काठमाडौं : मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा खाद्य...
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको २७ वर्षदेखिको एकछत्र किल्ला भत्काउने उद्घोषसहित वाम गठबन्धन चुनावी मैदानमा उत्रिएको छ। डडेलधुरामा देउवाले २०४८ यता चुनावी परिणाम अरूको पोल्टामा पर्न दिएका छैनन्। गठबन्धनले देउवाविरुद्ध प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य खगराज भट्टलाई उतारेको छ।
कांग्रेसको दुई खेमामा विभाजित जिल्लाको पार्टी पंक्ति र एमाले–माओवादीबीचको गठबन्धन देउवाका लागि कडा चुनौती बन्ने देखिन्छ। विभाजित पार्टी पंक्तिका कारण स्थानीय तह चुनावमा कांग्रेसले जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिकासहित ३ वटा स्थानीय तहमा पराजय बेहोरेको थियो। स्थानीय तहमा एमाले र माओवादीले ल्याएको मत कांग्रेसको भन्दा ८ हजार बढी छ। पार्टीको मत बढाएर जित्न देउवालाई यस पटक ठूलै कसरत गर्नुपर्ने यहाँका बुद्धिजीवी बताउँछन्।
पछिल्लो संविधानसभा चुनावमा देउवाले आफ्ना प्रतिस्पर्धी माओवादीकै भट्टभन्दा साढे ८ हजार मत बढी ल्याएका थिए। भट्ट ०६४ र ०७० दुवै संविधानसभा निर्वाचनमा देउवाका निकटतम प्रतिस्पर्धी थिए। ०६४ मा भट्ट जम्मा १३ सय मतले पराजित भएका थिए भने ०७० मा साढे ८ हजार मतले। त्यतिबेला एमालेका तारा जोशीले ७ हजार मत ल्याएका थिए। ०७० मा एमाले र माओवादी दुवैको भन्दा देउवाले डेढ हजार बढी मत ल्याएका थिए। भट्ट देउवाविरुद्ध तेस्रो पटक मैदानमा छन्।
गठबन्धनका उम्मेदवार भट्टले चार–चार पटक प्रधानमन्त्री भएका देउवाले जिल्लाको बेरोजगारी समस्या समाधान गर्न नसकेको र आवश्यक मात्रामा विकास निर्माणका कामसमेत नगरेकाले डडेलधुरावासीले यस पटक उनको विकल्प खोज्ने दाबी गरेका छन्। २७ वर्षसम्म सत्ताको शिखरमा रहँदा पनि जिल्लामा उद्योगधन्दा खोल्न नसकेको, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने प्राविधिक शिक्षालय र अस्पताल ल्याउन नसकेको आरोप लगाउँदै वाम गठबन्धनले यस पटक डडेलधुरावासीले देउवालाई पराजित गर्ने दाबी गरेको छ। देउवाले २७ वर्षमा गर्न नसकेको विकास आफूले ५ वर्षमा गर्ने दाबीसमेत भट्टको छ।
देउवालाई गठबन्धनको चुनौती चिर्नभन्दा पनि दुईतिर फर्केको पार्टी पंक्तिलाई एकताबद्ध बनाउन ठूलो सकस परिरहेको छ। डडेलधुरामा बहालवाला पार्टी सभापति कर्ण मल्ल र पूर्वसभापति रघुवर भट्टका दुई गुट छन्। देउवासित आफू मात्र निकट हुन यी दुवै गुटका नेता एक–अर्कालाई सिध्याउने खेलमा थिए। यी दुई गुटबीचकै विवादले पार्टीको सबभन्दा मजबुत पकड भएका अमरगढी नगरपालिका, नवदुर्गा र अजयमेरु गाउँपालिकामा स्थानीय तह चुनावमा लज्जास्पद हार बेहोरेको थियो।
कांग्रेसकै अन्तरद्वन्द्वका कारण अमरगढी र नवदुर्गामा एमाले तथा अजयमेरुमा माओवादी स्थानीय तहमा विजयी भएका छन्। स्थानीय चुनावपछि यी दुई गुटका नेता र कार्यकर्ताबीच बोलचाल बन्द भएको थियो। वाम गठबन्धन बनेर पार्टीमाथि चुनौती बढेपछि मात्र दुई गुटका नेताबीच बोलचाल सुरु हुनुका साथै सँगै राजनीतिक गतिविधि गर्न थालेका छन्।
देउवाले दुवै गुटका नेतृत्वकर्ता भट्ट र मल्ललाई प्रदेशसभा सदस्यतर्फ क्रमश: ‘क’ र ‘ख’ को उम्मेदवार बनाएर पार्टीभित्रको विवाद मिलाउने प्रयास गरेका छन्। देउवाले दुवै गुटका अरू नेतालाई समेत प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक उम्मेदवार बनाएर सबैलाई समेट्न खोजेका छन्। दुवै गुटका नेतालाई उठाउँदैमा जिल्लाको सिंगो पार्टी पंक्ति एकढिक्का हुनेमा अझै आशंका छ। मल्ल र भट्ट समूहका स्थानीय नेता तथा कार्यकर्ताले सँगै प्रचारमा हिँडेर पार्टी एकजुट भएको सन्देश दिन खोजेका पनि छन् तर व्यवहारमा उनीहरू एकताबद्ध हुनेमा कतिपय कांग्रेसी नै विश्वस्त हुन सकेका छैनन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।