थाहा संवाद

रिङबाहिरबाट लडेँ, अब रिङभित्रै पस्नुपर्‍यो : दमननाथ ढुंगाना

कात्तिक २६, २०७४

    भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिभासमा नेपाली कांग्रेसका उम्मेदवार बनेका छन् दमननाथ ढुंगाना। २०४८ सालको संसदको सभामुख, माओवादी युद्धमा रहेका बेला वार्तामा ल्याउने सहजकर्ता र नागरिक समाजका प्रवुद्ध व्यक्तित्व ढुंगाना २० वर्षभन्दा बढी समयपछि फेरि दलीय राजनीतिमा आएका छन्। २०५१ सालको मध्यावधि निर्वाचनमा पराजय व्यहोरेपछि सक्रिय राजनीतिबाट अलग रहेका ७६ वर्षका ढुंगाना आफू बुढो नभई पाको भएको दावी गर्छन्। आफ्नो पाकोपन र अनुभवीपन अबको संसदमा उपयोगी हुने उनको दावी छ। भक्तपुरमा चुनाव प्रचारप्रसारमा व्यस्त रहेका ढुंगानासँग मध्यपुर थिमीमा शनिबार थाहाखबरका विनोद ढकाललक्ष्मी गारुले गरेको अन्तर्वार्ताको संक्षेप :   

    तपाईं २० वर्षपछि फेरि सक्रिय राजनीतिमा आउनुभयो। राजनीतिको त्यस्तो के तत्वले तपाई यसतर्फ फेरि आकर्षित हुनुभयो?

    तपाईले २० वर्षपछि राजनीतिमा आएको भन्नुभयो, तर म राजनीतिमा नै थिएँ। खाली दलीय राजनीतिमा नभएको मात्र हो। प्रजातन्त्र सुदृढिकरण गर्ने सबै काम राजनीति नै हुन्छ। म दलबाहिर भए पनि प्रजातन्त्र नै सुदृढ गरिरहेको थिएँ। नागरिक समाज लोकतन्त्रको ठूलो आधारस्तम्भ हो, जहाँ नागरिक समाजले खबरदारी गर्न जानेको हुन्छ। त्यहाँ सरकार, संसद लगायत राज्यका सबै काम कारबाही जवाफदेहीपूर्ण हुन्छ। म त्यही गरिरहेको थिएँ।

    माओवादीहरु युद्धमा रहेका बेला दलहरुले शान्तिका लागि आउ भन्नुभन्दा पहिला नागरिक समाजले नै आह्वान गरेको थियो। २०५८ सालमा शेरबहादुरजी प्रधानमन्त्री हुँदा नै म र मेरो साथी पद्मरत्न तुलाधरजी पहिलोचोटी सहजकर्ता भएका थियौं। अहिले दलहरुले माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन प्रयास गरेको भने पनि त्यसको आदिपुरुषहरुमा हामी नै थियौं। 

    तपाईलाई दलीय राजनीतिमा नै आउनचाहिँ तपाईलाई के ले आकर्षित गर्‍यो

    मैले दललाई सुदृढिकरण गर्ने, लोकतन्त्रलाई सुदृढिकरण गर्ने, परिवर्तनलाई जनतामा पुर्‍याउने काम गरिरहेको थिएँ। यत्रो ठूलो परिवर्तन भए पनि यत्रो विकृति कसरी आयो भन्ने कुरामा म लडिरहेको थिएँ। अहिले मलाइ चेतना के भयो भने यो रिङबाहिर (मैदानबाहिर) लडेर हुँदैन, रिङभित्रै पस्नुपर्‍यो।

    एक समय मैले के देखेको थिएँ भने रिङभित्र लड्नुभन्दा रिङबाहिर लड्नु जरुरी छ। फराकिलो मैदानमा खेल खेल्न जरुरी छ भनेर म बाहिर निस्किएँ। तर अहिले के लाग्यो भने फराकिलो साँघुरोको मतभेद होइन, राज्यको वैधानिक निकायमै पस्नुपर्छ। संसदको रिङभित्र पस्नु मैले दरकार देखेँ। किनभने परिवर्तन आयो तर त्यो जनतामा पुगेको छैन। कुनै पनि परिवर्तन जनतामा पुगेन भने त्यो टिक्न सक्दैन।

