छापा

एटीएम मेसिन स्तरोन्नती नगर्दा बैंक जोखिममा

मंसिर २९, २०७४

    काठमाडौं : निर्धारित समयमा एटीएम मेसिन स्तरोन्नती नगर्ने अधिकांश बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको छ। एटीएम कार्ड प्रदायक ‘भिजा’ ले दिएको समयभित्र एटीएम मेसिन स्तरोन्नती नगर्दा धेरै बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको हो। हाल अधिकांश बैंक तथा वित्तीय संस्थाले ‘चिप’ (ग्राहकको महत्वपूर्ण विवरण रहेको विद्युतीय औजार) मा आधारित कार्ड बनाइसकेका छन्। तर, कार्डमा प्रयोग गरिएका ‘चिप’ पढन सक्ने गरी एटीएम मेसिन स्तरोन्नती गरेका छैनन्। यसकारण एटीएम मेसिनहरु स्तरोन्नती नगर्ने बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको हो।

    चिपमा भएको ग्राहकको विवरण नक्कल(कपी) गर्न सकिदैन। चिप नभएको (म्याग्नेटिक कार्ड) मा रहेको ग्राहकको विवरण भने नक्कल गर्न सकिन्छ। यसकारण चिप नभएको भन्दा भएको एटीएम कार्ड बढी सुरक्षित हुन्छ। बैंकहरुले चीप पढन सक्ने गरी एटीएम मेसिन स्तरोन्नती नगर्दा कार्डमा रहेको ग्राहकको विवरण चोरीको सम्भावना बढी हुन्छ। यही कमजोरीको फाइदा उठाउँदै अपराधीले एटीएमबाट पैसा चोरी रहेका छन्।

    भिजा कार्ड प्रदायक कम्पनीले बैंक तथा वित्तीय संस्थालाई गत असोज १५ सम्म सबै एटीएम मेसिनहरु ‘युरोप मास्टर कार्ड एन्ड भिजा’ (इएमभी) अनुसार स्तरोन्नती गर्न आग्रह गरेको थियो। त्यसैअनुसार केही बैंकले स्तरोन्नती थालनी गरेपनि अधिकांशले गरेका छैनन्। निर्धारित समयभित्र एटीएम मेसिनहरु स्तरोन्नती नगर्ने बैंकहरुमा कार्डमार्फत पैसा चोरीका घटना भएमा त्यसबापतको क्षति भिजा कार्ड प्रदायक कम्पनीले नबेहोर्ने स्पष्ट पारिसकेको छ। यसकारण त्यस्ता घटनामा भएको क्षति सम्बन्धित बैंक तथा वित्तीय संस्थाले व्यहोर्नुपर्ने भएकाले वित्तीय जोखिम बढेको हो। पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा एटीएम कार्डमार्फत रकम चोरीका घटना भइरहेका छन्। गत असोज यता यस्ता घटनाको क्षति सम्बन्धीत ‘कार्ड भेन्डर’ कम्पनी (भिजा) ले बेहोर्ने छैन। ग्राहकलाई भने यसको असर पर्ने छैन। कार्डमार्फत ग्राहकको खाताबाट पैसा चोरी भए पनि बैंकले क्षतिपूर्ति गर्ने भएकाले ग्राहकलाई असर नपर्ने भएको हो।

    बैंकर्स संघका पूर्व अध्यक्ष शशिन जोशीले तोकिएको समयमा एटीएम कार्ड र मेसिन स्तरोन्नती नगर्ने बैंकमा वित्तीय जोखिम उच्च रहने बताए। ‘एकातिर राष्ट्र बैंकको निर्देशन पालना नगरेको ठहर्छ,’ उनले भने, ‘अर्कातिर वित्तीय जोखिम बढछ।’ हाल आफू आवद्ध नबिल बैंकले साढे २ वर्ष अघि नै चिपमा आधारित कार्ड जारी गरेको बताउदै उनले भने, ‘पीओएस/पीओटी टर्मिनल पनि स्तरोन्नती भइसकेको छ। एटीएम स्तरोन्नती गर्ने काम सुरु भएको छ। २/३ सातामा त्यो पनि पूरा हुन्छ।’ अरु केही बैंकहरुले अझै पनि निर्देशित मापदण्ड पूरा नगरेको सुन्नमा आएको उनले बताए।

कान्तिपुर दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]