समाज

विद्यालयमै जातीय छुवाछूत : डोम महिला भान्से राखेपछि खाजा बन्द

विद्यालयमा भर्खरै भान्से नियुक्त भएकी भालसैर मरिक
जेठ २९, २०७५

    लहान : जातीय छुवाछूत र भेदभावलाई कानुनले निषेध गरी दण्डनीय मात्र बनाएको छैन, निजी र सार्वजनिक स्थलमा विभेद गर्ने कार्यलाई समेत बन्देज लगाएको छ। तर सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरस्थित सामुदायिक विद्यालयमा जातीय छुवाछूतको कारणले तीन दिनदेखि खाजा कार्यक्रम नै बन्द गरिएको छ। 

    खाजा कार्यक्रमका लागि विद्यालय व्यवस्थापन समितिको बैठकले डोम समुदायकी स्थानीय भालसैर मरिकलाई भान्से नियुक्त गरेपछि 'कथित' उपल्लो जातिकाहरुले खाजा कार्यक्रम नै बन्द गरएका हुन्। गोविन्दपुरस्थित जनता आधारभूत विद्यालयमा कार्यरत बाल विकास सहजकर्ता गीता रोक्का मिझारले टिफिनको समयमा आफैँले खाजा झिकेर खाएपछि उपल्ला जातकाहरुले खाजा कार्यक्रम नै बन्द गरेको स्थानीय दलित अभिभावकहरूको अारोप छ।

    ‘केही दिनदेखि विद्यालयमा बालबालिकाको खाजा बन्द छ’ स्थानीय अभिभावक राजकुमार पासवानले भने ‘जातीय भेदभाव गर्नेहरूविरुद्ध कारबाही हुनुपर्छ।’

    कसरी गरियो विभेद ?

    सहजकर्ता मिझारले खाजाको लागि पकाइएको चना आफैँले झिकेर खाएको भोलिपल्ट जेठ २१ गते टिफिनमा हलुवा खान खोज्दा प्र.अ. जनदीश यादव र भान्से महताले भान्साको साँचो लुकाएका थिए। साँचो खोजी गर्ने क्रममा भान्से महतोले रोक्कालाई ‘तल्लो जातकी’ भन्दै विद्यालयमै गालीगलौज गरेकी थिइन्। 

    आफैँ कार्यरत विद्यालय जस्तो ठाउँमा जातीय रुपले भेदभाव र अपमान गरिएपछि सहजकर्ता मिझारले विद्यालय प्रशासनमा उजुरी दिएकी थिइन्। ‘उजुरीको विषयमा शिक्षकहरुसँग बसेर छलफल गर्ने योजना बनाउँदै थिएँ’ प्र.अ. यादवले भने ‘अभिभावकहरु आएर सोधखोज गरेपछि घटना बाहिर अाएको हो।’ 

    समितिले राख्यो डोम महिला भान्से

    विद्यालयमा जातीय छुवाछूत गरिएपछि स्थानीय दलित अभिभावकहरूले जेठ २५ गते विद्यालय व्यवस्थापन समितिको बैठकमार्फत् भान्से महतोलाई हटाएर भालसैर मरिक र सहयोगीको रूपमा उर्मिला मिझारलाई नियुक्त गरेका  थिए। पर्सिपल्ट वडाध्यक्ष रामपुकार कामती र प्रअ यादवको मिलेमतोमा समितिको अर्को बैठकको 'माइन्युट' खडा गरी ‘मलाई खाजा बनाउने अनुभव नरहेकोले विद्यालयको नियमित सरसफाइको काम गर्न मञ्जुर छु’ भन्ने व्यहोराको निर्णय गरिएको थियो।

    भान्से नियुक्त गरिए पनि भान्साको साँचो नदिइएपछि तीन दिनदेखि विद्यालय आउँदै फर्किंदै गरेकी मरिकले भनिन् ‘मैले खाजा बनाउन आउँदैन भनेकै छैन, मलाई डोम भनेर हेपिएको हो।’ डोम महिलालाई भान्से राखे अन्य समुदायका  विद्यार्थीलाई विद्यालय पठाउनु हुँदैन भन्दै समितिका अध्यक्ष दाउद राइन स्वयम् घर घर पुगिरहेको गाउँलेहरू बताउँछन्।

    कानुन अनुसार कारबाही : प्रजिअ 

    सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले त्यसमा संलग्न जोसुकैलाई कानुन अनुसार कारबाही हुने बताए। ‘कानुनले बन्देज गरेको जातीय छुवाछूत गर्ने, उक्साउनेहरुलाई कानुन अनुसार कारबाही गर्छौं’ उनले भने। 
     

मणिलाल विश्वकर्मा

विश्वकर्मा थाहा खबरका सिरहा संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]