खेलकुद : विश्वकप फुटबल फिचर

म्याराडोना, बाजियोदेखि मेसीका फ्यान पूर्वकप्तान अमात्य

असार ७, २०७५

    काठमाडौं : जर्मन प्रशिक्षक होल्गर ओभरम्यानका खोज दीपक अमात्य माडको जोहोका लागि अमेरिका भासिए। उनलाई त्यसमा कुनै अपसोच छैन। मात्र अपसोच छ त, राष्ट्रको फुटबलका लागि केही गर्न नसकेकोमा। उमेर ढल्किसकेको छैन। मात्र ४७ वर्षमा हिन्दै गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानले ३ वटा दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउन पाए। भविष्यमा नेपाली फुटबलका लागि केही गर्ने धोको अहिले पनि उनको मनमा छ।

    सन् १९९३ मा उनी खेलेको नेपाली राष्ट्रिय टोली साफको स्वर्ण पदक भिरेर स्वदेश फर्कियो। १९९९ मा उनकै कप्तानीमा गृहमैदानमा खेल्दा रजत पदकमा नै चित्त बुझाउनु पर्‍यो। १९९३ मा स्वर्ण जित्दा उनको मन जति रमाएको थियो। १९९९ मा रजत जित्दा त्यति नै दुख्यो, त्योभन्दा बढी रोयो, उनको मन।

    ओभरम्यानको युवा परियोजनाका खोज अमात्यले सन् १९९७ मा विश्वकप छनोटमा मकाउविरुद्ध गोल गरेका थिए। सम्भवत त्यही नै गोल कुनै नेपालीले विश्वकप छनोट चरणमा गरेको पहिलो गोल थियो। उनी ओलम्पिक छनोट चरणमा गोल गर्ने पनि पहिलो नेपाली फुटबलर हुन्। 

    अधिकांश नेपाली झैं उनले पनि सन् १९८६ पछि नै विश्वकपलाई नजिकबाट नियाल्न थाले। उनको मनमा म्याराडोना र अर्जेन्टिनाले राज गर्‍यो। अहिले पनि उनको मनबाट अर्जेन्टिना हराएको छैन। कुनैबेला उनी इटालीका पनि समर्थक थिए। रोबर्टो बाजियोका कारण। नेपाली फुटबलका ‘ह्यान्डसम’ खेलाडीलाई बाजियोले छाडेपछि इटाली पनि मनपर्न छाड्यो।

    खेलाडी हुँदा लामो कपालका सौखिन अमात्यको त्यो ‘लुक्स’ मा धेरै नै प्रभावित भए होलान्। तर आपूmले सधैँ सरल जीवन बाँचेको उनी मान्छन््। अरू खेलाडीले पनि लामो कपाल पाल्छन्, एरिङ लगाउँछन्। ‘अहिले त म त्यस्तो छैन नि’, उनी भन्न छुटाउँदैनन्। तर खेलाडी हुँदा उनीमा पनि कता कता बाजियोको छाप देखिन्थ्यो। शायद उनको खेल्न शैलीसमेत बाजियोसँग प्रभावित थियो।

    सन् १९९० देखि १९९८ सम्म तीनपटक विश्वकपमा सहभागिता जनाएका बाजियो आफ्नो समयमा सर्वाधिक सफल स्ट्राइकर थिए। इटालीमा जन्मिएका इतिहासका महान खेलाडीमा उनको पनि नाम लिने गरिन्छ। उनको नामसँगै उनको ‘हेयर स्टाइल’ आँखामा नाच्न थालिहाल्छ, जसले उनको खेल हेरेका छन्। फिफाले २०औँ शताब्दिका महान फुटबलर छनोटका लागि गरेको मतदानमा उनी चौथो भएका थिए। तर उनको मन सधैं एउटै कारणले दुख्छ, उनले खेलाडीका रूपमा कहिल्यै फिफा विश्वकप ट्रफी चुम्न पाएनन्।

