अर्थ

खानेपानी संस्थानमा दुई भाइमाथिको छानविन, ठूलो रकम अनियमितताको अाश‌ंका

असार ६, २०७५

    काठमाडौं :  भूपेन्द्र प्रसाद र ईश्वरी प्रसाद नाताले दुई दाजुभाइ हुन्। दाजु खानेपानी संस्थानमा महानिर्देशक छन् भने भाइ निर्देशक। दाजुभाइको मिलेमतोमा संस्थानमा धेरै काम अघि बढेका छन्।

    संस्थानमा हुने कतिपय काम अन्य अधिकारीलाई थाहा नै नहुने गरेको अधिकारीहरू बताउँछन्। दाजुभाइ मिलेर गरेको काममध्येको एक हो, पाइप खरिद प्रकिया। गत वर्ष निर्देशकको रूपमा रहेका दाजु र उपनिर्देशक रहेका भाइको बीचमा पाइप खरिद प्रकियामा मिलेमतो भएको आरोप लागेको छ।

    यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। यही उजुरी र मन्त्रालयमा परेको गुनासोले भूपेन्द्र र ईश्वरीमाथिको छानविन प्रकिया अघि बढाइएको छ।  गतवर्ष खानेपानी संस्थानका लागि पाइप खरिद गर्दा २५ करोड रुपैयाँ अनियमिताको आरोप लागेपछि छानविन सुरु गरिएको हो।

    अख्तियारले समेत छानबिनका लागि निर्देशन गरेको र मन्त्रालयले संस्थानका बारेमा नियमितजसो गुनासो आउन थालेपछि छानबीन समिति गठन गरेको छानबीन समितिका संयोजक गुणराज श्रेष्ठले बताए। 

    मन्त्रालयले कानुन उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा मन्त्रालयका इन्जिनियरद्वय दिनेश अधिकारी, शेखर खनाल, लेखा अधिकृत राजेन्द्रप्रसाद घिमिरे र नेपाल खानेपानी संस्थानका विष्णु सुब्बा सदस्य रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।  समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको श्रेष्ठले बताए।

    पाइप खरिद गर्दा किरण वैद्यको एक्जिम नेपाल र भाइराजा नकर्मीको फर्मसँग मिल्ने क्राइटेरिया बनाई २५/२५ करोड रुपैयाँको टेण्डर पारेको भन्दै अख्तियारमा उजुरी परेको थियो। दुवै टेण्डरलाई नियतवस १०/१० दिनको फरकमा निकालिएको र सार्वजनिक खरिद ऐन अन्तर्गत ग्लोबल टेण्डर नगरी उल्लिखित दुवै फर्मलाई उक्त टेण्डर दिइएको आरोप उजुरीमा छ।

    टेण्डरमा दुवै फर्मलाई ५० करोडको पाइप खरिद गर्न भनिए पनि नेपालगञ्ज भन्सार नाकाबाट १२ करोड र भैरहवा सुनौली भन्सार नाकाबाट १३ करोडको पाइप मात्रै भन्सार पास भएकोले २५ करोड घोटाला भएको उजुरीका आधारमा मन्त्रालयले छानबिन समिति गठन गरेको हो। 

    कतिपय टेण्डर छनोट प्रक्रियामा निर्देशक भूपेन्द्रले भाइ ईश्वरीलाई मूल्यांकन समितिको जिम्मेवारी दिने र भाइले सिफारिस गरे अनुरुप आफूले सदर गर्ने आरोप समेत लाग्दै आएको छ। कर्मचारी नै भए पनि एकै परिवारका सदस्य नै मूल्यांकन सिफारिस र सदर गर्ने अख्तियारी पाएका कारण अन्य टेण्डर र खरिद प्रक्रियामा घोटाला भएको गुनासो आएपछि मन्त्रालयले छानबिन अघि बढाएको मन्त्रालयले जनाएको छ। 

    निर्देशक भूपेन्द्र देउवा सरकारको पालामा संस्थानको महानिर्देशक बनेका थिए। त्यतिखेर मोटो रकम दिएर संस्थानको शाखा प्रमुखबाट उनलाई महानिर्देशक बनाइएको आरोप पनि लाग्ने गरेको छ। महानिर्देशक भूपेन्द्र प्रसादले भने सबैकुरा छानविनबाट खुल्ने बताउँदै पहिले शंका गर्नु उचित नभएको बताए।

    खानेपानी संस्थानमा अवैध रूपमा बोर्ड सदस्य थपिएको भन्दै गत साता बसेको मन्त्रिपरिषदको बैठकले नौ जना मात्रै बोर्ड सदस्य रहने निर्णय गरेको थियो।

भागवत भट्टराई

भागवत भट्टराई 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]