीका शीर्ष नेता लागि परेका छन्। स्रोतका अनुसार उनीहरूले पहिलो चरणको निर्वाचनबाटै वाम गठबन्धनको उम्मेदवारको पक्षमा अत्यधिक मत खसोस्, कार्यकर्ता तहमा विश्वास पैदा होस् भन्ने उद्देश्यका साथ पार्टी एकीकरणको घोषणा गर्न लागेका हुन्।

    ‘समयमै पार्टी एकीकरणको घोषणा भए गठबन्धनको पक्षका दुई तिहाइ पुग्न सक्ने आँकलन गर्दै दुवैतर्फका नेताकार्यकर्ता एक ढिक्का भएर निर्वाचनमा लाग्न प्रेरित होऊन् भन्ने उद्देश्य राखिएको छ,’ एमाले उच्च स्रोतले भन्यो, ‘पहिलो चरणको मतदान हुन नपाउँदै पार्टी एकीकरणको घोषणा भए त्यसले दोस्रो चरणको निर्वाचनमा समेत प्रभाव पार्नेछ।’

    माओवादी केन्द्रका शीर्ष तहका नेताहरूसमेत घोषणाको तयारी भइरहेको बताउँछन्। पहिलो चरण निर्वाचन आउन दुई साता बाँकी रहँदा निर्वाचन प्रचारका कामलाई तीव्रता दिनुपर्ने भएका कारण संयोजन समिति र कार्यदलका केही नेता व्यस्त भएपछि शीर्ष नेताबीच एकता घोषणाको तयारीलाई अघि बढाइएको उनीहरू बताउँछन्।

    पार्टी एकीकरणको घोषणाअघि समानुपातिक उम्मेदवारहरूको व्यवस्थापन तथा पार्टी शीर्ष नेताहरूको व्यवस्थापन र नेतृत्वका विषयमा छलफल भइरहेको छ। पार्टी एकीकरणका लागि बनेको एकता कार्यदलले अहिले सो विषयलाई कसरी टुंगो लगाउने भन्नेबारे छलफल गरिरहेको छ। घोषणापछि नेतृत्व कसरी र कसले गर्ने भन्ने विषयलाई भने नेताहरूले अझै गोप्य राखेका छन्।

    एकता संयोजन समितिमा एमालेका तर्फबाट पार्टीअध्यक्ष केपी ओली, पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल छन्। माओवादी केन्द्रका तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। यो समितिमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसमेत सदस्य थिए।

    एकीकरणको सैद्धान्तिक मस्यौदा तयार गरेर चुनावको सम्मुखमा एकीकरण घोषणा गर्ने लक्ष्य राखिएको स्रोतले दाबी गरेको छ। ‘तत्काल केही बँुदामा पार्टीको सैद्धान्तिक मस्यौदा बन्नेछ, त्यसैको आधारमा सम्भवतः ९ गते पार्टी एकीकरणको घोषणा हुनेछ,’ स्रोतले दाबी गरेको छ।

    ‘चुनावी सभाहरूमा निर्वाचनपछि वामपन्थीहरू एकता भनिए पनि कार्यकर्ताले तत्काल विश्वास नगर्दा चुनावमा समेत असर पर्नसक्ने अवस्थालाई मूल्यांकन गरी एकीकरणको घोषणा हुन लागेको हो,’ एमाले उच्च स्रोतले भन्यो, ‘एकीकरण घोषणा भए दुई तिहाइको सम्भावना हुन्छ।’

    निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल निर्वाचन हुने जिल्लाबाहेक अन्य जिल्लामा मौन अवधि लागू नहुने बताउँछन्। उनले ३२ जिल्लाबाहेकका स्थानमा दलहरूले ९ मंसिरमा पनि सभा सम्मेलन गर्न सक्नेछन्।

राजधानी दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित हुने ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]