खेलकुद : विश्वकप फुटबल २०१८

सलाह : विश्वकपमा ‘नपत्याउने खोला’

जेठ २९, २०७५

    ‘नपत्याउने खोलाले बगाउँछ’ लोकोक्ति नै छ। इजिप्टका फुटबलर मोहम्मद सलाह पछिल्लो वर्ष इंलिस प्रिमियर लिगमा ‘नपत्याउने खोला’ नै थिए। तर उनले साँच्चै बगाए। आफ्नो अविस्मरणीय प्रदर्शनकै बाढीमा अरू टिमलाई बगाउने सलाहले ब्राजिली फेर्मिलो र सेनेगली सेडियो मानेसँग मिलेर लिभरपुरलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्‍याए तर दुर्भाग्य के भने सलाह, फेर्मिनो र मानेहरूको मिहिनेतलाई जर्मनीका गोल किपर लोरिस करिउसले पानीमा डुबाए। सुन्दर सपनामा डढेलो लगाए। सबै सत्यानाश गरे।

    सलाह, माने र फेर्मिनोहरूकै बलबुतामा ११ वर्षपछि लिभरपुल च्याम्पियन लिगको फाइनलसम्म पुगेको हो। तर दुर्भाग्य, बलियो रियल म्याड्रिडविरुद्ध टिमका गोल किपर करिउसले पानीमरुवा प्रदर्शन गरे। रियललाई जिताउन यिनै गोल किपर सहयोगीको भूमिकामा देखापरे। सन् २०१७-०१८ सत्र मोहम्मद सलाहका लागि उत्कृष्ट रह्यो। यो उच्च प्रदर्शनले उनलाई धेरै उपाधि दिलाए। एक सत्रमा सबैभन्दा बढी गोल गर्ने रोनाल्डोको रेकर्ड तोडे। मेस्सीलाई पछि पारे। सबैभन्दा ठूलो कुरो इजिप्टलाई विश्व कपको मूल पर्वमा पुर्‍याए। आज इजिप्ट विश्व कपमा छ त सलाहको कारण हो। र, अघिल्लो चरणमा पुगिहाले यी २५ वर्षका खेलाडीकै कारण पुग्नेछ।

    सलाह ती खेलाडी हुन्, जसलाई चेल्सीका प्रशिक्षक जोस मोरिन्होले २०१४-०१६ को सत्रमा अधिकांश म्याचमा बेञ्चमा बसाएका थिए। लगभग ३६ कै आँकडा रहेको  मोरिन्होले सलाहलाई टिममा राखिरहन उचित ठानेनन्। त्यसैले इटालियन क्लब एएस रोमालाई बेचे। रोमालाई बेचिनु सलाहका लागि वरदान नै साबित भयो। रोमामा यी अफ्रिकी खेलाडीले जस्तो खेले, त्यसबाट उनीप्रति विश्वको दृष्टि तानिन सुरु भयो। इंलिस क्लब लिभरपुलको तीखो आँखामा सलाहमा पर्‍यो। यसका प्रशिक्षक जर्मन क्लोपले उनलाई पुनः इंलिस प्रिमियर लिगमा ल्याए। यहीँबाट सलाहको खेल जीवनले उच्चता प्राप्त गर्‍यो।

    स्पोर्ट्समा एउटा भनाइ चर्चित छ, 'खेलाडीको ‘फर्म होइन क्लास’ महत्त्वपूर्ण हुन्छ।' लय गुमाइसकेका खेलाडीले पनि आफ्नो विशेष क्लासकै कारण पुनः लय प्राप्त गर्छन्। आज उच्च लयमा रहेका खेलाडीमा भोलि त्यो लय नहुन सक्छ तर क्लास सधैँ रहनेछ। यो क्लासले नै कुनै खेलाडीलाई माथि पुर्‍याउँछ। आज हामी रोनाल्डो, मेस्सीहरूको ‘क्लास’कै फ्यान हौँ। अहिले सलाहलाई मनपराइरहेको पनि क्लासकै कारण हो। यो ‘क्लास’ले नै उनी इजिप्टका मेस्सी हुन्। इजिप्टका रोनाल्डो हुन्।

    बललाई लिएर विपक्षी दलको गोल पोस्टतिर दौडिने र गोल गर्ने जुन कला सलाहमा छ, त्यो साँच्चै अद्भूत र मन हर्ने छ। आज यो कलाकै कारण उनी विश्वका राम्रा स्ट्राइकर बनेका छन्। वाह! वाह! बटुलिरहेका छन्। रूस विश्व कपमा सबैको आँखामा परेका खेलाडी बनेका छन्। वास्तवमा आज जजसले इजिप्टको नाम लिइरहेका छन्, सलाहकै कारण लिइरहेका हुन्। सलाह अर्थात् इजिप्ट। सलाह अर्थात् इजिप्टको सपना। अफ्रिकी देश इजिप्ट २८ वर्षपछि विश्व कपको मूल पर्वमा पुगेको छ। यसअघि सन् १९३४ र १९९० गरी केवल दुई पटक इजिप्ट विश्व कपको मूल पर्वमा पुगेको थियो। यद्यपि, यसले विश्व कपमा अहिलेसम्म एकै म्याच पनि जित्न सकेको छैन। यसैले पनि इजिप्टका यी नयाँ ट्यालेन्ट सलाहमाथि थुप्रै दायित्व छ। थुप्रै आशा भरोसा छ। खुला आँखाले देखेको सुन्दर सपना छ। त्यो देखेको सपनालाई साकार बनाउने पहाड जत्रो चुनौती पनि छ।

