समाज

निर्वाचनले संक्रमणकालको अन्त्यः उपराष्ट्रपति पुन

शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनेलाई सम्मान

मंसिर २८, २०७४

    बाँकेः उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले विद्यमान राजनीतिक संक्रमणको अन्त्य भई देश समृद्धितर्फ उन्मुख हुने विश्वास व्यक्त गरेका छन्। 

    उनले स्थानीय, प्रदेशसभा र प्रतिनिधिसमा निर्वाचन भव्य रूपमा सम्पन्न भएको बताउँदै निर्वाचनपछि संविधान कार्यान्वयनको दिशातर्फ उन्मुख भएको बताए। ‘निर्वाचनले संक्रमणकालको अन्त्य गरेको छ, अब देश समृद्धितर्फ अगाडि बढ्नेछ’, उनले भने।

    उपराष्ट्रपति पुनले सबै तहका निर्वाचन सम्पन्न भइसकेपछि अब देश आर्थिक समृृद्धिको बाटोमा हिँडेको बताए। उनले भने, ‘देशले आर्थिक समृृद्धिको बाटो तय गरेको छ। यसमा सहभागी हुन म सबैलाई आह्वान गर्छु।’

    उनले अब देशमा राजनीतिक लडाइँभन्दा आर्थिक क्रान्तिका लागि प्रतिष्पर्धा गर्नुपर्ने बेला भएको बताए। उनले स्थानीय तह र प्रदेशहरूले आर्थिक तथा सामाजिक रूपान्तरणका लागि प्रतिष्पर्धा गर्ने विश्वास व्यक्त गरे। ‘अब राजनीतिभन्दा आर्थिक र सामाजिक विकासका लागि प्रतिष्पर्धा गर्ने बेला भएको छ’, उनले भने, ‘राजनीतिक अधिकारका लागि नभई समग्र देशको विकास र  समृद्धिका लागि लड्ने बेला आएको छ।’

    उपराष्ट्रपति पुनले बीस वर्षपछिलाई सम्झिएर शिक्षा नीति बनाउनुपर्नेमा जोड दिए। पछिसम्मका लागि सोचेर शिक्षा नीति नबनाउँदा देशको शैक्षिक परिवर्तनमा उल्लेख्य प्रगति हुन नसकेको पुनको भनाइ छ। 

    उपराष्ट्रपति पुनले देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माण गर्न शिक्षा नीति बनाउन सरकारलाई सुझाव पनि दिए।

    वैज्ञानिक र व्यावहारिक शिक्षामा जोड
    बिहीबारबाट नेपालगन्जमा सुरु भएको आठौँ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले पुस्तकमा भएको ज्ञानले मात्र देशमा दक्ष जनशक्ति उत्पादन हुने बताउँदै २० वर्षअघिको विकासलाई लक्षित गरी पुस्तक निर्माण गर्न सुझाव दिए। ‘पुराना ढर्राका पुस्तकले दक्ष जनशक्ति उत्पादन हुन सक्दैनन्, अब वैज्ञानिक र व्यावहारिक शिक्षाका लागि पुस्तक उत्पादन हुनुपर्छ’, उपराष्ट्रपति पुनले भने। 

    शिक्षामार्फत दक्ष जनशक्ति उत्पादनका लागि पुस्तक व्यवसायीको भूमिका सराहनीय भएको बताउँदै उनले व्यावसायिक शिक्षामा जोड दिए। उनले बजारमा पाइने सबै पुस्तकको आआफ्नै महत्त्व हुने बताए। नेपालीको पढ्ने बानी घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै पुनले भने, ‘पढ्ने बानी कम हुँदै गएको छ। पढ्ने बानीको विकास नभए दक्ष जनशक्ति उत्पादन नभई सिंगो देशलाई घाटा हुनेछ।’

    महोत्सवमा १४० बढी स्टल
    महोत्सव मंसिर २८ गतेदेखि पुस ५ गतेसम्म संचालन हुने आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका प्रचार प्रसार संयोजक वसन्त लामिछानेले जानकारी दिए। महोत्सवमा १४० भन्दा बढी स्टल राखिएको छ। 

    प्रदर्शनीमा नेपालका साथै भारतका पुस्तक प्रकाशन गृह र व्यवसायीले स्टल राखेका छन्। स्टलमा विद्यालय, कलेजका पाठ्यपुस्तक, स्थानीय, राष्ट्रियस्तरका ख्यातीप्राप्त साहित्यकारले लेखेका साहित्यिक कृति, विद्यार्थीले उत्पादन गरेका वस्तुका साथै विज्ञान प्रयोगशालासमेत राखिएको छ।

    निजी क्षेत्रलाई राज्यले उपेक्षा गरेको गुनासो 
    शैक्षिक महोत्सव उद्घाटन कार्यक्रममा बोल्ने पुस्तक व्यवसायीले राज्यले पाठ्यपुस्तक उत्पादन तथा बिक्री वितरणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। 

    पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष हरिप्रसाद अर्यालले राज्यले निजी क्षेत्रलाई उपेक्षा गरेको गुनासो गरे। उनले भने, ‘अस्पष्ट सरकारी नीतिका कारण पाठ्यपुस्तकको उत्पादन, बिक्री वितरण र ढुवानीमा समस्यै समस्या झेल्नुपरेको छ।’ अध्यक्ष अर्यालले साझा प्रकाशनकै मूल्यमा निजी क्षेत्रलाई समेत पाठ्यपुस्तक उत्पादनमा प्रोत्साहन गर्न आग्रह गरे।

    मध्यपश्चिम क्षेत्रीय शिक्षा निर्देशक हरि गौतमले शिक्षाले मात्र देश परिवर्तन गर्ने बताए। सोही अवसरमा बोल्दै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष धनराज आचार्यले काठमाडौंमा मात्र केन्द्रित शैक्षिक गतिविधि देशका कुनाकाप्चासम्म पुर्‍याउन महासंघले शैक्षिक महोत्सव आयोजना गरेको बताए। 
    उद्घाटन समारोहको अध्यक्षता महोत्सव आयोजक पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक बुद्धिप्रसाद अधिकारीले गरेका थिए।

    शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनेलाई सम्मान
    शैक्षिक महोत्सवको उद्घाटन सत्रमा उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने शिक्षाविद्, समाजसेवी तथा स्रष्टाहरूलाई विशेष सम्मान गरे। ख्यातीप्राप्त शिक्षाविद् डा. सुरेश आचार्य, निर्माता, संगीतकर्मी एवम् कलाकार यादव खरेल, साहित्यकार सनत रेग्मी, समाजसेवी हरिबहादुर रावत, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका संस्थापक अध्यक्ष वसन्त लामिछाने, पूर्व अध्यक्ष नारायण ज्ञवाली र प्राविधिक शिक्षाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने कैलपाल हस्पिटल एण्ड कलेजका प्रबन्ध निर्देशक सञ्जय सिंहलाई महासंघका तर्फबाट उपराष्ट्रपति पुनले विशेष सम्मान गरेका हुन्।

    सम्मानित भएपछि डा. सुरेश आचार्यले देशमा भएका शिक्षा क्षेत्रका परिवर्तनहरूलाई सन्तोष मान्न सकिए पनि यसलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिए। आचार्यले समयक्रमअनुसार शिक्षा क्षेत्रमा आएका परिवर्तनलाई सबैले आत्मसात गर्न सक्नुपर्ने बताए।  

    सात दिनसम्म संचालन हुने महोत्सवका माध्यमबाट पुस्तक र त्यससँग जोडिएका विद्यार्थीहरूको आन्तरिक प्रतिभा प्रस्फुटन गर्दै उनीहरूमा रचनात्मक क्षमताको अभिवृद्धि गर्ने उद्देश्य रहेको छ। महोत्सवमा दुई लाख बढी दर्शक भित्र्याइनेछ।

    स्टलहरूमा विभिन्न मसलन्द तथा शैक्षिक सामग्रीका राष्ट्रिय उत्पादनहरू, वैदेशिक उच्च शिक्षाका लागि क्रियाशील कन्सल्टेन्सीहरू, सूचनामूलक कम्प्युटरसम्बन्धी एजेन्सीहरू राखिएका छन्। महोत्सवलाई थप मनोरंजनात्मक बनाउन, कला र संस्कृति जगेर्ना गर्नका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरूबाट गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै अवलोकनकर्ता तथा सहभागीका लागि खाजाघर एवं प्राथमिक उपचार कक्षसमेत रहेका छन्। 

    महोत्सवका माध्यमबाट नेपालगन्जको ऐतिहासिक र पुरानो महेन्द्र पुस्तकालयलगायत पुस्तकालयहरूको प्रचार प्रसार गरी संरक्षण तथा सम्बद्र्धनमा ध्यानाकर्षण गराउने, पठन संस्कृतिको अभियानमा लागिपर्ने व्यक्ति, संघसंस्थाहरूसँगको सहकार्यमा सामाजिक रूपान्तरणको अभियान सञ्चालन गर्दै जिम्मेवार व्यवसायी संस्थाको रूपमा स्थापित गर्ने, व्यवसायीहरूको दक्षता र क्षमता अभिवृद्धि गराई व्यवसायलाई प्रवद्र्धन गर्दै सामाजिक दायित्वबोधका साथ सक्षम तुल्याउने लक्ष्य राखिएको बताइएको छ। 

    पहिलो पटक २०६४ सालमा बुटवलबाट सुरु भएको राष्ट्रिय शैक्षिक महोत्सव क्रमशः २०६६ मा पुनः बुटवल, दोस्रो २०६७ मा धनगढी, २०६८ मा चितवन, २०६९ मा पोखरा, २०७१ मा झापा, २०७२ मा ग्लोबल एक्स्पोजिसन संघको संयुक्त आयोजनामा काठमाडौँमा, २०७३ मा दाङ हुँदै आठौँ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव बाँकेको नेपालगन्जमा भएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]