    अहिले नागरिक समाज कमजोर भए, त्यसैले राज्य सञ्चालन गर्नेहरु स्वेच्छाचारी भए भन्ने आवाज उठिरहेको छ। तपाई झन् रिङबाहिर भएको मान्छे पनि राज्यको वैधानिक निकायभित्रै जाने त

    नागरिक समाजलाई कमजोर कसले पारेको छ भने दलले पारेको छ। दललाई शुद्धिकरण गर्न म रिङभित्र पस्दैछु। नागरिक समाज सँधै सक्रिय हुँदैन। इस्यू इस्यूका बेलामा मात्र सक्रिय हुन्छ। कतिपय इस्यूमा उनीहरु आफै शक्तिको दौडमा हिँड्ने गर्छन्। उनीहरु मूल्य मान्यतामा विश्वास गर्छन्। यो देशमा प्रजातन्त्र स्थायी होस्, मूल्य मान्यताको राजनीति होस्, सदाचार होस्, भ्रष्टाचार नहोस्, राष्ट्रियता बलियो होस् भनेर नागरिकले चाहेका हुन्छन्।

    यस्ता विषयमा खबरदारी गर्ने र भोलिको सन्तानलाई सुदृढ प्रजातन्त्र जिम्मा लगाउने काम नागरिक समाजले गर्छ। त्यो काम मैले गरिरहेको थिएँ। तर दलहरुलाई काम पर्दा नागरिक समाज भन्ने काम नपर्दा वास्ता नगर्ने भयो। दलहरुले नागरिक समाजलाई संविधानसभामा पनि आफ्नै कोटाभित्रबाट मात्र लग्नुभयो। असली मानेमा नागरिक समाजको प्रतिनिधित्व (संविधानसभामा) नै भएन।

    जुन नागरिक समाजले लडेर दलहरुलाई स्थापित गर्‍यो, त्यही नागरिक समाजप्रति दलहरु संकीर्ण रहे। त्यसैले म अब संसदभित्र संघर्ष गर्छु। संसद भनेको रिङ हो, जनताको प्रतिनिधित्वको थलो हो। कुनै पनि खेलाडीले मैदानमा नै पसेर खेल्नुपर्छ। म ठूलो मैदानमा बसेर खेलिरहेको थिएँ। अब विधिवत मैदानमा प्रवेश गरेको छु। 

    आफ्नो उमेरका कारण पनि तपाई त्यो खेल खेल्न कत्तिको सक्षम हुनुहोला?

    म सक्छु भन्ने विश्वास छु। म आफूलाई बुढो भन्दिन, पाको भन्छु। म हिजोभन्दा पाको भएर संसद फर्किदैछु। वृद्धले मात्र नसक्ने हो, पाकोले सक्छ। ९० वर्षको मान्छेले पनि मार्गनिर्देशन दिने सल्लाह दिने जिम्मेदारीको काम गर्न सक्छ।

    २० वर्षपछि मत माग्न जानुभएको छ। आफ्नो लागि मत माग्दा कस्तो अनुभूति हुँदो रहेछ?

    समाज २५ वर्षमा कसरी बदलिएछ, युवा पुस्ता कसरी बदलिएछ, उसको मूल्य मान्यता धारणा के भएछ, मैले यसरी समाज बदलिएको छर्लंङ्ग देखेको छु। मैले २०४८ सालमा चुनाव लडेको र अहिलेको अनुभव धेरै भिन्न छ। अहिले युवा धेरै परिचालित छ, धेरै आकांक्षी छ। उसले एउटा प्रश्नको जवाफ खोजिरहेको छ कि, किन मेरो देश विकसित भएन? त्यो प्रश्नको जवाफ यो चुनावले दिन परिरहेको छ। नेपालमा किन प्रजातन्त्र किन स्थायी भइरहेको छैन? भारतको हुने चीनको हुने नेपालको मात्र किन नहुने? हाम्रो राजनीतिमा दोष छ कि नेतृत्वमा छ कि पद्धतिमा छ कि संस्कृतिमा छ? यसको उत्तर देशवासीले खोजिरहेका छन्।

