समाज

बिहीबार दिउँसोदेखि बागलुङमा लागेको डढेलो अझै नियन्त्रणमा आएन

पुस १, २०७४

    बागलुङ : बागलुङ ताराखोलाको जंगलमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासी संयुक्त रुपमा खटिएका छन्। शुक्रबार जिल्ला सदरमुकाम बागलुङ बाजरबाट हिँडेको नेपाली सेनाको टोली आज दिउसो घटनास्थल पुगेर स्थानीयवासीसँग आगो नियन्त्रणमा खटिएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए।

    बिहीबार दिउँसो ताराखोला–५ लाबाङ पारिको खरबारीबाट सल्कीएको आगो जंगलमा फैलिएर २ सय हेक्टर वन क्षेत्रका डढेलो लागेको छ। ५ सय भन्दा बढी स्थानीयसँगै २५ जना सेना प्रहरीको टोलीले आगो नियन्त्रको काम गरिरहेको स्थानीय मालारानी आधारभूत विद्यालयका शिक्षक कमल घर्तीले जानकारी दिए।

    ‘आज त विहानैदेखि ताराखोलाको सबै गाउँबाट आएर स्थानीयवासी आगो निभाउन जुटेका छन्,’ डढेलो लागेको ठाउँमै रहेका घर्तीले थाहाखबरसँग भने, ‘नेपाली सेना पनि आईपुगेको छ, सबैको प्रयासले आगो नियन्त्रणमा सफला मिल्ने आशामा काम गरिरहेका छौँ।’ अठ्यारो भिरमा विशाल रुपमा आगो फैलिएको र माथिबाट ढुङ्गा पल्टिरहेकाले आगो निभाउन जोखिम भएको उनले जानकारी दिए।

    अहिले आगलानी भएको जंगल क्षेत्रको पुरै भागलाई वरिपरिबाट घेरा हालेर अग्नीरेखा बनाउँदै निभाउने काम भईरहेको छ। आगो निभाउन तीन दिनदेखि ताराखोलावासीले गरेको प्रयासले डढेलो नियन्त्रण सम्भव नभएपछि नेपाली सेनाको समेत साथ लिएर निभाउने अन्तिम प्रयास भईरहेको बागलु–२ क ‘क’ निर्वाचित प्रदेश सभा सदस्य चन्द्रबहादुर बुढाले जानकारी दिए।  

    काँडा पोल्ने क्रममा बालिएको आगो खरबारी हुँदै आसपासको जंगलमा फैलिएको हो। धस्मर र करिमेला गाउँमाथिको जंगल तथा वडा नम्बर–४ को तिनचुले सामुदायिक वन आसपासमा ठूलो मात्रामा आगो फैलिएको ताराखोला–५ का वडाअध्यक्ष रामबहादुर रोकाले जानकारी दिए।

    शुक्रबार मध्यान्हतिर नियन्त्रणनजिक पुगेको डढेलो दिउँसोदेखि एक्कासी फैलिन थालेपछि स्थानीयवासी झन् आतंकित भएका छन्।

    पालो बाँढेर आगो निभाउन खटिएका स्थानीयवासीलाई घटनास्थाल नजिकै खाना खुवाउने व्यवस्थाका लागि ताराखोला–५ को उक्रुडाँडामा मेश सञ्चालन गरिएको स्थानीय शिक्षक पूर्णभद्र निउरेले जानकरी दिए। ‘धेरै मान्छे तीन दिनदेखि लगातार डढेलो नियन्त्रणमा खटिईरहनुभएको छ,’ निउरेले भने, ‘घरमा पुगेर खान खान ढिला हुने भएकाले घटनास्थलमै खाना खाने व्यवस्था गरेका छौँ।’

    घनाजंगलमा फैलिएको डढेलोले झण्डै २ सय हेक्टर क्षेत्रफलमा रहेको वनको प्राकृतिक सम्पदा नष्ट गरेको छ। स्थानीय वासीन्दाको व्यक्तिगत खरबारी, दुर्गा भावानी माविको नाममा भएको वनसँगै सामुदायिक तथा सरकारी वनक्षेत्रमा रहेका रुख बिरुवा, घाँस, बन्यजन्तु र जडीबुटी नष्ट हुँदा करोडौँको क्षेती भएको स्थानीय खिमबहादुर घर्तीले जानकारी दिए।

    ‘यति ठूलो वनमा लगातारको आगोले यहाँका सबैकुरा पूर्ण रुपमा ध्वस्त गरेको छ,’  उनले थपे, ‘क्षतिको त हामी अनुमान पनि गर्नसक्ने अवस्थामा छैनौँ, करोडौँ मूल्य बराबरका प्राकृतिक सम्पदा नष्ट भएका छन्।’  

कृष्ण कँडेल

 कँडेल ०७५/४/१० सम्म थाहाखबरका बागलुङ संवाददाता थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]