समाज

शिक्षक दम्पतीको पौरख : च्याउखेतीले बदल्यो पहिचान

पुस १, २०७४

    दमक(झापा) : कमल गाउँपालिका–५ को सिम्लेका हरिप्रसाद चम्लागाईँ स्थानीय शहीदरत्न प्राविका प्रधानाध्यापक हुन्। उनकी श्रीमती हरिमाया पनि सोही विद्यालयकी शिक्षक हुन्।

    अहिले उनीहरूको पहिचान शिक्षकभन्दा बढी व्यावसायिक कृषकको रूपमा स्थापित भएको छ। उनीहरुले गाउँमै पहिलोपटक च्याउको व्यवसायिक खेती गरेका छन्। १५ हजार रुपैयाँको लगानीमा शुरु भएको उद्यमबाट अचेल उनीहरूले शिक्षण पेशाबाट मनग्य आम्दानी गरिरहेका छन्।

    गत साउनमा पहिलो पटकको लगानीबाट उनीहरुले तेब्बर आम्दानी लिए। त्यस पछि हौसिएका उनीहरुले लगानी बढाउँदै गए पछि सरकारी प्रोत्साहन र सहयोग पनि पाउन थालेका छन्। 

    सरकारी सहयोगले उर्जा
    च्याउ खेतीबाट राम्रो आम्दानी भएसँगै सरकारी स्तरबाट पनि अनुदान पाउन थालेपछि थप उत्साहित भएको चम्लागाईँले बताए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट नमुना च्याउखेती गरे बापत उनले २ लाख ८५ हजार रुपैयाँ अनुदान पाएका छन्। त्यसबाट उनले टहरो निर्माण र पराल खरिद गरेका छन्। उनको मेहनतलाई कदर गर्दै पुन: साढे ३ लाख रुपैयाँ अनुदान दिइने भएको छ। यसबाट भने उनी च्याउखेतीका लागि पराल पोको पार्ने मेशीन खरिद गर्ने योजना छन्। 

    हाल उनको टहरोमा रहेको च्याउ खेतीमा २ हजार पोका च्याउ छन्। त्यसमा उनको लगानी १ लाख २० हजार रुपैयाँ पर्‍यो। अहिले सम्म आधा उत्पादन बेचे, अढाई लाख हाराहारीमा आम्दानी भयो। अब थप यतिनै आम्दानी हुने उनको आशा छ। 

    आफैं बजारमा
    च्याउ उत्पादन र विक्रिका लागि दम्पतीको दैनन्दिन बिहान ३ बजे देखि शुरु हुन्छ। उज्यालो हुँदा नहुँदा दुवैजनाले च्याउ टिपिसक्छन् र पोको पार्छन्। ६ बजेतिर श्रीमती घरधन्दामा लाग्छिन्, श्रीमान् च्याउका पोका बोकेर दमक बजारतिर लाग्छन्। दमकका  घर र होटलमा पुर्‍याएर प्रतिकिलो १२० देखि १३० मा बिक्री गर्छन्। त्यसपछि दुवै नियमित रूपमा विद्यालयतिर लाग्ने गरेका छन्। 

    कुखुराले डुबायो, च्याउले उकास्यो
    च्याउखेती गर्नु अघि उनीहरुले कुखुरापालन गरेका थिए। पहिलो छिमलमा राम्रै फाइदा भयो। दोस्रोपटक लागत र लाभ बराबर अनि तेस्रोपटक थेग्नै नसक्नेगरी नोक्सानी। त्यसपछि चम्लागाईँले विकल्प खोजेका हुन्। मोरङको उर्लाबारीमा च्याउ खेतीअवलोकन गरेपछि कुखुरापालनका लागि बनाएको खोर सफा गरेर उनले च्याउ खेती थालेका हुन्।

    भैँसी र बाख्रापालन पनि  गर्ने  चम्लागाईँ दम्पती सिम्लेलाई च्याउ उत्पादनको 'पकेट' क्षेत्रको रूपमा विकास गर्ने अभियानमा रहेको बताउँछन्। गाउँलेलाई यसतर्फ प्रेरित गरिरहेको उनीहरूको भनाइ छ। 
        

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]