राजनीति

चुनावी चहलपहल बढेसँगै गाउँघरमा व्यापार बढ्यो

कात्तिक २६, २०७४

    उदयपुर : उदयपुरको ग्रामीण क्षेत्रमा चुनावी चहलपहल बढेसँगै व्यापार पनि बढेको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै जाँदा गाउँदेखि बजारसम्म आर्थिक गतिविधि बढ्न थालेको हो।

    चुनावका लागि दलका बैठक, सभा, कोठे तथा होटलमा हुने छलफल, घरदैलो कार्यक्रमजस्ता गतिविधि गाउँदेखि सहरसम्म आर्थिक कारोबार बढ्दै गएको देखिन्छ। दलका उम्मेदवार र अगुवा मतदाता रिझाउन गाउँटोलसम्म नै धाइरहेका छन्।

    चुनावी अभियान बढेसँगै सामान्य होटल, किराना पसल, सहकारी, बैंक, यातायात व्यवसायी, ब्यानर छपाइ, इन्धन बिक्री, खसी तथा कुखुरापालक किसान लगायतको व्यापार बढेको स्थानीय व्यापारी बताउँछन्।

    जिल्लामा वाम गठबन्धन र कांग्रेसका जिल्ला तहका नेता कार्यकर्ताहरू दैनिकजसो चुनावी कार्यक्रम लिएर दुर्गम गाउँसम्म पुग्न थालेका छन्। यसरी गाउँसम्म पुगेका दलका नेता कार्यकर्ताले अर्को पार्टीका कार्यकर्ता आफ्नो पार्टीमा भित्रयाउने अभियानसँगै गर्ने भोजभतेरका कार्यक्रमले खाद्यान्न, मासु लगायतको व्यापार बढाएको छ।

    पार्टी प्रवेश लगायतका स्वागत कार्यक्रमले अवीर, खादा, खाजा नास्ता तथा अन्य पेय पदार्थको व्यापार बढेको त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्रकुमार भागवतले बताए।

    स्थानीय तहको निर्वाचनपछि सदरमुकाममा खुम्चिएका दलका नेता, कार्यकर्ता प्रतिनिधिसभा र प्रदेशसभाका लागि मनोनयन दर्ता गराएसँगै समर्थकका साथ गाउँ जाने क्रम बढेको उनको भनाइ छ। ‘गाउँको साग, आलु, दूध, दही, अन्डा, घिउ, कुखुरा, खसी, चामल लगायतको व्यापार चम्किएको छ,’ उदयपुरगढी गाउँपालिकाका अशोक मगरले भने, ‘सदरमुकाम केन्द्रित नेता आउन थालेपछि उपभोक्ताको माग बढेको छ।’

    दलका नेता कार्यकर्ता गाउँगाउँसम्म पुगेर चुनावी कार्यक्रम गर्न सवारीसाधन रिजर्भ गरेर हिँड्न थालेपछि साना सवारीधनीले समेत निकै आम्दानी गरीरहेका छन्। जिल्लाभित्र सञ्चालन हुने सवारी कुनै न कुनै दलका नेता कार्यकर्ताले रिजर्भ लिएर हिँडिरहेका छन्।

     चुनावकै कारण सवारी धनी र चालकको समेत राम्रै आम्दानी भइरहेको छ। जिल्लाबाट अन्यत्रका रुटमा सञ्चालन हुँदै आएका साना गाडीहरू आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि दलका नेताले लिएर हिँडिरहेका छन्।

     बैंक, सहकारी, साहु तथा अन्य वित्तीय संस्थाबाट ऋण लिएका सवारीधनीलाई चुनावको आम्दानीले किस्ता र ब्याज बुझाउन सजिलो भएको यातायात व्यवसायी मेम रुचालले बताए।

विदुर कटुवाल

कटुवाल ०७६ असोजसम्म थाहा खबरका उदयपुर समाचारदाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]