समाज

बाढीको डरले गाउँ छाडेर भागेकाहरु फर्किए

जेठ ३२, २०७३

    सोलखुम्बु : ल्होत्से हिमालको हिमनदीमा बाढी आउँदा बस्ती छाडेर गएका खुम्जुङका छुकुङवासी घर फर्किएका छन्। 

    सोमबार साँझपख आएको बाढीले हिमनदीको उच्च जोखिममा रहेको खुम्जुङ गाविसमा पर्ने छुकुङ गाउँका बासिन्दामा त्रास उत्पन्न भएको थियो र उनीहरु राति बस्ती छाडेर भागेका थिए। 

    गाउँमाथि नै रहेको ल्होत्से हिमालको हिमतालबाट अकस्मात ठूलो बाढी आएपछि भागेर डाँडामा गई रातभर जागै बसेको स्थानीयवासी लोप्साङ शेर्पाले बताउनुभयो। 

    गाउँको छेवैबाट बग्ने हिमनदीमा यसरी बाढी आएको भूकम्पपछि यो दोस्रो पटक हो। सोमबार साँझ आएको बाढी केही घन्टापछि सुकेर नदी सतह पूर्ववत् रुपमा आएको उहाँले बताउनुभयो। 

    हिमालको फेदमा रहेको स–साना हिमपोखरी फुटेर बाढी आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ। गतवर्ष पनि ल्होत्से हिमालकै हिमतालबाट बगेर आएको पानीले गाउँमा क्षति पुर्‍याएको थियो । 

    जोखिमपूर्ण भनिएको इम्जा हिमताल नजिकै रहेको यस गाउँमा इम्जाको डर नभएपनि स–साना हिमपोखरीको धेरै डर भएको गाउँलेहरु बताउँछन्। सोमबार आएको बाढी पोखरी फुटेर नभई हिमनदीमुनि जमेर बसेको पानीका कारण भएको हिमतालका ज्ञाता डा धनञ्जय रेग्मीले बताउनुभयो। 

    यसअघि आएको बाढीले त्यहाँको पुल भत्काएको थियो। अहिलेसम्म पुल निर्माण र गाउँको संरक्षणमा सरकारको ध्यान पुग्न सकेको छैन। पर्यटकीय गाउँ छुकुङमा १० परिवारका करिब ५० सदस्य बस्ने गर्दछन्। आरोहणका लागि चर्चित आइल्यान्ड पिक पनि सोही क्षेत्रमा पर्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]