    विश्व कपमा इजिप्टको यात्रा सहज छैन। पुरानो इतिहासलाई फेर्ने चुनौती पहाडभन्दा अग्लो छ। समूहमा एउटै म्याच जिते इजिप्टले इतिहास फेर्नेछ तर केवल एउटा म्याच जित्ने लक्ष्य सलाहहरूको पक्कै होइन। राम्रो खेल्न सके अघिल्लो चरणमा पुग्नसक्ने सम्भावना र विश्वास इजिप्टलाई छ। यो समूहमा सलाहहरूको बलियो चुनौती भनेको उरुग्वे हो, जसलाई जित्न इजिप्टलाई साँच्चै फलामको चिउरा चपाउनु जस्तै गाह्रो हुनेछ। गाह्रो हुन सक्ला तर जित्नै सक्दैन भन्ने पनि ठोकुवा गर्न मिल्दैन। फुटबल खेलमा असम्भव भन्ने केही हुँदैन। अपत्यारिला थुप्रै परिणाम हामीसामु छन्। यसै पनि इजिप्ट र सलाहहरू म्याचको परिणाम उल्ट्याउन खप्पिस छन्। असम्भवलाई सम्भव बनाउन पोख्त छन्। म्याचको परिणाम उल्ट्याएरै र असम्भवलाई सम्भव बनाएरै आज इजिप्ट विश्व कपमा छ।

    यो अफ्रिकी टिमका लागि उरुग्वे ‘पहाड’ भए तापनि आयोजक रूस र साउदी अरब आफूसमान ‘मैदान’ टिम हुन्। यी दुई टिमलाई पराजित गर्नसके इजिप्ट अवश्यै अघिल्लो चरणमा पुग्नेछ। यदि सलाहहरूले यसो गर्न सके इजिप्टेली फुटबलको उकालोतिर यात्राका लागि कोशेढुंगा सावित हुनेछ। आगामी दिनमा उज्यालो सम्भावनाका धेरै खुड्किलाहरू उघार्नेछ। स्पेनी क्लब रियल म्याड्रिडविरुद्ध च्याम्पियन लिगको फाइनलमा घाइते भएका इजिप्टका यी स्टार खेलाडी विश्व कपको आफ्नो म्याचअघि नै पूर्ण रूपले फिट हुने प्रशंसकहरूलाई आशा छ। सलाह त्यस्ता खेलाडी हुन्, जसले एक्लै खटेर टिमलाई वैतरणी तार्ने क्षमता राख्छन्।

    विश्व कपको छनोट खेलमा उनले आफ्नो कौशल देखाइसकेका छन्। रिपब्लिक अफ कंगोविरुद्ध सलाहले जुन दुई गोल छिराए, त्यसले इजिप्टलाई २८ वर्षपछि विश्व कपको मूल पर्वमा पुर्‍यायो। हिजोसम्म सामान्य मानिने उनी आज आफ्नो असाधारण कलाको कारण विश्वकै राम्रा खेलाडी बनेका छन्। सलाहलाई छोडेर भर पर्न सकिने क्षमता भएको अर्को खेलाडी इजिप्टसँग छैन। यसैले इजिप्टेली नागरिक र इजिप्टलाई चियर्स गर्ने तथा सलाहको खेललाई मनपराउनेहरूले उनीमाथि ठूलो सपना देखेका छन्। आशा र भरोसाको चाङ लगाएका छन्। यसले दायित्वको गह्रौँ भारी उनको काँधमा थपिएको छ। दबाब उस्तै ठूलो छ। यद्यपि, दबाबमा राम्रो खेल्ने, आफ्नै बलबुतामा टिमलाई अघि लैजाने नै महान् खेलाडी हुन्।

    यो विश्व कपमा महान् खेलाडी बन्ने सलाहसामु सुनौलो मौका छ। यो मौकालाई सलाहले कतिसम्म सदुपयोग गर्नेछन्, हेर्नु छ। अहिले आफूले जन्माएको सलाहमाथि इजिप्टले देखेको सपना ‘इतिहासको सुधार’ हो। यो इतिहासलाई सलाहले जति सुधार्नेछन्, उनको ‘हाइट’ त्यति नै अग्लिनेछ। पछिल्लो वर्ष अफ्रिकी देशका सर्वश्रेष्ठ खेलाडी चुनिएका, यो वर्ष युरोपकै श्रेष्ठ खेलाडीमध्ये एक गनिएका सलाहप्रतिको आशा कतिको सार्थक हुन्छ, त्यसका लागि विश्व कप पर्खनै पर्छ।

शैलेन्द्र समदर्शी

दार्जिलिङका समदर्शी भारतको पश्चिम बंगालमा रहेर पत्रकारिता र साहित्य साधना गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]