समाज

किचकबधको डुंगा सेवा पाँचवर्षदेखि ठप्प !

असार ५, २०७५

    भद्रपुर (झापा) : पूर्वको धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल किचकबधमा लगानी गरिएको सरकारी बजेट खेर गएको छ। महाभारतकालीन इतिहास बोकेको किचकबधमा आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउने उद्देश्यले सञ्चालन ल्याएको डुंगा सेवा बन्द भएको छ।

    १९ लाख रुपैयाँ खर्चिएर निर्माण गरिएको पोखरीसहितको डुंगा सेवाको बजेट बालुवामा पानी हाले सरह भएको छ। अहिले पोखरीमा रहेको चारवटा डुंगा भत्किएर जीर्ण भएपछि प्रयोगविहीन बनेको छ। पोखरीभित्र लेउ, घाँस तथा झारपात पलाएपछि पानी नै हिलोमा परिणत भएको छ। 

    किचकबधलाई संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्यका साथ गठन गरिएको संरक्षण समिति र स्थानीय सरकार भद्रपुर नगरपालिकाले यसतर्फ खासै चासो नदेखाउँदा किचकबध ओझेलमा पर्दै गएको स्थानीय बताउँछन्। झापाको साविक पृथ्वीनगर र महेशपुर गाविस भू भाग छोएको हाल भद्रपुर नगरपालिका २ स्थित किचकबधमा पोखरी निर्माण गरी चारवटा डुंगा सञ्चालनमा ल्याएको थियो। 

    नेपाल सरकारको पर्यटन बोर्डको ६ लाख रुपैयाँ, तत्कालीन जिल्ला विकास समिति हाल जिल्ला समन्वय समिति झापाको ५ लाख रुपैयाँ र बाँकी रकम समितिका पदाधिकारीले तिहारमा देउसी भैलो खेलेर जम्मा गरिएको रकमबाट पर्यटन भित्राउने उद्देश्यले डुंगा सेवा सञ्चालनमा ल्याएको संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेवेले जानकारी दिए। उनले भने, ‘किचकबध छेऊबाट बग्ने देउनिया खोला छ। निकासा भएको बजेटबाट खोला नजिकैबाट तीन विगहा क्षेत्रफलमा पोखरी निर्माण गरेका छौं।’ 

    पोखरी निर्माण भएपछि चारवटा डुंगा ल्याएर ०६९ सालमा सेवा सुरु गरेको उनले बताए। प्रत्येक डुंगा २ लाख रुपैयाँको दरले खरिद भएको हो। तीनवटा समितिले र एउटा भद्रपुरका समाजसेवी पशुराम अग्रवाल दिएको उनको भनाई छ। ‘एकवर्ष पोखरीमा डुंगा सेवा सञ्चालन भएपछि ३० हजार मात्र आम्दानी भएको थियो’, उनले भने, ‘यो बन्द हुनुको मुख्य कारण देउनिया खोलामा ५०० मिटर तटबन्धनको खाँचो र पोखरीको पानी निकास हुने ठाउँ नभएर हो।’ 

    वडा तथा नगरपालिकाले सहयोग गरेन

    किचकबधको पोखरी छेऊसँगै बग्ने देउनिया खोला तटबन्धनका लागि वडा २ कार्यालय र भद्रपुर नगरपालिकाले सहयोग नगरेको संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेवेले बताए। डुंगा पोखरी र चिल्ड्रेन पार्क निर्माण लागि यसअघि भद्रपुर नगरपालिकासँग १५ लाख रुपैयाँ लिखित रुपमा माग गरे पनि बजेट निकासा नगरिदिएको उनले बताए। ‘पाँच वर्षदेखि ठप्प भएको डुंगा सेवा पुनः सञ्चालन र चिल्ड्रेनपार्क निर्माणका लागि फेरि आवश्यक कार्ययोजना बनाएर वडा कार्यालयमा पेश गरिने तयारी भइरहेको छ,' उनले थपे। त्यस्तै वडा २ का वडाअध्यक्ष भीम सुब्बाले किचकबधलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्नु आवश्यक रहेको बताए।

    बन्द भएको डुंगा सेवा सञ्चालनका लागि नगरपालिकासँग समन्वय नगरी सम्भव नहुने उनले बताए। उनले भने, ‘देउनिया खोलाको तटबन्धनपछि मात्र पोखरीमा डुंगा सेवा पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकिन्छ।’


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]