राजनीति

नयाँ शक्ति नेपालको कार्यक्रम जे देखियो, हेर्नुहोस् फोटो

जेठ ३१, २०७३
    • जीवन भण्डारी

काठमाडौं : मुलुकका ठूला पार्टीले आमसभा अयोजना गर्दा सडक अवरुद्ध पारेर जुलुस निकाल्ने गरेका भए पनि नयाँ शक्ति नेपालले आज निकालेको जुलुस सडक पेटीबाट मात्र अगाडि बढ्यो। 

जुलुसलाई सडकको पेटीबाट हिँडाउने नयाँ शक्तिको यो अभ्यासलाई धेरैले अनुकरणीय मानेका थिए। झन्डै बीस वर्षदेखि काठमाडौँमा बस्दै आउनुभएका झापाका सुजन घिमिरेले यसलाई ‘नयाँ शक्तिको नयाँ अभ्यास’को सङ्ज्ञा दिनुभयो। कार्यक्रम सञ्चालिका तथा पार्टी नेत्री करिश्मा मानन्धरले पनि सडकको छेउछाउबाट जुलुस आउँदा सुरक्षाकर्मी र दर्शकले राम्रो मानेका कार्यक्रममा पटकपटक बताउनुभएको थियो। 



सडकको पेटीबाट जुलुस हिँडाउनेबाहेक नयाँ शक्तिको घोषणा कार्यक्रममा अरु पनि केही नयाँ अभ्यास तथा प्रयोग भएको पाइयो। कार्यक्रमको सुरुमा राष्ट्रिय गानको धुनका लागि प्रत्यक्ष वाद्यवादन गराइएको थियो। जबकी अन्य कार्यक्रममा भने पहिले नै रेकर्ड गरिएको गान बजाउने अभ्यास हुँदै आएको थियो। 

नेपालको राजनीतिक इतिहासमा सम्भवतः पहिलोपटक सार्वजनिक रुपमा हजारौँको उपस्थितिमा पार्टी घोषणा गर्दै सपथ खुवाइएको छ। पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले त यसरी खुल्ला रुपमा सामूहिक तरिकाले पार्टी घोषणा गरिएको आफूलाई अहिलेसम्म थाहा नभएको बताउनुभयो। 



नेपालमा गरिने अधिकांश कार्यक्रममा वक्ता तथा अतिथि मञ्चमा र दर्शक तथा स्रोता मञ्चभन्दा तल बस्ने व्यवस्था गरिएको हुन्छ। तर नयाँ शक्तिले गरेको कार्यक्रममा भने वक्ता बोल्ने बेलामा मात्रै मञ्चमा जाने व्यवस्था गरिएको थियो। पत्रकारलाई फोटो तथा भिडियो खिच्न पटक पटक मञ्चमा जान दिइएको थियो। फोटो पत्रकार मनिकर कार्कीले आफूले चाहेजस्तो व्यवस्था भएको भन्दै सन्तोष व्यक्त गर्नुभयो। 



कार्यक्रमस्थलमा चुरोट तथा पानपराग प्रयोगमा पूर्णनिषेध रहेको मञ्चबाट पटकपटक जानकारी गराइएको थियो भने स्वयम्सेवक कालो कोट पाइन्टमा खटिएका थिए। निकै कम मात्रै अभ्यास भइरहेको कार्यक्रमस्थलमा ‘ड्रोन’ क्यामेराबाट दृश्य कैद गर्ने अभ्यास पनि नयाँ शक्तिको कार्यक्रममा भएको पाइयो। 

राष्ट्रियस्तरका पत्रपत्रिकामा पहिलो पृष्ठ पूरै विज्ञापन छापेर पार्टी घोषणासभामा निमन्त्रणा गर्ने पार्टी पनि नयाँ शक्ति नै पहिलो भएको छ। पत्रिकामा विज्ञापन छाप्नुलाई पार्टीका संयोजक भट्टराईले भित्ता फोहोर बनाएरभन्दा सूचना र प्रविधिको प्रयोग गरेर कार्यक्रमको प्रचार गर्नु पर्दछ भन्ने आफूहरुको मान्यता रहेको प्रष्ट्याउनुभयो। 



घोषणासभामा सहभागीले कार्यक्रमको व्यवस्थापकीय पक्षमा केही नयाँ महसुस गरे पनि शुभकामना दिने विभिन्न पार्टीका नेताले भने राजनीतिक व्यवहार पनि नयाँ र अनुकरणीय हुनुपर्नेमा जोड दिनुभएको थियो। 

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरालगायत विभिन्न पार्टीका नेता र विदेशी पाहुनाले समेत नयाँ शक्तिलाई सकारात्मक नयाँपनका लागि शुभकामना दिनुभएको थियो।

 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]