समाज

नेपालगञ्जको यस्तो सडक जहाँ लगाइएको छ 'जेब्रा क्रसिङ' मा बार

पुस १, २०७४

    बाँके : पैदल यात्रुलाई सडक वारपार गर्न सहज होस् भन्ने उद्देश्यले सडकमा जेब्रा क्रसिङको व्यवस्था गरिएको हुन्छ। जेब्रा क्रसिङ चिह्न भएको स्थानमा सवारी चालकले सवारी साधन विस्तारै चलाउने भएकोले पैदल यात्रुलाई सडक वारपार गर्न सजिलो हुन्छ।

    जेब्रा क्रसिङ सामान्यतया अति व्यस्त सडकमा बनाइन्छ। जेब्रा क्रसिङ चिह्न स्पष्ट देखिनेगरी बनाउनुपर्छ तर, नेपालगञ्ज–कोहलपुर चार लेन सडकअन्तर्गत नेपालगञ्जमा बनाइएका जेब्रा क्रसिङ चिह्न पैदल यात्रुलाई सहजता भन्दा सास्ती दिएको छ। 

    सहजतापूर्वक सडक वारपार गर्न बनाइएको जेब्रा क्रसिङ चिह्न पायक पर्ने ठाउँमा नबनाउँदा सडक वारपार गर्न असहज भएको नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरका जावेद सल्मानीले बताए। उनले चिह्न रहेको ठाउँको सडक पेटीमा फलामे बार (रेलिङ) भएकोले जेब्रा क्रसिङ भएर सडक वारपार गर्न असहज भएको बताए। ‘जेब्रा क्रसिङ भएको ठाउँको सडक पेटीमा फलामे बार (रेलिङ) लगाइएको छ, सडक पेटीबाट जाने ठाउँ छैन,’ उनले भने, ‘ज्रेबा क्रसिङ भएको ठाँउमा रेलिङ भएपछि जेब्रा क्रसिङ भएको महसुस हुँदैन।’ 

    पुष्पलाल चोक र धम्बोझी चोकमा जेब्रा क्रसिङ भएको ठाउँका सडक पेटीमा रेलिङ (बार) लगाएको छ। जसका कारण पैदल यात्रु सडक वारपार गर्दा झुक्किने गरेको नेपालगञ्ज उपमहानगरपालिका–१३ का केशव डाँगीले बताए। उनले असहज ठाउँमा बनाइएकोले सर्वसाधारणले जेब्रा क्रसिङ प्रयोग नगरेको बताए। जेब्रा क्रसिङ भएको ठाउँमा बार भएका कारण जेब्रा क्रसिङ नभएको ठाउँबाट सडक वारपार गरेको उनले बताए। 

    जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक होमबहादुर थापाले जेब्रा क्रसिङ भएको ठाउँ खुल्ला हुनुपर्ने बताए। उनले जेब्रा क्रसिङ भएको ठाउँमा रेलिङ लगाउन नहुने बताए। जेब्रा क्रसिङ भएको ठाउँको सडक पेटीमा बनाएको रेलिङ हटाउन सडक डिभिजन कार्यालयलाई जानकारी गराएको उनले बताए। ‘पैदल यात्रुलाई सास्ती भएकोले जेब्रा क्रसिङ भएको ठाउँमा बनाइएका रेलिङ हटाउन सडक डिभिजन कार्यालयलाई आग्रहसहितको परिपत्र गरिएको छ,’ उनले भने। 

    उचित ठाउँमा जेब्रा क्रसिङको व्यवस्था नगरेका कारण बालबालिका, वृद्धवृद्धा, महिला, शारिरीक अशक्तहरु मारमा परेको पाइएको छ। चिह्न भएको ठाउँमा रेलिङ लगाइएपछि घुमेर जेब्रा क्रसिङमा जानुपर्ने बाध्यता सिर्जना भएको छ। 

    जेब्रा क्रसिङबारे सर्वसाधारण र सवारी चालक अनभिज्ञ
    एक त नेपालगञ्जको व्यस्त सडकका विभिन्न ठाउँमा अव्यावहारिक रुपमा जेब्रा क्रसिङ बनाइएको छ भने अर्को तर्फ यहाँका धेरै सर्वसाधारण सडक वारपार गर्न बनाइएको जेब्रा क्रस चिह्नको बारेमा अनभिज्ञ छन्। जेब्रा क्रस चिह्नको महत्वका बारेमा जानकारी नहुँदा अधिकांश पैदलयात्री जथाभावी सडक वारपार गर्ने गरेका छन्। 

    जथाभावी सडक वारपार गर्नेलाई जेब्रा क्रसिङबारे जानकारी दिए पनि अधिकांश सर्वसाधारणलाई जानकारी नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक थापाले बताए। ‘जेब्रा क्रसिङबाट सडक वारपार गर्नुपर्छ भन्ने जानकारी भएकाले समेत जथाभावी बाटो काटेको पाइन्छ,’ उनले भने, नजानेको त कुरै छोडौँ।’ 

    उनले सवारी साधन चालकलाई समेत जेब्रा क्रसिङको बारेमा राम्रो जानकारी नभएको बताए। नेपालगञ्ज र कोहलपुरको सडकमा पहिलो पटक यस्तो व्यवस्था गरिएकोले धेरैजसो मोटरसाइकल चालकलाई जेब्रा क्रसिङको बारेमा जानकारी नभएको बताए। ‘जेब्रा क्रसिङ भएको ठाउँमा समेत तीव्र गतिमा सवारी साधन चलाएको देखिन्छ, नयाँ मोटरसाइकल चालकले लापरवाही गरेको पाइन्छ,’ ट्राफिक प्रहरी निरीक्षक थापाले भने। 

    नियम नबुझ्दा ट्राफिक व्यवस्थापनमा समस्या
    ट्राफिक प्रहरीले समय–समयमा ट्राफिक नियमको बारेमा जानकारी दिए पनि धेरैजसोलाई जानकारी नभएको ट्राफिक प्रमुख थापाले बताए। उनले सवारी साधन दायाँबाट काट्ने की बाँयाबाट काट्ने जानकारी समेत सवारी चालकलाई नभएको बताए। मोटरसाइकल, कार, जीप, ठूला गाडी कुन लेनमा हिँडाउने जानकारी चालकलाई नभएको बताए। ‘जानेर पनि नजानेको जस्तो गरेर होकी नजानेर हो विपरित दिशाबाट समेत सवारी साधन चलाएको पाइन्छ, ट्राफिक नियमको जानकारी एकदमै कमलाई भएको जस्तो लाग्छ,’ थापाले भने। 

    उनले ट्राफिक नियमविपरीत सवारी साधन चलाउने र सडक वारपार गरिदिँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको बताए। ट्राफिक नियमविपरीत सवारी साधन चलाउनेलाई कारवाही गरेको बताउँदै उनले सचेतना आवश्यक भएको बताए। उनले नेपालगञ्ज र कोहलपुरमा बनाइएका जेब्रा क्रस चिह्न गुणस्तरीय नभएको बताए। ‘सडकमा बनाइएका जेब्रा क्रस चिह्न गुणस्तरिय छैनन्, सडकमा बनाउनुपर्ने ट्राफिक संकेत पनि पर्याप्त छैनन्,’ उनले भने। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]