छापा

संघमा नहुने दल पनि प्रदेशमा आउने

मंसिर २९, २०७४

    काठमाडौं : समानुपातिकतर्फ बिहीबार साँझसम्म भएको झन्डै ८५ प्रतिशत मत गणनाको परिणामले प्रतिनिधिसभामा प्रवेश नपाउने केही दलले प्रदेशसभामा भने प्रवेश पाउने सम्भावना देखिएको छ। प्रतिनिधिसभाभन्दा प्रदेशसभामा कम ‘थ्रेसहोल्ड’, तथा राष्ट्रव्यापी नभई प्रदेशमा मात्र पकड भएका दलले केन्द्रमा नपाए पनि प्रदेशमा भने समानुपातिक सभासद पाउने देखिएको छ।

    राजनीतिक दलसम्बन्धी कानुनले सङ्घमा भन्दा प्रदेशसभामा कम थ्रेसहोल्डको व्यवस्था गरेको छ। ऐनअनुसार सङ्घमा कुल सदर मतको तीन र प्रदेशमा १.५ प्रतिशत मत ल्याउने दलले ‘थ्रेसहोल्ड’ कटाउने व्यवस्था गरिएको छ। मत गणनाको यही अनुपात कायम रहे केन्द्रमा दलीय हैसियत नपाए पनि नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), विवेकशील साझा पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेशमा स्थान पाउने देखिन्छ। बिहीबार रातिसम्म सार्वजनिक भएको मत परिणामअनुसार नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा माओवादी (केन्द्र), सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले भने राजनीतिक दलसम्बन्धी ऐनअनुसार राष्ट्रिय दलको मान्यता पाउने अवस्था छ।

    तर, प्रदेशमा प्रत्यक्षमा एउटा सांसद जितेर प्रादेशिक थ्रेसहोल्ड कटाउने दललाई के मान्यता दिने भन्ने विषयमा भने राजनीतिक दलसम्बन्धी कानुनमा कुनै स्पष्ट व्यवस्था छैन। त्यस्ता दलले प्रदेशमा दलको हैसियत पाउने अन्तर्राष्ट्रिय प्रचलन छ, ऐनमा छुटे पनि ती दलले प्रदेशसभामा दलको हैसियत पाउनुपर्छ, उपन्यायाधिवक्ता घनश्याम ओझाले बताउनुभयो। यस व्यवस्थाअनुसार प्रदेश नम्बर ३ मा एक सिट जितेको र डेढ प्रतिशत थ्रेसहोल्ड कटाउने सम्भावना भएको नेमकिपा, प्रदेश ४ मा दुई वटा सिट जितेको राष्ट्रिय जनमोर्चा र एउटा सिट जितेर थ्रेसहोल्ड कटाउने सम्भावना भएको नयाँ शक्ति दुवैले दलको हैसियत पाउने सम्भावना छ।

    त्यसबाहेक विवेकशील साझा, राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा), सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल सङ्घीय समाजवादीले थ्रेसहोल्ड कटाएर प्रदेशसभामा सांसद पाउने सम्भावना छ। दलीय हैसियत नपाएका पार्टीबाट विजयी सांसदले स्वतन्त्र सरहको हैसियत हुनेछ। राजनीतिक दलसम्बन्धी ऐनले दलीय हैसियतका लागि प्रत्यक्षतर्फ कम्तीमा १ सिट र समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ कटाउनैपर्ने व्यवस्था गरेको छ।

    प्रदेश १ मा करिब ७० प्रतिशत मत गणना भइसक्दा राप्रपाले ३.५ प्रतिशत मत पाइसकेको छ। यहाँ दलीय हैसियत पाउने काँग्रेस, एमाले, माओवादी र समाजवादी फोरमबाहेक लिम्बुवानको पक्षमा आवाज उठाउँदै आएको एक अर्को दलले पनि समानुपातिक सभासद् पाउने देखिएको छ। पछिल्लो परिणामअनुसार कुमार लिङ्देन नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि प्रदेश सांसद जित्ने देखिएको छ। मञ्चले अहिलेसम्मको मत गणनामा १.५ प्रतिशत मत ल्याएको छ।

    प्रदेश २ मा प्रदेश १ को सभामा केन्द्रमा रहने पाँच वटा शीर्ष दलको दलीय हैसियत हुनेछ। यहाँ तत्कालीन अशोक राई नेतृत्वको समाजवादीबाट फुटेर रिज्वान अन्सारीको नेतृत्वमा बनेको नेपाल सङ्घीय समाजवादी दलले पनि सार्वजनिक मत परिणामअनुसार समानुपातिक सांसदका लागि सम्भावना देखाएको छ।

    प्रदेश ३ मा भने सङ्घमा प्रतिनिधित्व गर्ने सङ्घीय समाजवादी र राजपा नेपालको उपस्थिति नहुने देखिएको छ। हालसम्म भएको मत गणनामा करिब छ हजार मत ल्याउँदै ११ औँ स्थानमा रहेको समाजवादीले प्रदेशको थ्रेसहोल्ड नकटाउने निश्चित देखिन्छ भने राजपा २० औँ स्थानमा रहेको छ। यो प्रदेशमा अन्य प्रदेशमा प्रतिनिधित्व गर्न नसकेको विवेकशील साझा पार्टीको प्रतिनिधित्व भने हुनेछ। प्रदेश ३ मा विवेकशील साझा चाँैथो स्थानमा छ। तीन प्रमुख पार्टीसहित प्रदेश ४ मा अर्को एक पार्टीले दलीय हैसियत पाउने सम्भावना छ। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले यहाँ प्रत्यक्ष र समानुपातिकका लागि आवश्यक पर्ने मापदण्ड पूरा गर्ने देखिन्छ। यहाँ नयाँ शक्तिले २.४ प्रतिशत मत ल्याएको छ।

    प्रदेश ५ मा एमाले, काँग्रेस, माओवादी, सङ्घीय समाजवादी र राजपाको उपस्थिति हुने देखिन्छ। प्रदेश नं. ६ मा सबैभन्दा धेरै ७ वटा दलले थ्रेसहोल्ड कटाउने सम्भावना छ। तर समानुपातिकमा कम सिट (१६) भएका कारण थ्रेसहोल्ड कटाउने सबै दलले सिट पाउने सम्भावना भने छैन। प्रदेश ६ मा समानुपातिकबाट एक सिट लिन ६ प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने अवस्था छ। प्रदेश नं. ७ मा सबैभन्दा थोरै दलको उपस्थिति हुने देखिन्छ। यहाँ समानुपातिकमा पनि काँग्रेस, एमाले, माओवादी र राजपाले मात्रै सिट पाउने सम्भावना छ।

गोरखापत्र

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]