    मेरो उम्मेदवारीको दुई पक्ष छ, एउटा यो संविधानलाई परिस्कार गर्ने र अर्को नेपाल किन पछि पर्‍यो भन्ने कुराको जवाफमा युवाहरुलाई सम्मिलत गरेर एउटा सुरक्षित लोकतन्त्र नयाँ पु्तालाई जिम्मा लगाउने। यस्तो लोकतन्त्र जसका निम्ति युवाले फेरि लड्नु नपरोस्। हाम्रो पुस्ताले पटक पटक प्रजातन्त्रको लागि संघर्ष गरेको हो। त्यो फेरि नदोहोरियोस् भन्ने मेरो लडाईं हो।  प्रजातन्त्र मार्फत छिटो विकास होस्। त्यसका लागि निश्चय नै बहुमतको सरकार चाहिन्छ। तर प्रतिपक्ष र सरकार पनि सँगसँगै मिलेर काम गर्नुपर्छ। त्यो राष्ट्रिय सहमतिको संस्कार बनाउने काममा म संसदमा उपयोगी हुनेछु। 

    युवाको कुरा पनि गर्नुभयो। तपाईका प्रतिस्पर्धी एमालेका महेश बस्नेत र नेपाल मजदुर किसान पार्टीको अनुराधा थापामगर पनि युवा नै हुनुहुन्छ। उहाँहरुलाई कसरी लिनुहुन्छ?

    उहाँहरु प्रतिस्पर्धामा आउनुभयो। म स्वागत गर्छु। तर उहाँहरु पटक पटक फेरि नेतृत्वमा आउन सक्नुहुन्छ। म त यो पालिबाहेक सक्दिन। सायद जनताले उहाँहरुलाई तिमी पछिका लागि बस, अहिले यो पाको मान्छेलाई पठाउ भनिरहनुभएको छ भन्ने मैले बुझेको छु। उहाँहरुले पनि त्यो सन्देश बुझिदिए राम्रो हुन्थ्यो।

    तपाई २०४८ सालमा विजयी हुनुभयो भने २०५१ सालमा पराजित हुनुभयो। त्यो बेलामा चुनाव लड्दाखेरि र अहिले के भिन्नता पाउनुभयो

    त्यो बेला नेपाल बल्ल नेपाल बन्द समाजबाट खुला समाजतिर जाँदै थियो। युवा वर्ग पनि त्यति खुलेका थिएनन्। अहिले मैले युवाहरु धेरै खुला पाएँ। आइटी सम्बन्धी ज्ञान र प्रविधि सिकेका धेरै स्मार्ट पाएँ। धेरै जिज्ञासु पाएँ, मेरो देश किन विकसित भइरहेको छैन मेरो राजनीति किन विकसित भएको छैन? साथसाथै मैले खर्चको प्रभाव पनि धेरै नै बढेको पाएँ। चुनाव खर्चालु भयो। एउटा दलित उम्मेदवारले भनिन्- हामी गरिबले कसरी चुनाव लड्ने?

    निर्वाचन आयोगले पनि २५ लाखसम्मको सिलिङ दिएको छ। कानुनले तोकेको योग्यता पुगेको हरेक व्यक्ति उम्मेदवार बन्न सक्छ। तर २५ लाखको सिलिङ  तोकिएपछि त्यो गरिबले कसरी खर्च गर्ने? सायद उसले उम्मेदवारीको खर्च पनि दाखिल गर्न सक्दैन। त्यसैले हामीले निर्वाचन पद्धति  आदि विषय संविधानमा सुधार गर्नुपर्छ। पैसा नभएर चुनाव अड्किने, पैसाको बलमा चुनाव लड्ने,  भ्रष्टाचारी र सदाचारीबीच चुनावी युद्ध हुने जस्ता कुराले प्रजातन्त्र बलियो पार्दैन। 

    दलहरुले अहिले गठबन्धन बनाएर चुनावमा गएका छन्। यसलाई तपाईले कसरी मुल्याङ्कन गर्नुभएको छ?

