राजनीति

एमाले र माओवादीका शीर्षनेताले एउटै मञ्चबाट भने - अब पार्टी एकता

एमाले महासचिव पोखरेलका मतदातालाई धन्यवाद दिन प्रचण्ड पुगे, ओली आएनन्

पुस १, २०७४

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अब पार्टी एकता गर्ने बताएका छन्। शनिबार काठमाडौंको शंखपार्कमा एमालेको काठमाडौं क्षेत्र नम्बर ५ निर्वाचन परिचालन समितिले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा एमाले र माओवादी नेताहरुले चुनावी नतिजा आएकाले अबको ध्यान पार्टी एकता र सरकार निर्माणमा हुने बताएका हुन्। 

    पार्टी एकतालाई जनताले अनुमोदन गरेः प्रचण्ड

    कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले जनमतबाट एमाले र माओवादी केन्द्रको पार्टी एकताको विषय अनुमोदन भइसकेको बताए। २०१९ सालबाट विभाजन भएका कम्युनिष्ट पार्टीहरुलाई एक बनाउन जनताले आधार तयार पारेको बताए। ‘पार्टी एकता गर्नलाई प्राविधिक कारणले अफ्ठ्यारो थियो। त्यही भएर हामीले संयुक्त चुनाव लड्ने योजना बनायौं। संयुक्त घोषणापत्र सार्वजनिक गर्‍यौं। साझा उम्मेदवार पनि उठायौं’, प्रचण्डले भने,‘तर अब हामीलाई केही अफ्ठ्यारो छैन। जनताले आधार पनि तयार गरिदिए। अब पार्टी एकता गरेर कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्छ।’

    उनले पार्टी एकतालाई अब अन्तिम रूप दिएर अघि बढ्नु पर्ने बताए। उनले भने,‘जनअनुमोदन भइसकेका कारण अब पार्टी एकतालाई अन्तिम रूप दिनुपर्छ। अब समृद्धिको नयाँ युग सुरु भएको छ। अब हाम्रा ध्यान विकास र समृद्धिमा हुनुपर्छ।’ अध्यक्ष प्रचण्डले यसपटकको निर्वाचनमा वाम गठबन्धनले पाएको सफलता दुई दलको संघर्ष र मिहिनेतको उपज भएको बताए। उनले भने,‘ यो जित दुई पार्टीबाट फ्यूजन भएर भएको भन्ने विर्सन हुन्न। माओवादीका कारण एमाले र एमालेका कारण माओवादीले निर्वाचनमा यो परिणाम ल्याएको होइन। यहाँ दुई पार्टीको फ्युजनका कारण यो परिणम आएको हो।’

    कम्युनिष्टले काम गर्दैनन् भन्नेलाई जवाफ दिनु पर्छ: खनाल

    एमाले वरिष्ठ नेता खनालले चुनावअघि कम्युनिष्ट सरकारआएमा काम गर्दैनन् भन्नेलाई जवाफ दिन पनि विकासमा र समृद्धिमा ध्यान दिनुपर्ने बताए। उनले भने,‘चुनावअघि विपक्षीले पार्टीले हामीलाई धेरै अरोप लगाएका थिए। कम्युनिष्ट सरकार आयो भने यो हुन्छ र त्यो हुन्छ भन्थे',उनले भने,‘अब हामीले उनीहरुलाई जवाफ दिन लोकतन्त्रलाई संउन्नत र केही नेताको मात्र होइन आमजनताको बनाउँन हामी लागि पर्नुपर्छ। जनताको मतको सम्मान गर्नुपर्छ।’

    उनले गठबन्धन आफूहरुले घोषणा गरेको घोषणापत्र अनुसार अघि बढ्ने बताए। खनालले आर्थिक विकास पार्टीको केन्द्रविन्दु' हुने बताए। उनले आफूहरु सरकारमा गएपछि अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउने बताए। खनालले भने,‘हामी कोहीतिर ढल्कदैनौं। वैदेशिक नीति सन्तुलित बनाउँछौं। भारत र चीनसँग हाम्रो सम्बन्ध सन्तुलित हुन्छ।’

    पहिले सरकार अनि पार्टी एकताः नेपाल

    एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकता सरकार निर्माणपछि हुने बताए। उनले सबै मत परिणाम आएको ३५ दिनभित्र सरकार गठन गरिसक्नुपर्ने व्यवस्था अनुसार पहिला सरकार गठन गर्ने, त्यसपछि मात्र पार्टी एकता गर्ने बताए। उनले भने,‘पार्टी एकता आवश्यक हो। हाम्रो अबको प्रमुख मुद्दा पार्टी एकता नै हो। तर सबै मत परिणम आएको ३५ दिनभित्र सरकार गठन गर्नु पर्ने व्यवस्था अनुसार सरकार गठन गर्छौ। २ नम्बर प्रदेशबाहेक अरु प्रदेशमा हाम्रो बहुमतको सरकार बन्ने निश्चित छ। त्यसैले पहिला त्यता ध्यान केन्द्रित गर्नुपर्छ।’

    उनले आफूहरु प्रतिपक्षीलाई विश्वासमा लिएर विकास र समृद्धिको बाटोमा अघि बढ्ने बताए। ‘हामी विपक्षीलाई विश्वासमा लिएर अघि बढ्छौं। उहाँहरुले पनि संकीर्ण सोच राख्नुपर्ने आवश्यकता छैन, अब हातेमालो गरेर अघिबढ्नु पर्छ’ नेता नेपालले भने।

    एमाले महासचिव ईश्वर पोखरेल निर्वाचित भएको काठमाडौं ५ मा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायत एमाले र माओवादी केन्द्रका धेरै नेताहरु पुगेका थिए। यस क्षेत्रमा मतदातालाई धन्यवाद दिन एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भनिए पनि उनी कार्यक्रममा आएनन्। कार्य व्यस्तताका कारण ओली कार्यक्रममा सहभागी नभएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

चिरञ्जिबी घिमिरे

घिमिरे थाहाखबरमा ०७५ माघसम्म कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]