    दीपक अमात्य अहिले पनि विश्वकपका खेलहरू नटुटाइ हेर्छन्। उनको मनमा अहिले इटाली छैन। उनले टेलिभिजन सेटमा पहिलो पटक विजेताका रूपमा हेरेका त्यही अर्जेन्टिना त छ तर, म्याराडोनाको स्थान मेसीले लिएका छन्। ‘त्यसबेला (सन् ८६) मा टोलमा हाम्रो घरमा मात्र टेलिभिजन सेट थियो। साथीभाई र परिवारको बाक्लो उपस्थितिमा खेल हेरिन्थ्यो। ती दिन सम्झँदासमेत आनन्द आउँछ’, हाल अमेरिकाको न्यु ह्याम्पसायरमा बसोबास गर्ने अमात्यले ती दिन सम्झिए। 
    अनि उनी पनि ट्रफी विजेता जित्ने अर्जेन्टिना र कप्तानका रूपमा त्यसलाई चुम्ने म्याराडोनाको ‘फ्यान’ बने। अर्जेन्टिनाले विश्व कप जितेको तीन वर्षपछि नै उनले नेपाली युवा टोली अनि राष्ट्रिय टोलीमा स्थान बनाए।

    सन् १९९५ मा दोस्रो साफ च्याम्पियनसिप नेपालमा नै आयोजना हुँदा राष्ट्रिय टोलीको कप्तान बनेका अमात्य भन्छन्, ‘युवा खेलाडीले टोलीमा उपस्थिति जनाउँदा खुशी लाग्छ। यसका लागि बाटो त पुरानाले नै बनाइदिनु पर्छ नि।’ सन् २००२ मा खेलाडी जीवनबाट सन्यास लिएपछि मुलुकमै बसेर केही गर्ने प्रयास पनि गरे, उनले। पेट न हो, भोकको आगोले सल्काउँछ नै, अठ्याउँछ नै, उनले मुलुकमै केही गरौं भन्ने नसोचेका पनि होइनन्। तर, विकल्प भेटेनन्।  भेटे त केवल अमेरिका भासिने। उनलाई अमेरिका गएकोमा पछुतो छैन। भन्छन्, ‘जीवनलाई अगाडि बढाउने विकल्पका रूपमा मात्र यता आएको हुँ। उनकी एक मात्र सन्तान छिन्। ६ वर्षकी भइन्, छोरी। जब छोरीको भविष्यको चिन्ताले सताउन छाड्छ, तब नेपाल फर्कने योजना बुनेका छन्।’

    हुन पनि, आफूलाई ‘डिप्रेसन’ को रोगी नबनाउने उपायको विकल्पमा अमेरिका गए, उनी। के नै थियो र, त्यस समयमा खेलाडी जीवनपछि बाँच्ने आधार। उनको तर्कसँग असहमत हुनुपर्ने अनि भोको पेटका अगाडि राष्ट्रवादीताको अहम पाल्नुपर्ने। 

    नत्र उनको जीवन पनि आफ्ना प्यारा खेलाडी स्व. मणि शाहको जस्तै हुन्थ्यो कि? चिन्ता स्वभाविकै हो। जसले सारा जीवन मुलुककै चिन्तामा बिताए। जीवनको उर्जाशील समय फुटबललाई दिएका मणिले आवश्यकतामा राष्ट्र भेटेनन्। भेटे त केवल माया गर्ने केही समर्थक मात्र। जसले उनको अल्पायुको मृत्युलाई रोक्न सकेनन्। 

    अमात्यलाई नेपालका मणि मात्र होइन, उमेस प्रधान र राजुकाजी शाक्यको खेलले पनि निकै प्रभावित पार्‍यो। उनी मणि शाहलाई म्याराडोनासँग तुलना गर्न त चाहँदैनन् तर पनि, शाह जस्तो खेलाडी राष्ट्रले इतिहासमा एकाध पटक मात्र पाउने स्पष्ट धारणा राख्छन्।

चेतन पाण्डे

पाण्डे साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। [email protected]

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]