    कतिले यसलाई सत्ताको तालमेलको गठबन्धन भनेका छन्। गठबन्धन केही खुकुलो पनि देखिएको छ। तर यदि वामपन्थी दलहरु एक हुने हो भने, प्रजातन्त्रप्रति आस्था जनाउने हो भने हामी प्रजातन्त्रवादीहरु साच्चै स्वागत गर्छौं। बहुदल चाहिन्छ, तर धेरै दल हुँदा पनि प्रजातन्त्र विकसित हुँदैन।

    नेपाली कांग्रेसको नेतृत्वमा मधेसी दल र गैर वामपन्थी दल बसेको एउटा बलियो सशक्त लोकतान्त्रिक दल र वामहरुको दल भयो भने राष्ट्रलाई  हामीले सोचेजस्तो अवस्थामा पुर्‍याउन सकिन्छ। तर कम्युनिष्टहरु वास्तवमा कम्युनिष्ट भएर आउनुपर्‍यो। प्रजातन्त्रप्रति जसरी एकथरीले शंका गरेका छन्, त्यो मेटाएर आउनुपर्‍यो।

    स्थानीय तहको निर्वाचनमा भक्तपुरमा कांग्रेसले एउटा स्थानीय तहमा उपप्रमुखमात्र जित हासिल गर्‍यो। यस्तो अवस्थामा तपाईको जित्ने आधार के के छ

    स्थानीय तहमा मतदाताले जे निर्णय गर्नुभयो, त्यो आफ्नो विवेकले गर्नुभयो होला। म स्वागत गर्छु, म लोकतन्त्रवादी भएकाले लोकतान्त्रिक शक्तिमा विश्वास गर्छु। जुन दलबाट जितेको भए पनि ती हाम्रा प्रतिनिधि हुन्। तर अहिले हुने चुनाव छुट्टै र विशिष्ट कोटीको हो। त्यसैले पुरानो नतिजाले अहिले प्रभाव पार्दैन।

    भक्तपुर सधैं नै लोकतन्त्रको गढ हो। लोकतन्त्रको संस्कृतिमा धेरै धनी जिल्ला हो। त्यसकारण कुन तहको के महत्व छ, कसलाई कहाँ भोट दिनुपर्छ, केन्द्र र प्रदेशमा कसलाई पठाउनुपर्छ? भनेर बहुत जान्ने विवेकी जिल्ला हो। संघीय चुनाव के हो प्रदेश चुनाव के हो, स्थानीय चुनाव के हो भन्ने उहाँहरुले बुझ्नुभएको छ। स्थानीय चुनावबाट पाठ लिएर अहिले सबै भोट प्रजातन्त्रवादीहरुमा दिनुहुन्छ भन्ने विश्वास छ।

    उम्मेदवार चयनमा भक्तपुरमा कांग्रेसभित्र पनि धेरै विवाद थियो। त्यो विवाद समाधानका लागि तपाईलाई उम्मेदवार बनाइएको हो भन्ने चर्चा पनि छ नि

    म उम्मेदवार हुनुभन्दा पहिले भएको द्वन्द्व थाहा छैन। उम्मेदवार भएपछि त द्वन्द्व छ भन्ने थाहा पाएको नै छैन। कहिँ पनि छैन, सबै द्वन्द्वले विश्राम लिइसक्यो। केन्द्रले उम्मेदवार पठायो भनेर सबैले स्वीकार गर्नुभयो। जुन किसिमले मेरो उम्मेदवारी स्वीकार भयो नेपाली कांग्रेस भक्तपुर जिल्लाबाट म अनुगृहित छु। 

    जिल्लाको कार्यकर्ता र नेताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ?

    आहा केन्द्रले बहुत राम्रो, हामीलाई चाहिनेजस्तो उम्मेदवार पठाइदियो भनेर सबै खुशी हुनुभएको छ। म उम्मेदवार हुन्छु भन्दा मलाई घरमा पनि हतोत्तसाही गरे। यो उमेरमा चुनाव लड्ने भनेर। गर्दै रहुन् भनेर कस्तो छ दमननाथको भित्रको जोश र जाँगर यिनीहरुलाई के थाहा, भनेर म वुद्ध निस्केजस्तस्तो घरबाट निस्किएँ।

    म जतिजति भक्तपुर आएर जनतालाई भेटेँ, मलाई जाँगर आइरहेको छ। मेरो अनुहार उज्यालो, म जवान भइरहेको छु, म लाहुरेजस्तो भइरहेको छु। उम्मेदवार हुनुभन्दा अगाडिको झ्याउरे अहिले लाहुर भएको छु। तर धनसम्पत्ति छैन। लाहुरेको दुईवटा काम हुन्छ। एउटा कमाएर ल्याएको धन हुन्छ। अर्को फुर्तिफार्ती हुन्छ। फुर्तीमा म लाहुरे छु। धनसम्पत्तिमा मेरो झोला खाली छ। 

