मनोरञ्जन

भाषाविद् चूडामणि गौतमले ल्याए 'विवादित वर्णविन्यासको नेपाली शब्दकोश'

असोज १४, २०७३

    काठमाडौं : प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा जोगाउने नाममा देवनागरी लिपिलाई सिध्याएर रोमन लिपि ल्याउने तयारी गरेको आरोप भाषाविद्हरुले लगाएका छन्।

    चूडामणि गौतमको नयाँ पुस्तक 'विवादित वर्णविन्यासको नेपाली शब्दकोष' विमोचनमा उपस्थित भएका अधिकांश भाषाविद्हरुले नेपाली भाषालाई पटक-पटक बिगार्ने काम भएको बताए। पुस्तक विमोचन गर्दै भाषाविद् वसन्तकुमार शर्मा नेपालले भने,'भाषाको विवाद पटक-पटक आइरहेको छ। यस विषयमा बोल्दा बोल्दै बुढो भएँ। अब यही विषयमा बोल्दा बोल्दै मर्छुजस्तो लाग्छ।' उनले आफन्तलाई राखेर प्रज्ञा प्रतिष्ठान चलाउँदै सरकारले भाषा बिगार्ने काम गरेको आरोप लगाए।

    भाषाविद् मुकुन्द शरण उपाध्यायले २०३४ सालबाटै परिवर्तनका नाममा भाषामा विकृति देखिन थालेको बताए। 'आगन्तुक 'श' लाई पातलो 'स' मा परिणत गर्ने काम २०३४ सालबाटै भयो।  कुनै समिति वा सभाले मोटो 'श' लाई पातलो र दिर्घलाई ह्रस्व बनाउने र यसलाई लागू गर्ने काम गरिनुहुन्न भन्दै मैले ३ दशकदेखि विरोध गर्दै आँए।' उनले थपे,' शब्दकोशमा शुद्धता पहिल्याउन लाग्नुपर्छ। जसका लागि पूर्वजहरुले धेरै कुरा भन्नु भएको छ। त्यसमा पूर्वजले भनेका कुरालाई नै सही मान्नुपर्छ।'

    लेखक तथा भाषाविद् चूडामणि गौतमले यस पुस्तकलाई भाषा विवादको चौथो धक्का भन्न चाहे। 'नेपाली भाषा डुब्दाको पीडा साटासाट गर्न हामी यहाँ उपस्थति भएका छौ। मैले ७ ग्रामदेखि २ किलोसम्मका गरेर अहिलेसम्म ९३ पुस्तक ल्याएँ। नेपाली, अंग्रेजी, व्याकरण र शब्दकोष लेखेको छु। भाषा विवाद सम्बन्धि यो चौथो पुस्तक हो। विवादबारे अब लेख्नु नपरोस् भन्ने लाग्छ।', पुस्तकबारे प्रकाश पार्दै गौतमले भने। 

    भाषाविद् शरदचन्द्र वस्तीले सरलताका नाममा हिज्जे बिगारेर भाषा सरल नहुने बताए। 'नेपाली भाषामा समस्या नभएका ठाउँमा समस्या खडा गरेर यसलाई डुबाउने तयारी गरिरहेका छन्। देवनागरी लिपिलाई सिध्याएर रोमन लिपि ल्याउने तयारी स्वरुप यो सबै काम भइरहेको हो।', वस्तीले भने।  

    कार्यक्रमका सभापति तथा 'भाषा बचाउ अभियान' का संयोजक डाक्टर बलदेव अधिकारी 'गाउँले' ले २०५७ सालपछि नेपाली भाषाका सम्बन्धमा प्रज्ञा प्रतिष्ठानबाट गरिएका सम्पूर्ण निर्णय बदर गर्न माग गरे।'हामी भाषा बचाउन कटिवद्ध छौ।' गाउँलेले भने।

    गौतम प्रकाशनले ल्याएको यस पुस्तक ३ सय ३६ पृष्ठ लामो छ। २ सय रुपैयाँ मूल्य पर्ने यस पुस्तक अहिलेको भाषा विवादले सिर्जना गरेका कमजोरी र नेपाली भाषाको शुद्ध स्वरुपका विषयमा रहेको लेखक चूडामणि गौतमले बताए।

जयसिंह महरा

महरा २०७६ मंसिर १५ सम्म थाहा खबरमा कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]