राजनीति : निर्वाचन २०७४

मोरङमा समानुपातिकतर्फ एउटै मतपत्रमा सातवटा छाप, किन भयो धेरै मत बदर?

पुस १, २०७४

    विराटनगर : मोरङमा १ करोड २५ लाख रुपैयाँ खर्च भएको मतदाता शिक्षा प्रभावकारी नभएको पाइएको छ। भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मत बदर प्रतिशत धेरै भएका कारण मतदाता शिक्षा प्रभावकारी नदेखिएको हो। मोरङमा प्रतिनिधि र प्रदेशसभामा प्रत्यक्ष निर्वाचन पद्धतितर्फभन्दा सामानुपातिकमा बढी मत बदर भएको छ। 

    समानुपातिकमा प्रतिनिधिसभा र प्रदेशसभामा खसेको ४ लाख ५७ हजार २ सय ६१ मतमध्ये प्रतिनिधिसभामा ९ प्रतिशत अर्थात् ४१ हजार ३ सय ६९ मत बदर भएको छ । उक्त बदर मत प्रतिशत बढेर प्रदेशसभामा भने १४.२४ प्रतिशत अर्थात् ६५ हजार १ सय ५० पुगेको छ।

    ६ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रत्यक्षतर्फ ४ लाख ५७ हजार २ सय ६१ मत खसेकोमा २४ हजार ६ सय ४४ मत मात्र बदर भएको छ। समानुपातिकको अन्तिम मत परिणाम सार्वजानिक हुँदा बदर मतले तेस्रो स्थान ओगटेको छ। सामानुपातिकमा कांग्रेस र एमालेले प्राप्त गरेको मतपछि तेस्रो स्थानमा बदर मतको संख्या छ।

    प्रत्यक्षतर्फ मोरङमा एक सिट मात्र जितेको नेपाली कांग्रेसले सामानुपातिकतर्फ प्रतिनिधिसभामा १ लाख ६० हजार ५ सय ४३ मत र प्रदेशसभामा १ लाख ४५ हजार ८ सय ६ मत पाएर पहिलो स्थानमा छ। दोस्रोमा रहेको एमालले प्रतिनिधिसभामा १ लाख ४४ हजार ८ सय २४ र प्रदेशसभामा १ लाख ३१ हजार १ सय ६० मत पाएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले प्रतिनिधिसभामा ४४ हजार ९ सय ५१ र प्रदेशसभामा ४९ हजार ८ सय ७६ मत पाएको छ।

    मत बदर हुनुमा मतदाता शिक्षा प्रभावकारी नहुनुलाई प्रमुख कारण मानिएको छ। क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले प्रभावकारी सिकाइ नहुनु र सबै सरोकारवालाले सचेतना जगाउन नसक्नुले प्रत्यक्षभन्दा सामानुपातिकमा बढी मत बदर भएको बताए। ‘गठबन्धनले गर्दा पनि कतिपय मतदाता झुक्किएर मत बदर भएको छ,’ उनले भने, ‘समानुपातिकको प्रतिनिधिसभाको मतपत्रमा दुई वटा चुनाव चिन्हमा भोट हालेको पाइयो।’

    बदरमध्ये धेरै मत एकभन्दा धेरै चुनाव चिन्हमा संकेत गरिएको पाइएको छ। ‘एउटै मतपत्रमा ७ वटा चुनाव चिह्नमा भोट हालेको समेत भेटियो,’ मत गणनामा बसेका एक गणकले भने, ‘स्थानीय तहको मतपत्रमा ७ ठाउँमा भोट हाल्नुपर्ने थियो, त्यही सम्झेर अहिले पनि ७ ठाउँमा भोट हालेछन्। निर्वाचन आयोग र दलले तहल्लो तहसम्म मतदातालाई सचेत बनाउन नसक्दा धेरै मत बदर हुन पुगेको हो।’

    जिल्लामा निर्धारण भएको ७ सय ५८  मतदान केन्द्रमा ६ सय ५५ जना स्वयंसेविका मतदाता शिक्षा तालिम दिएर करिब एक महिना खटाएको थियो। निर्वाचन कार्यालयका प्रमुख सञ्जेलका अनुसार मतदाता शिक्षाको लागि मात्र मोरङमा १ करोड २५ लाख १३ रुपैयाँ खर्च भएको थियो।

    समानुपातिकको प्रतिनिधिसभातर्फ

    खसेको जम्मा मत : ४,५७,२६१

    कूल सदर मत : ४,१५,८९२

    कूल बदर मत : ४१,३६९

    समानुपातिकको प्रदेशसभातर्फ

    खसेको जम्मा मत : ४,५७,२६१

    कूल सदर मत : ३,९२,१११

    कूल बदर मत : ६५,१५०

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]