    भनेपछि तपाईलाई उम्मेदवार बनाउनु भक्तपुरमा कांग्रेसभित्रको द्वन्द्व समाधानको उपाय रहेछ होइन त

    म द्वन्द्व नै थाहा नपाउनेले के भन्नु? अहिले त मैले केही देखेको छैन। जताततै एकतै एकता, मेलमिलाप देखेको छु। हामी सबै सँगसँगै हिँडेको छौं। द्वन्द्वको एउटा झिल्को पनि देखेको छैन। 

    नेमकिपाले साथ दिने कुरा पनि चलेको छ, साच्चै त्यस्तो सहमति भएको छ? 

    यो त नेमकिपालाई नै सोध्नुपर्ने मलाइ के सोध्नुहुन्छ? हुनत नारायणमानजी मेरो साथी हो।

    तपाई नागरिक समाजमा हुँदा सबै दलको साझा मान्छे हुनुहुन्थ्यो। अब त कांग्रेसको मान्छे मात्र हुनुभयो। आफ्नो दायरा साँघुरो भएजस्तो लागेको छैन? 

    बस वा जहाजबाहिर हुँदा सबै यात्रु सँगै हुन्छौं। त्यहाँ चढ्न टिकट लिनुपर्छ। बसभित्र पनि मानिसहरु मिलेर बसेका हुन्छन्। मेरो काम संसदभित्र सबैलाई मिलाएर राख्ने हो। संसदलाई साझा व्यक्ति नै चाहिएको छ। टिकट मात्रै हो मेरो कांग्रेसको तर, अरु त म साझा काम नै गर्छु। विगतमा पनि साझा काम गरेँ। संसदमा गएपछि पनि साझा काम गर्छु।

    मैले घोषणा गरेको छु। म सांसदमात्र भएर बस्ने हुँ। संसद प्रमुख हुने पनि होइन, कार्यकारिणी हुने पनि होइन। मलाई संसद बलियो बनाउनुपरेको छ। बलियो संसदले बलियो सरकार निकाल्छ। बलियो ससदले प्रशासनलाई पनि जवाफदेही बनाउँछ। अहिले नेपालको राजनीतिको सबैभन्दा आवश्कयता के छ भने हाम्रो राजनीति दोहनको राजनीति भइरहेको छ। जहाँ पनि राजनीतिबाट चुस्ने। दलले पनि आफ्नो दललाई मात्र भरणपोषण गरिरहेका छन्। त्यसबाट दललाई निकाल्नुपरेको छ। अनि जनताको आस्थाको राजनीति हुन्छ।

    २०४७ सालमा संविधान बनेपछि तपाईले संसदको नेतृत्व गर्नुभयो। अहिले पनि नेपालमा नयाँ संविधान बनेपछि पहिलो संसद बन्दैछ। अबको संसदले कस्तो भूमिका निर्वाह गर्नुपर्छ?

    संसदले सरकारलाई जति जिम्मेवार बनाउनुपर्ने हो त्यो बनाउन सकिरहेको छैन। जवाफदेहितापूर्ण सत्ताको सदुपयोग नै प्रजातन्त्र हो। अहिले जवाफदेहीपूर्ण सत्ता सबैलाई चाहिएको छ। सत्ता जनताप्रति जवाफदेही भइरहेको छैन। अहिले त्यसको साझा नेतृत्व गर्ने अभिभावक  चाहिएको छ। त्यो काम गर्न म सक्छु त भन्दिन तर, मेरो हर प्रयास त्यसैमा हुनेछ।

    राज्य चलाउन सत्ता चाहिन्छ तर, सत्ताको जवाफदेहीपूर्ण सदुपयोग हुनुपर्छ। त्यसैले मेरो उम्मेदवारीको दुई तीनवटा उद्देश्यमध्ये एउटा राष्ट्रिय मेलमिलाप हो। त्यो काम म संसदमा गएर गर्नेछु। त्यस्तै नेपालीले बाध्य भएर विदेशी श्रमबजारमा रोजगारी खोज्नुपरेको छ। नेपालमा नै श्रमको व्यवस्था गर्ने मेरो राष्ट्रिय एजेण्डा हुनेछ। अनि भक्तपुरलाई मुलुकको सांस्कृतिक राजधानी बनाउने मेरो लक्ष्य हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]