फिचर

सिँचाइ समस्याले चुलाचुलीमा फल्दैन धान, कोदो बेचेर चामलको जोहो

मंसिर २९, २०७४

    दमक (झापा) : सदरमुकाम पुग्न एक दिन नै माया मार्नुपर्छ। गाउँपालिका कार्यालय पुग्न पनि एक बिहान छुट्याउनै पर्छ। इलामको दक्षिणी चुलाचुलीका बासिन्दा सिँचाइ अभावमा कोदो रोपेर आफ्नो बारी भर्ने गरेका छन्। मदिरा उत्पादनको प्रमुख कच्चा पदार्थको रुपमा विक्री हुने यही कोदो यहाँका बासिन्दाको मुख्य आम्दानीको स्रोत हो।

    आफ्नै जमिन भए पनि यहाँका बासिन्दाले अन्नबाली लगाउन सक्दैनन्। सिँचाइका लागि आकाशे झरीको विकल्प छैन। विद्युत् पनि घरायसी प्रयोजनका लाग मात्रै पुगेको छ, त्यो पनि गाउँलेकै लागतमा। त्यसैले विद्युतीय मोटरहरु समेत गाडिएका छैनन्। त्यसैले कम पानीमा पनि फल्ने कोदो रोपेर त्यसको विक्री गरी चामलको जोहो गर्नु यहाँका बासिन्दाको बाध्यता हो।

    बेच्न पनि कठिनाइ

    चुलाचुली वडा नं. ४ की गंगा घतानीलाई भएको आफ्नो करिब १० कट्ठामा लगाएको कोदो अहिले टिप्ने धमाधम छ। तर, मूल्य कति पाउने हो कुनै यकिन छैन। नजिकै रहेको बजार भनेकै झापाको दमक हो। तर, त्यहाँसम्म पुग्न पनि कुनै नियमित सवारीसाधन चल्दैनन्।

    रतुवा खोलामा पुल निर्माणाधीन रहेकाले साइकलमा समेत आउजाउ कठिन छ। त्यसैले उत्पादित कोदो विक्री गर्नसमेत कठिनाइ भएको उनले बताइन्। बजारसम्म पुर्‍याउँदा प्रतिकिलो ५० रुपैयाँ मूल्य पाउने भए पनि गाउँबाटै ३५÷४० रुपैयाँमा बेच्नुपरेको उनको दुखेसो छ।

    थोरै खेती गर्नेको त गाउँमै पनि खपत हुन्छ। तर, धेरै फलाउनेलाई भने समस्या छ। स्थानीय ६३ वर्षीया सुकमाया लिम्बूले भनिन्, ‘थोरै हुनेको त गाउँमै जाँड बनाउनेले लान्छन्, धेरै फल्यो भने चाहिँ बेच्ने पीर हुन्छ।’

    सक्नेहरुले बजारसम्म लगेर बेच्ने गरेको भए पनि नसक्नेले घरैमा आउने व्यापारीले जति मूल्य दिन्छन्, त्यतिमै बेच्न बाध्य हुन्छन्। इलामसँगको साइनो सम्बन्ध भनेको कानुनी मात्रै हो, सम्पूर्ण जीवनशैली र व्यभार झापामा निर्भर छ। त्यसैले इलाम जोड्ने बाटोभन्दा पनि झापा जोड्ने पुल छिटो बने हुन्थ्यो भन्छिन्, उनी।

    वर्षैभरि पानीको पीर

    यहाँका बासिन्दालाई वर्षैभरि पानीको पीर हुन्छ। हिउँदमा हिउँदे बाली लगाउन पाउँदैनन्। वर्षायाममा समेत पर्याप्त वर्षा भएन भने खेत बाँझै हुन्छ। फेरि अलिक बढी पानी पर्‍यो पनि टापुका बासिन्दा भएर बस्नुपर्ने गरेको ३२ वर्षीय बमबहादुर लावतीले बताए।

    एकातर्फ चाँजु र अर्कातर्फ रतुवा खोलाले घेरेको बस्तीमा वर्षायामका करिब २ महिना बाहिरी सम्पर्क नै टुट्ने गरेको उनले बताए। झापाको दमक बजार पुगेर नियमित मजदुरी गर्ने र साँझ घरै फर्कने गरेका उनले खोलाकै कारण वर्षायाममा कैयौँ दिन रोजीरोटी नै मर्ने गरेको बताए।

    आउजाउ र खेतीका लागि मात्रै होइन। यहाँ पिउने पानीको पनि उस्तै कठिनाइ छ। खानेपानीको धारा छैनन्। ट्युवेल गाड्दासमेत जहाँतहीँ पानी आउँदैन। धेरै खर्च गरेर गहिरो गाड्नुपर्ने भएकाले सबैले ट्युबेल गाड्नसमेत सक्दैनन्। भएका केही ट्युबेलबाट पनि सफा पानी नआउने समस्या छ।

    स्थानीय गंगा घतानीले भनिन्,‘सबैले ट्युबेल गाड्न सकिँदैन। हामै्रमा पनि छैन। अर्काको बाट ल्याएर चलाउने गरेका छौं।’ तर, भएका ट्युबेलको पानी पनि उपयोग गरिनसक्नु भएकाले फिल्टर गरेर फेरि उमालेर उपयोग गर्नुपर्ने बाध्यता रहेको छ।

    प्रतिनिधिका प्रतिबद्धतामा के छ?

    यो गाउँपालिका चानचुने नेताले नेतृत्व गरेको ठाउँ होइन। तत्कालीन संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा एमालेका तत्कालीन संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ निर्वाचित हुँदै आएको इलामको क्षेत्र नं. २ हो। तर, पनि अपेक्षाकृत विकास नभएको स्थानीयले गुनासो गरिरहेका छन्। यसपटक पनि यही क्षेत्रबाट नेम्वाङ निर्वाचित भएका छन्। अपेक्षाकृत विकास हुन नसके पनि विगतभन्दा धेरै कुरामा परिवर्तन आएको उनको तर्क छ।

    वर्षौंदेखिको अव्यवस्थित बसोवासको समस्या समस्या समाधान गरेको, झापा जोड्ने स्थानमा पक्की पुल निर्माण सुरु भएको, विद्युतीकरणलाई थप व्यवस्थित पारिएको र कालोपत्रे सडक निर्माणसमेत थालिसकिएको उनको भनाइ छ। विगतमा राष्ट्रिय राजनीतिमा बढी केन्द्रित हुँदा हुँदै पनि केही महत्वपूर्ण कार्य गर्न सकिएको भन्दै नेम्वाङले यसपटक विगतभन्दा बढी ध्यान विकास निर्माणमा दिने प्रतिबद्धता जनाएका छन्।

    यस्तै, चुलाचुली गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईसमेत चुलाचुलीले अपेक्षाकृत विकासको फड्को मार्न नसकेको स्विकार्छन्। तर, गाउँपालिकाले यसलाई कृषिको पकेट क्षेत्रको रुपमा विकास गरी स्थानीयको आयआर्जनको स्तर उकास्ने योजना बताएको बताउँछन्।

    इलाम सदरमुकामसँग जोडिने सडकहरु निर्माणाधीन रहेको र झापा जोड्ने पुलसमेत निर्माण भई रहेकाले यहाँका बासिन्दालाई ठूला बजारसम्म पहुँच स्थापित गर्न सजिलो हुने बताउँछन्। बजारीकरणका लागि बाटो खुलेपछि किसानलाई व्यावसायिक कृषि र पशुपालनमा आकर्षित गराउन कार्यक्रमहरु पनि तय गरिएको उनले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]